१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पत्रु खान्कीको कुलत

यस्तो पनि!

चाउचाउ, पिज्जा, फ्रेन्चफ्राइज, चिप्स लगायतका तयारी खानेकुरालाई अंग्रेजीमा अल्ट्रा-प्रोसेस्ड फुड भन्छन्। नेपालीमा यस्ता खान्कीलाई पत्रु खान्की भन्न थालिएको निकै भयो। पत्रु खान्कीमा पछिल्लो समय स्निकर्स, क्याडबरी डेरी मिल्क जस्ता चकलेट बारहरू पनि पर्न थालेका छन्।

ब्रिटिस मेडिकल जर्नलमा हालै छापिएको आलेखअनुसार, यस्ता पत्रु खान्की रक्सी, तमाखु अथवा जुवाजत्तिकै कुलत लगाउने किसिमको हुने हुनाले तिनलाई कुलतको श्रेणीमा राखिनु पर्ने माग गरिएको छ। जसरी रक्सी र चुरोटको विज्ञापनमा यसले कुलत बढाउँछ वा यसले स्वास्थ्यलाई हानि गर्छ भनी लेखिएको हुन्छ, त्यसैगरी सर्वसाधारणमा सचेतना बढाउन चकलेट बारहरूमा पनि यसले कुलत बढाउँछ भनी लेखिनुपर्ने माग गरिएको हो।

हालै गरिएको एक शोधमा यस्ता चकलेट वा पत्रु खान्की खाने वयस्कहरूमध्ये १४ प्रतिशत र बालबालिकाहरूमध्ये १२ प्रतिशतमा यी खाना देख्नेबित्तिकै आफूलाई नियन्त्रण गर्न नसक्ने तथ्य फेला पारिएको हो। सबै खानामा त्यस किसिमको कुलतमा लैजाने हुँदैनन् तर जुन खान्की ‘अल्ट्रा प्रोसेस्ड’( युपिएफ) हुन्छन्, तिनमा कुलतमा तान्ने शक्ति हुन्छ।

बजारमा पाइने तयारी मालहरूमध्ये आधा खान्की युपिएफ हुन्छन्। तयारी खाना, मिठाई, तयारी मासु, चकलेट बारहरूमा यस किसिमको कुलतमा तान्ने सम्भावना बढी रहेको अध्येताहरूको निष्कर्ष छ। यी खान्कीले कुलतमा फँसेकाहरूले कुनै सामान देख्नेबित्तिकै जसरी दिमागमा डोपामाइन सिर्जना हुन्छ, त्यसैगरी यी युपिएफ देख्दा केही युवा तथा बालबालिकामा डोपामाइन सिर्जना हुने गरेको पाइएको हो।

अध्येताहरूले तीन वटा वस्तुहरू राखे, स्याउ, सालमन र चकलेटबार। स्याउ र सालमन प्राकृतिक हुन् भने चकलेटबार कारखानामा बनाइन्छ। चकलेटमा कार्बोहाइड्रेट र फ्याटको रेसियो १ः१ को हुन्छ भने स्याउ र सालमनमा १ः०। कारखानामा चकलेट बनाउने क्रममा यसका प्राकृतिक गुणहरू नष्ट हुन जान्छ भने चिनी र बोसोको मात्रा थपिन्छ। थपिएका यी चिजले हाम्रो मस्तिष्कमा फरक प्रभाव जन्माउने काम गर्छ।

उदाहरणका लागि हामीले बदाम टोक्छौँ र चपाउँछौँ। साना टुक्रा बनाएर हामी निल्छौँ। यस प्रक्रियाका लागि लामो समय लाग्छ। तर जब हामी स्निकरजस्ता चकलेट खान्छौँ, तिनले सिधै मस्तिष्कमा प्रभाव पार्छन्। र, यो प्रक्रिया तुरून्तै प्रतिक्रिया जनाउने किसिमको हुन्छ।

यस्ता युपिएफहरूमा चुरोट खैनीहरूमा लेखिएजस्तै लेखिनुपर्ने नत्र यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने शोधकर्ताहरूको धारणा छ। यस्ता खान्कीले मुटुको रोग, उच्च रक्तचाप, क्यान्सर, अवसाद, चिनीरोगजस्ता समस्याहरू उमेर नपुगी निम्त्याउने अध्ययनको निष्कर्ष छ। त्यसैले यसका लागि नयाँ गाइडलाइन सरकारहरूले बनाउन जरूरी रहेको उनीहरूको भनाइ छ। बेलायतमा तीन जनामध्ये दुई जना मोटोपनको समस्यासँग जुझिरहेका छन् र तिनमा यस्ता युपिएफ खान्कीको भूमिका निकै ठूलो रहेको वैज्ञानिकहरूको ठहर छ।

प्रकाशित: २४ आश्विन २०८० २३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App