७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाठेघर जचाउन पनि शिविरको भर

कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्। रोल्पा/रुकुम भन्ने वित्तिकै आम मानसपटलमा माओवादी सशस्त्र द्वन्द्वको याद आउँछ। विगतको १० वर्षे युद्ध, अनि त्यसपछिको परिवर्तनसँगै धेरैले रोल्पा/रुकुमलाई सम्झना गर्छन्। हुन पनि हो, उक्त द्वन्द्वमा रोल्पाका ९ सय ६९ जनाले ज्यान गुमाए भने ३३ जना बेपत्ताको सूचीमा छन्। त्यसो त रुकुममा पनि हजार बढिले ज्यान गुमाए भने करिब दर्जनौं बेपत्ताको सूचीमा छन्। तर करिब एक दशकको द्वन्द्व सकेर जनताकै हातबाट लेखिएको भनिएको संविधानमा उल्लेख गरिएको मौलिक हकबाट भने यहाँका जनता बन्चित छन्।  

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाकी ३८ वर्षिया एक महिला लामो समयदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित थिईन्। आठ महिना अघि गाउँपालिकाले एक गैर सरकारी सस्थाको सहयोगमा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाहिर झुण्डिएको पाठेघर अड्याउन राखिएको रिङ खसेपछि त्यसलाई फेरि राख्न र स्वास्थ्य जाच गर्न महिनौ सम्म अर्को शिविर कुरेर बसिन्। असजिलो हुँदाहुँदै पनि नियमित दैनिकी कामकारबाही गर्न बाध्य भईन्। उपचारका लागि जिल्ला अस्पताल सम्म पुग्न पनि कठिन छ। १४ वर्षको उमेरमा बिहे गरेकी उनले ६ वर्षमा लगातार ४ छोरी जन्माइन्। छोरी मात्र जन्मे पछि उनी परिवारको तिरस्कारमा पनि परिन्। सानो उमेरमा बच्चा जन्माए पछि परिवारको अवहेलनासँगै शारीरिक र मानसिक रुपमा पनि अस्वस्थ बन्न थालिन्।

‘पाठेघर झर्न थालेको मस्तै बर्ष भयो। औषधि गर्न जानलाई पैसो हुँदैन।’ उनले भनिन्, ‘छोरी मात्र जन्मेपछि परिवारले पनि हेला गर्न थाले। पोहर डाक्टरले पाठेघर अड्याउन चुरी जस्तो रबर राखिदिनु भएको थियो। सजिलो भयो। यसपालि जचाए अनि त्यो चुरी पनि फेरेको छु।’ सोही ठाउँकी अर्की महिलाले पाठेघर झरेर सताउन थालेको धेरै वर्ष भएको थियो्। आर्थिक समस्याका कारण अलि परको जिल्ला अस्पताल सम्म पनि उनी पुग्न सकिनन्। बाहिर पाठेघर निस्कन थाले पछि उनको लागि दैनिकी नारकिय बन्न थाल्यो। पाठेघर खसेको समस्या श्रीमानलाई समेत सुनाउन लाज मानेका कारण लामो समय सम्म उनी पीडा दबाउन बाध्य भइन्। झरेको पाठघरमा घाउ समेत देखिन थाले पछि बाँच्न भन्दा मर्न मन लागेको थियो। ‘दोस्रो बच्चा जन्मे देखि पाठेघर झर्न थालेको हो। त्यही पनि श्रीमानले अरु तीन बच्चा जन्माउन बाध्य बनाए।’ उनले भनिन्, ‘दुखै पाएर जीवन सकिने भो। मर्ने बेलामा पोहर शिविरमा आएका नर्सले रबरको चुरी राखिदिए पछि अब सजिलो सुरु भएको हो। यो पालि त्यो रबरको चुरी फालेर अर्को हालेको छु।’

गतिलो उपचारको अभावमा लामो समयदेखि पाठेघरको समस्या बोकेर गुजारा चलाइरहेका उनीहरूलाई पोहोर गाउँमा भएको महिला शिविरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ्ग राखिदिए पछि धेरै सजिलो भएको थियो। नजिकमा डाक्टर र तालिम प्राप्त नर्स नहुदा उनिहरूले रिङ फेर्न एक वर्ष कुर्नु परेको हो। अबफेरि रिङ्ग  खस्यो वा कुनै कारण फेर्नु पर्ने भयो भने अर्को शिविर कुर्न नपरोस भन्ने उनीहरुको चाहाना छ। महिलाहरूमा स्वास्थ समस्या धेरै रहेको पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा १ दिने निःशुल्क महिला स्वास्थ शिविर सम्पन्न भएको हो। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको र पुथाउत्तरगंगा गाउँपालिकाको सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आशिका महासेठको टोलीले १ दिनमा एकसय बढि बिरामीको स्वास्थ्य जाँच–उपचार गर्नुका साथै दर्जन बढि महिलाको पाठेघर अड्याउन रिङ राखिदिएका छन्।  

डा. आशिका महासेठ यहाँका महिलाहरूमा सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या अत्याधिक रहेको बताउँछिन्। ‘सानो उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउने र सुत्केरीका समयमा गरुङ्गो भारी बोक्ने गरेका कारण यो समस्या धेरै आएको हो। पाठेघर खस्ने र सेतोपानी बग्ने समस्या बढि छ। यसो हुनुमा सरसफाईको कमिको कारण पनि हुन्छ। समयमा उपचार नहुनु अर्को समस्या हो’, डा. महासेठ थप्छिन्, ‘धेरैमा पहिलो चरणको पाठेघर खस्न सुरु भएको देखियो। अहिलेलाई रिङ राखिएको छ। तीन महिनामा रबरको रिङ फेर्नु पर्छ। तालिम दियो भने हेल्थपोष्टका कर्मचारीले पनि फेर्न सक्छन्।’ उनि पुथाका महिलाहरूमा पाठेघर समस्या धेरै रहेको बताउछिन्।

आफ्नो पालिकामा यति धेरै समस्या देखेपछि गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा भन्छिन, ‘महिलाको समस्या देख्दा असाध्यै पिर लाग्छ। उपाध्यक्षसँग गर्भवती महिला कार्यक्रम अन्तर्गत गाउँमा पाठेघरको समस्या धेरै रहेको तथ्याङ्क देखिएपछि गत साल पनि ओरेकसँगको सहकार्यमा शिविर राखेका हौ।’ उनी भन्छिन्, ‘मेरो पालिकामा मात्र नभएर अन्त पनि यस्तो समस्या छ। यहाँका धेरै ठाउँमा शिविर सञ्चालन गर्नुपर्छ। राज्यका तर्फबाट ध्यान दिईनुपर्छ। भौतिक विकासलाई मात्र विकास देख्ने आँखाका कारण स्वास्थ्य समस्या समाधानमा गाह्रो भएको हो। दुर्गमका जनता सधै शिविरको भर पर्न बाध्य पारिनु दुखद हो।’ उनले महिलाको स्वास्थ्य समस्याका सवालमा सधैँ गम्भिर रहने बताइन्। एक दिन चलेको उक्त शिविरमा महिलाहरूको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगायतको परीक्षण तथा उपचार गरिएको थियो।  

पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरूलाई सरकारी निकायसँगको सहकार्यमा सुविधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। उनका अनुसार १ सयभन्दा बढि महिलाहरूको जाँच गर्दा ५० प्रतिशत महिलामा कुनै नकुनै प्रकारको समस्या पाठेघरमा रहेको देखिएको छ। धितालका अनुसार शिविरमा आएका महिला र अन्य स्थानियलाई स्वहेरचाह, मनोसामाजिक समस्याका बारेमा र योगा संचालन गरिएको थियो। स्वहेरचाह र मनोपरामर्शको सहजिकरण ओरकका मनोविद कञ्चन राउतले गरेकी थिईन्।  

प्रकाशित: २१ आश्विन २०८० ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App