२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एचआइभी सङ्क्रमित बढ्दै

पछिल्लो समय कालिकोटमा एचआइभी/एड्स सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका एआरटी (एन्टी रेट्रोभाइरल थेरापी) काउन्सिलर ईश्वर शाहीका अनुसार चालु वर्षको हालसम्मको तथ्याङ्कमा कालिकोटमा ६५ जनाले एआरटी सेवा लिइरहेका छन्। जसमा २८ जना महिला, तिन बालिका, एक बालक र ३३ जना पुरुष रहेका छन्। सङ्क्रमितमध्ये रोजगारीका लागि बिदेसिने र सुईद्वारा लागुपदार्थ सेवन गर्नेहरू बढी देखिएको एआरटी काउन्सिलर शाहीले बताए।

कालिकोटमा एचआइभीबाट आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला, एक बच्चा र तीन जना पुरुष रहेका छन्। एचआइभी सङ्क्रमणसम्बन्धी जनचेतनामूलक कार्यक्रम कर्णाली प्लसले गर्ने गरेको छ। कर्णाली प्लस कालिकोटका अध्यक्ष कालीबहादुर शाहीले नगरपालिकाभित्रका प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा महिनाको एक दिन स्वास्थ्यकर्मीमार्फत एचआइभी एड्ससम्बन्धी स्वास्थ्य शिक्षा सञ्चालन गर्ने निर्णयसमेत गरिएको बताए। एचआइभी सङ्क्रमित (परिवर्तित नाम २१) ले आफूहरूलाई समाजमा खुलेर हिँड्नसक्ने वातावरण बनाइदिन सबैमा अनुरोध गरे। उनले भने, ‘सङ्क्रमित भइसकेपछि साथीभाइ, घरपरिवार, समाजबाट टाढा हुँदा कत्ति दिन त भोकै बस्नु परेको छ।’

कर्णाली प्लस कालिकोटका टिम लिडर दिपबहादुर शाहीले एचआइभी सङ्क्रमितलाई गलत दृष्टिकोणबाट हेर्न नहुने बताए। सङ्क्रमितलाई हतोत्साहित नहुन अनुरोध गर्दै उनले आफू हरपलसाथ सहयोगका लागि तत्पर रहेको बताए। उनले सकारात्मक सोच र दृढ आत्मबलका साथ अघि बढ्न सङ्क्रमितलाई आग्रह गरे। 

कालिकोटका सबैभन्दा बढी सङ्क्रमित हुने पालिकामा नरहरिनाथ गाउँपालिका र दोस्रोमा खाँडाचक्र नगरपालिका रहेका छन्। कर्णाली प्रदेशअन्तर्गत दैलेखमा ६ सय, सुर्खेतमा १८ सय गरी जम्मा ४ हजार ५ सय जनाले औषधि खाने गरेका छन्। वैदेशिक रोजारमा जानेहरूबाट धेरै सरेको हुन सक्ने स्थानीयको भनाइ छ।  

नेपालमा पहिलो एचआइभी सङ्क्रमित सन् १९८८ मा पहिचान गरिएको थियो। सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ। शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभाव अन्त्य गर्ने लक्ष्य राखेको छ।  

सरकारी तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्या घटे पनि उपचार सेवा लिनेको सङ्ख्यामा भने कमी आएको छैन। सरकारले आगामी सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो। सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ।  

एचआइभीको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीसमेत रहेका छन्। एचआइभी सङ्क्रमितलाई नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराइरहेको छ।

प्रकाशित: २९ भाद्र २०८० ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App