१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

मंगलबार सम्ममा बागमती प्रदेशमा २ हजार ७७३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै डेंगुको सङ्क्रमण धादिङ जिल्लामा भएको छ । धादिङमा एक हजार ८९० जनामा सङ्क्रमण हुँदा सबै भन्दा कम रसुवामा ६ जना रहेका छन् । यस्तै काठमाडौंमा १८० जना, मकवानपुरमा १५१, ललितपुरमा १३९, भक्तपुरमा ११५ र चितवनमा ११० जनामा डेंगु सङ्क्रमण भएको छ ।

नुवाकोटमा ७१ जना, रामेछापमा ३७, काभ्रेपलान्चोकमा ३५, सिन्धुलीमा १९, सिन्धुपाल्चोकमा ११ र दोलखामा ९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । यस वर्ष बागमती प्रदेशका डेंगु सङ्क्रमणका कारण एक जनाले ज्यान गुमाइसकेका छन् । हेटौँडा १२ का ४१ वर्षका राजेश प्रधानको डेंगु सङ्क्रमण पश्चात् चितवनको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अघिल्लो वर्ष पनि बागमती प्रदेश डेंगुको ‘हटस्पट’ नै बनेको थियो । डेंगुको सङ्क्रमण देखिएसँगै स्थानीय पालिकाहरूले ‘खोज र नष्ट गर’ अभियान समेत सञ्चालन गर्दै आएका छन् । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु एक मात्र विकल्प भएको चिकित्सकहरूको सुझाव छ । चिकित्सकहरूले वरपरको पानी पर्ने खाल्डो पुर्न, लामखुट्टेको वासस्थान नष्ट गर्न र झुलको प्रयोग गर्न आम सर्वसाधारणलाई अनुरोध गर्दै आएका छन् ।
 

प्रकाशित: ३० श्रावण २०८० १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App