१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

टिचिङको ‘मेडिकल रेकर्ड’ अब विद्युतीय प्रणालीबाटै

तपाइँ कुनै पनि अस्पताल जानु भयो भने आफ्नो रिपोर्ट कि इमेलमा आउँछ कि त इमेल  नहुनेहरूको लागि लाइनमा बसेर लिनु पर्छ।उपचार गरेको कागजात बहिरङ्ग विभागको कागजमा  या भर्ना भएको हकमा अस्पतालको फाइलमा हुन्छ।

टिचिङ अस्पतालले यी सबै परम्परागत पद्धतिलाई छोडेर सबै खालको मेडिकल रेकर्ड विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ।  

अस्पतालका निर्देशक डा दिनेश काफ्लेका अनुसार बिरामीको परीक्षण रिपोर्ट, उपचार रिपोर्ट सबै विद्युतीय प्रणालीमा राख्ने गरी सफ्टवेयर निर्माण गर्ने तयारी गरेको छ। छ महिनादेखि सफ्टवेयर निर्माण कार्य सुरु भएकोमा अबको ५ महिनाभित्र यो काम पुरा हुने अस्पतालले जनाएको छ। ‘ निर्माण कम्पनीले पाँच/छ महिनाभित्र सकेर बुझाउँछौ भनेका छन्’ अस्पतालका निर्देशक काफ्लेले भने।  

यो प्रणालीबाट बिरामीले कुनै पनि परीक्षण गरेको रिपोर्ट फाइल बोकेर हिँड्नु पर्नेछैन। बिरामीको दर्ता नम्बरको आधारमा चिकित्सकले हरेक विभागमा आफै हेर्न सक्नेछन्।एमआरआई,एक्स-रे र सिटिसक्यान जस्ता रिपोर्टको रिल दिने चलन पनि विद्युतीय प्रणालीसँगै बन्द हुने निर्देशक काफ्लेले जानकारी दिए।

‘रिल बोकेर हिंडदा रिल बिग्रिने, दाग बस्ने जस्ता समस्या हुन्छ, अब रिलको फोटो हरेक विभागमा विद्युतीय प्रणालीबाटै पुग्छ’ उनले भने।यस्तो प्रणालीले बिरामीले धेरै रिपोर्टको फाइल बोकेर हिँड्नु पर्ने झन्झटबाट पनि मुक्त हुने उनको भनाइ छ।  

यो प्रणाली लागु गर्नको लागि अस्पतालले छुट्टै सफ्टवेयर निर्माण गर्न लागेको उनले बताए। ‘यो अस्पतालको लागि राष्ट्रिय परिचयपत्र जस्तै हो, खोलेपछि पुरै रेकर्ड भेटिन्छ’ उनले भने।धेरै संख्यामा दैनिक निकालिने एक्स-रे,एमआरआई र सिटिसक्यानको रिपोर्टले वातावरणमा समेत असर गर्ने भएकोले पनि डिजिटल मेडिकल रेकर्ड  राख्न अस्पतालले तयारी गरेको निर्देशक काफ्लेको भनाइ छ। नेपालमा मेडिकल रेकर्ड प्रणाली सरकारी अस्पतालमा पहिलो पटक हुन लागेको हो। यस अघि निजी दुई वटा अस्पतालमा भने सुरु भइसकेका छन्।

प्रकाशित: २४ पुस २०८० १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App