७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पैसा नभएकै कारण कोही गरिब र विपन्न मर्नु पर्दैन: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बिहीबार नेपालगञ्जको भेरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले स्वागत गर्दै।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जनताको मौलिक हकसँग जोडिएकाले पैसा नभएकै कारण गरिब र विपन्न व्यक्ति उपचार गर्न नपाएर मर्नु नपर्ने बताएका छन्।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरिब, विपन्नका लागि धेरै सरकारी अस्पतालमा निःशुल्क सेवा सुरु गरिएको उनको भनाई छ।

‘स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो, व्यवहारमा राज्यले त्यस्तो व्यवस्था गर्न सकिरहेको छैन, गरिब, विपन्न, निमुखाहरु कतिपय बिरामीले उपचार गर्ने पैसा नपाएर अस्पतालको बरण्डाबाट आत्महत्या गरेका छन्, कतिपय घरमा गएर मरेका छन्,’ मन्त्री बस्नेतले भने, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै मेरो प्राथमिकता रह्यो, जहाँबाट ल्याएर भएपनि पैसा नभएका कारण गरिब र विपन्नलाई उपचार गर्न नपाएर मर्न दिन्न भनेर म लागिपरेको छु।’

कर्णाली प्रदेशको जुम्ला जाने क्रममा नेपालगन्ज आइपुगेका मन्त्री बस्नेतले बिहीबार भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

बिरामीका कारण अहिले अहिले स्वास्थ्य मन्त्रालय अस्पताल जस्तो भएको उनले बताए। दैनिक १५/२० जना बिरामी मन्त्रालयमा आउने गरेको मन्त्री बस्नेतले सुनाए।

पछिल्लो समयमा गाउँका अस्पतालले डाक्टरको मुख देख्न पाएको बताउँदै कतिपय कर्मचारीहरु १५/१६ वर्ष देखी एउटै कार्यालयमा काजमा बसेको, धम्क्याउँदै पावर र पहुँचको आधारमा कार्यालय रोज्ने प्रवृत्ति रहेको सुनाए। त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आफू लागिरहेको मन्त्री बस्नेतले बताए।

उनले भेरी अस्पतालबाट पनि गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताएका छन्। ‘भेरी अस्पतालका अरू सेवा बढाउनुपर्छ, यो भेगका गरिबहरुको छाया हो यो अस्पताल, यस कारणले मलाई यो कुरा थाहा छ, यसको स्तरोन्नतिका लागि आफ्नो क्षेत्रबाट सबै खाले प्रयास गर्न तयार छु,’ उनले थपे।

वीर अस्पतालको जस्तै भेरी अस्पतालमा पनि बिहान ८ बजेबाट ओपिडी सेवा सञ्चालन गर्न मन्त्री बस्नेतले निर्देशन दिए।

‘तपाईँहरूले पनि सेवा सुविधा सुरु गर्नुस्, म फेरी चाँडै आउँछु, तीन/चार घण्टा समय दिएर कोठा–कोठामा गएर हेर्छु,’ मन्त्री बस्नेतले भने ‘जनरल बेड यति वटा निःशुल्क छ भनेर भन्नुस्, त्यो जनरल बेड निःशुल्क गरे बापत तपाईँले कति आर्थिक दायित्व बेहोर्नुपर्ने हो सक्नुहुन्छ भने तपाईँहरू गर्नुस्, सक्नु हुन्न भने मलाई भन्नुस्, पैसा म पठाइदिन्छु।’

गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने उनको भनाई छ। मन्त्री बस्नेत सहितको टोलीलाई भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले स्वागत गरेका थिए, भने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले अस्पतालको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: १४ भाद्र २०८० १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App