१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुनसरीमा जलन अस्पताल बन्ने

कोशी प्रदेश सरकारले सुनसरीको पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता गरेको छ। आगलागीमा परी घाइते भएका विरामीहरूको उपचारका लागि एक सय शैड्ढयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो।

बुधबार प्रदेश स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा रहेको २ विघा १० कठ्ठा जग्गामा ५० शैड्ढया जलन र ५० शैड्ढया सामान्य गरी १ सय शैड्ढयाको जलन अस्पताल निर्माण गर्न लागेको हो।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन मिहनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिने सम्झौतासमेत गरेको छ।

४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन्। अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन्।  

प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ।

उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा भनिएको हो। ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिम लगायतको सेवा प्रवाह गर्दै आएको छ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताए।

‘उर्लाबारीमा दिपावली मनाउने क्रममा भएको आगलागीका २५ जना घाइते र वीराटनगरमा भएको आगलागीका ५ जना घाइतेको समयमा उपचार गर्न सकेको भए मानवीय क्षति कम हुन् थियो,’ उनले भने, ‘समयमा आगलागीमा घाइते भएकाको उपचार नहुँदा उर्लाबारी ८ र विराटनगरका ३ जना गुमाउन बाध्य भएकोले कोशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरू गरेका हौं।’

मुख्यमन्त्री कार्कीले जलन अस्पताल निर्माण कुनै कारणले नरोकिने र बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले नाफा रहित जन स्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको बताए।

प्रकाशित: २५ पुस २०८० १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App