१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा निःशुल्क आँखा शिविर, ५९० जना लाभान्वित

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित आँखा शिविरमा झण्डै ६ सय जना लाभान्वित भएका छन्। 

स्थानीय आँखा तथा कान उपचार केन्द्र हलेसी, नेपाल नेत्र ज्योति संघ खोटाङ र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त पहलमा आयोजित ‘निःशुल्क शल्यक्रिया आँखा शिविर’ मा ५ सय ९० जना आँखा रोगी लाभान्वित भएका हुन्।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको शिविरमा प्राविधिक सहयोगमा बिहीबारदेखि शनिबारसम्म सञ्चालित ३ दिने शिविरमा ९१ जनाको आँखा शल्यक्रिया (अप्रेसन) मार्फत उपचार गरिएको छ भने बाँकीले आँखा परीक्षण गरी औषधि उपचार र चस्मा वितरण गर्ने अवसर पाएका छन्।

किरात, हिन्दु र बौद्ध त्रि–धार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्र परिसरमा सञ्चालित शिविरले स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता र बालबालिका तथा वयस्क सबै उमेर समूहले आँखा उपचारको अवसर पाएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार अप्रेसन गर्ने ९१ मध्ये ६४ जना मोतीयाविन्दुका बिरामी हुन् भने बाँकी अन्य विभिन्न प्रकारका आँखा रोगी हुन्। आँखामा मासु पलाएको तथा मासुको डल्लो देखिएका अन्य २७ जनाको पनि अप्रेसन गरी उपचार गरिएको श्रेष्ठले बताए।

शिविरमा ४ सय बढीलाई आँखा परीक्षणपछि निःशुल्क औषधि वितरण गरिएको तथा १ सय ५० लाई निःशुल्क चस्मा वितरण गरिएको छ।

नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजूका अनुसार अप्रेसन गरिएका ९१ जना सबैलाई निःशुल्क कालो चस्मा दिइएको छ। शिविरले हलेसी तुवाचुङ मात्र नभएर छिमेकी स्थानीयतहहरु रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुृङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिकासँगै ओखलढुङ्गा र उदयपुर जिल्लावासीलाई पनि आँखा उपचारको अवसर दिएको कसजुले बताए।

शिविरले आँखाको समस्या भएका बालबालिकादेखि वृद्ध वृद्धासम्म लाभान्वित भएको पनि अध्यक्ष कसजुले बताए। गत वर्ष पनि यसरी नै शिविर सञ्चालन गरेको आयोजकले हलेसीमा यो दोस्रो वर्षको शिविर हो। गत वर्ष ७ सय ६५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए भने ७६ जनाको अप्रेसनमार्फत उपचार गरिएको थियो।

हलेसी तुवाचुङ नगरप्रमुख विमला राईले नगरवासी नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै अन्य विभिन्न कार्यक्रम गरिरहेको बताइन्। उनले महिलाहरुको बच्चादानी (पाठेघर) उपचारका लागि पनि निःशुल्क अप्रेसनसम्ममको सुविधा दिँदै आएको सुनाइन।

बच्चादानी अप्रेसनको सुविधा महिलाहरुलाई नगर अस्पतालबाटै उपलब्ध गराउने गरी बिमा गरेर सहज सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको मेयर राईले बत्ताइन्। अत्यन्त संवेदनशील मानिएको मानव स्वास्थ्य क्षेत्रमा हलेसी तुवाचुङ नगरले सहज र सुलभ तरिकाले काम गरिरहेको बताउँदै मेयर राईले यस्तो सेवा आफूले निरन्तर दिँदै जाने प्रतिबद्धता जनाइन्।

उनले कोही नगरवासीलाई भोको र कसैलाई रोगीको रुपमा रहन नदिने प्रतिबद्धता समेत जनाइन्। 

प्रकाशित: ९ पुस २०८० १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App