१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जुम्लाको हिमामा ‘मुटु बचाउ अभियान’

जुम्लाको हिमा गाउँपालिकाले सर्वसाधारण नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै ‘मुटु बचाउ अभियान’ सुरु गरेको छ।

पछिल्लो समयमा मुटुको रोगका कारण अल्पायुमै ज्यान गुमाउनुपर्ने जोखिम बढेपछि पालिकाले मुटु बचाउ ‘सेभ द हर्ट’ अभियान सुरु गरेको हो।

पहिलो चरणमा मुटु जोगाउ काठमाडौंको सहयोगमा पालिका भित्रका मुटुरोगीहरुको स्वास्थ्य परीक्षण सकिएको छ। कुल २ हजार ३ सय ७३ जना मुटुरोगीहरुको मुटुको परीक्षण गरिएको थियो। जसमा १३ जनाको मुटुको अप्रेसन गर्नुपर्ने देखिएको हो।

उनीहरुलाई मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा लैजाने तयारी भइरहेको पालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

उनीहरुको त्यहाँ निःशुल्क अप्रेसन हुने उनको भनाइ छ। तीन दिनसम्म हिमामा रहेका मुटुरोगीहरुको मुटु परीक्षण गरिएको हो।

‘विकाससँगै बढ्दो विलासी जीवनले गाउँदेखि सहर सम्मका नागरिकमा मुटु रोग बढ्दो छ।’ अध्यक्ष शाहीले भने ‘बच्चादेखि वृद्धासम्म मुटुका रोगी छन्। मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरण समेत गरेका धेरै घटना देखिरहेका छौं। अब हामी चाहन्छौँ मुटुको रोगका कारण कोही पनि मर्न नपरोस्।’

हिमाले अहिले सम्म विभिन्न रोगका ७ वटा शिविर चलाइसकेको छ। पालिकाभरका सबै नागरिकको निःशुल्क बिमा गर्ने पनि नीति लिएको छ।

गाउँमै निःशुल्क मुटुरोको उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन्। महँगो खर्च गरेर उपचार गराउन जाने स्थिति नरहेका स्थानीय बालबालिका देखि वृद्धाले गाउँमै उपचार पाउँदा मक्ख छन्।

प्रकाशित: २७ आश्विन २०८० १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App