२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ  फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार महानगरपालिका भित्रका वीर अस्पताल नजिक, बालाजु तथा क्षेत्र पाटी नजिक, चाहविल – महाराजगन्ज, बबरमहल–बानेश्वर र कलंकी क्षेत्रमा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको छ । ‘ बबरमहल क्षेत्रमा भाडाको घर पाइसकेका छैनौं, बाँकी ठाउँमा खोज्ने क्रम जारी छ’ उनले भने।

बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधी किन्नु पर्ने बाध्यता हटाउन, क्यान्सर तथा मिर्गौलाका औषधीमा हुने कालोबजारी अन्त्य गर्न र जेनेरिक नाममा औषधी सिफारिस गर्ने पद्धतिको विकास गर्न महानगरपालिकाले सुलभ  फार्मेसी सञ्चालन गर्न लागेको प्रमुख पौडेलले बताए। ‘कम्पनीको नाममा औषधी सिफारिस गर्ने चलनले पनि बिरामी ठगिएकोले जेनेरिक नामकै औषधी विक्री गर्नेछौं’उनले भने।

हालका फार्मेसीहरूले लागत मूल्य भन्दा ३० देखि ४० प्रतिशत महँगोमा औषधी बिक्री गरिरहेकोले सर्वसाधारण नागरिक औषधीबाट ठगिएको पौडेलले बताए।हाल बजारमा क्यान्सरकोे पन्ध्रदेखि बिस हजार पर्ने औषधी लुकाएर कालोबजारीमा लाखौँ मूल्यमा विक्री भइरहेको पाइएकोले यो विकृतिको अन्त्य गर्नु पनि फार्मेसीको उद्देश्य रहेको उनले बताए। ‘ अव नागरिकहरू औषधीबाट ठगिनु पर्ने छैन, सबै क्षेत्रलाई लक्षित गरी फार्मेसी खोल्दैछौ’ उनले भने।

सुलभ फार्मेसीमा क्यान्सर, मिर्गौला, अपरेशनमा आवश्यक औषधी र आकस्मिक कक्षमा चाहिने आौषधीहरु सुलभ मूल्यमा पाइने पौडेलले जानकारी दिए।यसको साथै हाल चिकित्सकहरूले ब्रान्ड नाममा सिफारिस गरेका औषधीको सट्टा  जेनेरिक नाममा, औषधीको नाममा नेपाली भाषामा लेख्नु पर्ने प्रक्रिया समेत अघि बढाइने पौडेलले बताए।

प्रकाशित: ७ मंसिर २०८० ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App