१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालको मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय पुरस्कार

मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल 'फ्युचर पोलिसी अवार्ड २०२३' बाट सम्मानित भएको छ। नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुस्कार प्रदान गरिएको हो।  

यस पुरस्कारलाई उत्कृष्ट नीतिहरूलाई दिइने पुरस्कारहरूको ‘ओस्कर पुरस्कार’ पनि भनिन्छ। विश्वलाई प्रदूषणमुक्त बनाउनका लागि बनाइने नीतिहरूलाई नजिकबाट हेरी उत्पादन र अभ्यासहरूमा खतरनाक रसायनहरूको प्रयोगलाई नियमन गर्ने, बालबालिका र उनीहरूको वातावरणमा केन्द्रित रहेर सरकारले यो नीति कार्यान्वयनमा ल्याएको छ।  

पन्ध्र वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र अन्य सबैमा जतिसक्दो चाँडो पूर्णतया उन्मूलन गर्ने लक्ष्य राखेको यो एसियाकै पहिलो नीति हो। यस वर्ष खेलौनासम्बन्धी कानुनमा भियतनाम, कस्मेटिकसम्बन्धी कानुनमा रुवान्डा र प्याकेजिङ वस्तुसम्बन्धी कानुनका लागि डेनमार्कलाई पुरस्कृत गरिएको छ।

नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति, नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१९ अगस्त २१ को मन्त्रिस्तरीय निर्णयले पारित गरेको थियो। यस नीतिले १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराइरहेका महिलामा मर्करीको सम्पर्कबाट जोगाउनका लागि सबै मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गम प्रयोगमा तुरुन्त प्रतिबन्ध लगाएको थियो भने पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतयाः प्रतिबन्ध लगाइएको छ।  

जर्मनीको बोन सहरमा हालै सम्पन्न केमिकल व्यवस्थापनसम्बन्धी पाँचौँ अन्तरराष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गर्नुभएको थियो। सो अवसरमा उहाँले यस पुरस्कारले मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा नीतिको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो।  

सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करी मुक्त दन्त  फिलिङ्हरू जस्तैः जिआइसी, कम्पोमर र कम्पोजिट फिलिङ्जस्ता सुरक्षित मर्करी मुक्त विकल्पहरू सफलतापूर्वक प्रयोग भइरहेको यस क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक रामचरित्र साहले बताए।  

मर्करी विषाक्त भारी धातु हो। यसले विशेषगरी बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाहरूमा धेरै नकारात्मक प्रभाव पार्दछ। डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ। वातावरण मन्त्रालयले मिनामाता मर्करी महासन्धिको तत्काल अनुमोदन गर्नुपर्नेमा उनको जोड रहेको छ। रासस

प्रकाशित: १६ आश्विन २०८० ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App