४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अनुमति नलिई सञ्चालन गरिएको बिग अस्पतालमा शिलबन्दी

विराटनगर स्थित हस्पिटल चोकमा सञ्चालित बिग अस्पताललाई शिलबन्दी गरिएको छ।विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले आज बिहीबार अस्पतालमा शिलबन्दी गरेको हो।

विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५ शय्याको बिग हस्पिटल बिना दर्ता सञ्चालनमा रहेको थियो । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले संयुक्त रूपमा अनुगमन गरी दर्ता नगरी लामो समयदेखि सञ्चालनमा रहेको पाइएपछि हस्पिटलको काउन्टर, ल्याब, आकस्मिक कक्ष, ओपिडी र प्रशासन शाखामा सिलबन्दी गरिएको छ।

१५ शैया सम्मका अस्पताल सञ्चालनको अनुमति स्थानीय तहबाट लिनुपर्ने कानुनी व्यवस्था  छ । स्थानीयतह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शैयासम्म स्थानीय सरकारले अनुमति दिने गरेको छ। तर, बिग हस्पिटलका सञ्चालकहरूले अटेर गरी लामो समयदेखि दर्ता नगरी सञ्चालन गरिरहेको पाएपछि अस्पतालमा  शिल गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न पाइने उनले बताए। 

अस्पतालमा भर्ना भएका १७जना बिरामीलाई दर्ता प्रक्रियामा रहेको अस्पतालमा २४ घण्टा भित्र रेफर गर्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ । नयाँ आएका बिरामी भर्ना नलिन र दर्ता प्रक्रिया पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न निर्देशन दिएको उनले बताए। 

यसअघि हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो । निवेदन दिएपछि महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा भएको थिएन ।त्यसपछि महानगरपालिकाले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको थियो । तर, अझै सम्म महानगरले दिएको निर्देशन अनुसार अस्पतालले मापदण्ड पुरा नगरेको अलिले बताए ।

अस्पतालका  कर्मचारी पक्राउ

अनुमति बेगार सञ्चालन गरेको हस्पिटल शिलबन्दी गरेको समाचार सङ्कलन गर्न गएका सञ्चार कर्मीमाथि दुर्व्यवहार गर्ने बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ का ३३ वर्षीय रोशन यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादवले सञ्चारकर्मीहरू हुसेन शेख, वीरेन्द्र कुमार साह, नवीन कर्ण, सोनु कुमार दास र जितेन्द्र कुमार ठाकुरलाई दुर्व्यवहार गरेका थिए । उनीहरूको सञ्चार उपकरण खोसेर धाक धम्की पनि दिएको पीडित सञ्चारकर्मीहरूले बताएका छन्। पक्राउ परेका यादव विरुद्ध पीडित पत्रकारहरूले मोरङ प्रहरीमा पनि उजुरी दर्ता गराएका छन् । हस्पिटलका कर्मचारी यादवलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

प्रकाशित: २३ कार्तिक २०८० १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App