२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कुन बेला खानु ठिक?

यस्ताे पनि!

अचेल पोषणविद्हरू सुत्नु ठीक दुई घण्टाअघि खाना खाइसक्नुपर्ने सुझाव दिन्छन् तर हजुरबुवाहरूको पालामा (अमेरिकामा) सुत्नुभन्दा ठीक चार घण्टाअगाडि खाना खाइसक्ने चलन थियो।

हाम्रै नेपालमा पनि झमक्क साँझ नपर्दै खाना खाइसक्ने चलन थियो।

अमेरिकाको साल्क इन्स्टिच्युटका जीवविज्ञानका प्राध्यापक सच्चिदानन्द पाण्ड्या झुपुक्क निद्रा लाग्ने समयसँग खान्कीको तालमेल मिलाउनुपर्ने बताउँछन्। उनको भनाइमा निद्रा लगाउने मेलाटोनिन हर्मोन शुरु भएको तीन घण्टामा सुत्ने गर्नुपर्छ। उनको भनाइमा मेलाटोनिन सुत्नु तीन घण्टाअघि सक्रिय हुन्छ।

यो सक्रिय भएपछि यसले प्यांक्रियाज (अग्न्याशय)लाई सन्देश पठाउँछ र अग्न्याशयले इन्सुलिनको उत्पादन कम गर्न थाल्छ। तर मेलाटोनिनले सन्देश पठाइसकेपछि पनि हामीले खाना खायौं भने शरीरमा ब्लड सुगर नियमन गर्न गाह्रो हुन्छ।

यही कारणले पाचनक्रिया गडबडाउँछ र हामीलाई चिनी रोग लाग्ने सम्भावना हुन्छ। यही कारणले सुत्नु तीन या चार घण्टा पहिले नै खाना खाइसक्नु पर्ने तर्क पाण्ड्याको छ।

यसका बाबजुद राति अबेर खाजा खाने क्रम पछिल्लो समय बढ्दो छ। अमेरिका र जापानमा गरिएका विभिन्न अध्ययनहरूमा आठ बजेपछि खाना खानेहरूमा कमजोर ब्लडसुगर नियन्त्रण कमजोर पाइएको थियो। यस्तै साह्रै ढिला सुत्नुले पनि निद्राको गुणस्तरमा कुप्रभाव पार्छ। यसले हर्मोनको गडबडी हुने, त्यसले वजन बढाउने मात्रै नभएर टन्न खाएर सुत्न जाँदा अम्लीय प्रवाह बढाउने पनि देखिएको छ।

बेलुकी चाँडै खानुको अर्को फाइदा चाहिँ सन्तानहरूसँग अन्तरक्रिया गर्ने समय बच्नु पनि हो। परिवारमा हुने अन्तरक्रियाले मनोविकार कम गर्ने पनि चिकित्सकहरूको राय छ। तर चाँडै खाइने खान्की सधैँ एकै समय हुनु राम्रो रहेको विज्ञहरूको धारणा छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १ माघ २०८० ००:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App