१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डाक्टरको आन्दोलन: अन्यायको बदला अपराध!

सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता

चिकित्सक आन्दोलनका कारण सेवा पाउन नसकेपछि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अलपत्र बिरामी। तस्बिर: राजीव खत्री/नागरिक

वीर अस्पतालको भित्तामा सञ्जीवनी बुटी लिएर आउँदै गरेका हनुमानको चित्र छ। अस्पतालमा आएपछि उपचार पाइन्छ, जीवन बच्छ भन्ने सन्देश दिन हनुमानको चित्र बनाइएको हो। तर आइतबार वीर अस्पताल पुगेका बिरामी उपचार नपाएर यताउता भौंतारिरहेको अवस्थामा भेटिए।

उपचार नपाएर भौंतारिरहेका बिरामीमध्येका एक हुन्, मकवानपुर फुर्केचौरका ५५ वर्षीय दीपक कार्की। उनी शनिबार राति फोक्सोको समस्या बल्झेपछि हतारहतार बस चढेर उपचारका लागि काठमाडौंस्थित देशकै पुरानो र ठुलो वीर अस्पतालमा आएका हुन्।

बिहानै टिकट लिन लाम लागेका उनले चिकित्सकको आन्दोलनका कारण उपचार पाएनन्। ‘बिहानैदेखि उपचारका लागि डाक्टरलाई कुरेर बसेको छु,’ कार्कीले भने, ‘तर हड्तालका कारण उपचार गराउन पाइनँ।’ राजधानीमा गतिलो उपचार पाइएला भनेर आएका उनी उपचार पाउन नसकेपछि निराश देखिन्थे।

‘बिरामी भएर सरकारी अस्पताल आउँदा पनि उपचार नपाउँदा दुःख लागेको छ,’ उनले भने, ‘यो हामीमाथिको अन्याय हो। चिकित्सक कुटिनु दुःखद घटना हो तर त्यसैका विरोधमा मुलुकभरका बिरामीले उपचार नपाउनु झनै अन्याय हो।’

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुईजना चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही माग गर्दै चिकित्सक आन्दोलित भएपछि कार्कीजस्तै हजारौं बिरामीले उपचार पाउन नसकेका हुन्।

चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भयो। सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार ड्युटीमा रहेका बेला कुटपिट भएको थियो। कुटपिट गर्नेलाई कारबाही र चिकित्सकलाई सुरक्षाको माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

कार्की जस्तै सर्लाहीबाट राजधानी आएका राजेश पासवान पनि उपचार नपाएर दिनभर भौंतारिरहे। चिकित्सकका माग जायज भए पनि बिरामीले उपचार नपाउनु नाजायज भएको उनले बताए।

‘चिकित्सक कुटिएको समाचारले हामीलाई पनि दुःखी बनाएको छ,’ वीर अस्पतालमा भेटिएका उनले भने, ‘तर वीर अस्पतालमा आएर पनि उपचार नपाउँदा थप दुःख लागेको छ।’ चिकित्सकको आन्दोलनका कारण उनीहरूले स्वास्थ्य सेवामा प्रवेश गर्दा लिने शपथको समेत उल्लंघन भएको अधिकारकर्मी बताउँछन्।

अधिकारकर्मी चरण प्रसाईं नागरिकको स्वास्थ्यप्रतिको अधिकार हनन हुनेगरी गरिएको आन्दोलन खेदजनक रहेको बताउँछन्। ‘दोषीलाई कारबाही गर्ने निकाय छन्, तिनले कारबाही प्रक्रिया अगाडि बढाएका छन्,’ उनले भने, ‘अत्यावश्यक स्वास्थ्य सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिनु गैरजिम्मेवारी हो।’

आन्दोलनमा उत्रिएका चिकित्सकले देशमा कानुनी राज्य हुनुपर्ने बताएका छन्। बिरामी बचाउने चिकित्सकमाथि कुटपिट हुँदा पनि सरकार मूकदर्शक बनेको डा. शेषराज घिमिरेले बताए। ‘हामी बिरामी बचाउन जान्छौं तर हामीमाथि नै कुटपिट हुन्छ। त्रस्त भएर कसरी काम गर्नु,’ उनले भने, ‘राज्य टुलुटुलु हेरेर बस्छ, आक्रमणकारी खुलेआम हिँड्छन्। हामी असुरक्षाका कारण काम गर्न नसक्ने भएर आन्दोलनमा उत्रिएका हौं।’

सरकारले चिकित्सक कुट्नेलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने र चिकित्सक पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको सेवामा जुट्नुपर्ने सर्वसाधरणको सुझाव छ। ‘एकछिनको ढिलाइले बिरामीका ज्यान गएको खबर हामीले सुनेकै छौं,’ राजेश पासवान भन्छन्, ‘पूरै दिन चिकित्सकले सेवा नदिँदा बिरामीको अवस्था के होला?’

कर्णाली स्वास्थ्य विज्ञानको सेवा पनि प्रभावित

जुम्ला संवाददाता गोल्डेन बुढाका अनुसार सञ्चो अस्पताल हेटौंडाका दुईजना चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघ केन्द्रीय समितिको आह्वानमा आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन्।

आकस्मिक बाहेक सबै सेवा ठप्प पारेर चिकित्सक आन्दोलनमा उत्रिएका हुन्। काम गर्ने वातावरण नभएकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल चिकित्सक संघ जुम्लाका उपसभापति डा. कमल थानीले बताए।

उनका अनुसार विरोधका कार्यक्रम संघको केन्द्रीय समितिले तोकेबमोजिम हुनेछन्। बिरामी बाँचुञ्जेल ठिक र बिरामी निको हुन नसक्ने अवस्था वा तलमाथि हुँदा डाक्टर कुट्ने प्रवृत्तिको विरोधमा सेवा बन्द गर्न बाध्य भएको थानीले बताए। उनले भने, ‘हाम्रो सुरक्षा होस्, कार्य वातावरण बनोस् भन्ने उद्देश्यले सेव बन्द गर्नुपरेको हो। चिकित्सक एवं स्वास्थ्यकर्मी भगवान् होइनन्, केवल इमानदार प्रयास मात्र गर्न सक्छन्।’

कोसी अस्पतालमा पनि सेवा ठप्प

मोरङ संवाददाता चुमन बस्नेतका अनुसार चिकित्सकको आन्दोलनका कारण आइतबार विराटनगरस्थित कोसी अस्पतालमा आकस्मिक बाहेकका सेवा पनि प्रभावित भएका छन्। उपचार नपाएपछि प्रदेशका विभिन्न स्थानबाट आएका बिरामी मारमा परेका छन्।

 चिकित्सकमाथि कुटपिट, गालीगलौज, दुव्र्यवहारका घटना बढ्न थालेपछि सुरक्षाको माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। कोसी अस्पतालमा भारतका विभिन्न स्थानबाट उपचारका लागि आउने गरेका छन्। चिकित्सक आन्दोलनबारे बेखबर हुँदा पीडामाथि थप पीडा भोग्नुपरेको बिरामीले बताएका छन्। प्रसूति वार्ड र आकस्मिक कक्षमा मात्र बिरामी भर्ना लिइएको छ।

ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमण हुन थालेपछि समस्या उत्पन्न भएको कोसी अस्पताल विकास समितिका अध्यक्ष तथा नेपाल चिकित्स संघ कोसीका अध्यक्षसमेत रहेका डाक्टर फरवर्ड सिलवालले भने, ‘उपचारमा खटिएका चिकित्सकमाथि कुटपिट हुन थालेपछि समस्या उत्पन्न भएको हो। कोसी अस्पतालमा आकस्मिकबाहेकका अन्य सबै सेवा पूर्ण रूपमा बन्द छन्। आकस्मिक सेवा लिन आउनेलाई फर्काएका छैनौं।’ करिब ५ सय बिरामीले दैनिक कोसी अस्पतालको ओपिडीबाट सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ।

आन्दोलन फिर्ता

यसैबीच नेपाल चिकित्सक संघले सरकारसँगको वार्तापछि आन्दोलनका कार्यक्रम र्फिता लिएको छ। सरकारसँग ६ बुँदे सहमति भएपछि संघले विरोधका आफ्ना कार्यक्रम फिर्ता लिएको हो।

प्रकाशित: १ आश्विन २०८० ००:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App