६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सक्कली डा. यादव भन्छन्- ‘अब कसैलाई यस्तो नहोस्’

डाक्टर रञ्जितकुमार यादव

‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका सक्कली डाक्टर रञ्जितकुमार यादवको हो।

बंगलादेशबाट नक्कली प्रमाणपत्र लिएर डाक्टर बनेका रञ्जितकुमार यादवको सट्टा सोही नाम गरेका सक्कली डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको थियो। उनीसँगै आठजना अन्य चिकित्सक पनि नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका थिए। आरोप पुष्टि नभएपछि महोत्तरी घर भएका ती सक्कली डाक्टर यादव आइतबार दिउँसो रिहा भए। साथी विवेक ठाकुर र नेपाल चिकित्सक संघका काउन्सिल सदस्य डा. रविन बस्नेतले सक्कली प्रमाणपत्र सिआइबीमा पेस गरेपछि डा. यादव रिहा भएका हुन्। हिरासतबाट मुक्त भएको खुसीभन्दा पनि ‘अकारण’ पक्राउ परेकोमा बढी पीडा महसुुस भइरहेको गुनासो उनले गरे।

आफूले सन् २०१८ मा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेको डा. यादवले बताए। पहिलो चरणको कोरोना महामारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोभिड १९ कोसी प्रदेश अस्पतालमा १८ महिना काम गरेको उनले जानकारी दिए। अहिले उनी पोस्ट ग्राजुएट (स्नाकोत्तर तह) को प्रवेश परीक्षाका लागि भक्तपुरमा डेरा लिएर तयारी गरिरहेका छन्। उनकै कोठामा साथी विवेक पनि बस्छन्।

आफू र परिवारलाई मात्र निरपराध भएको थाहा भए पनि गाउँघरकाले के ठाने होलान् र पछि पनि के भन्लान् भन्ने चिन्ता मात्र लागिरहेको उनले सुनाए।

उनले बिहीबार आफू पक्राउ परेको दिनको घटना सुनाए। दिउँसो ३ बजे केही प्रहरी उनकै कोठामा पुगे। उनीहरूले बोलाएपछि डा. यादव बाहिर निस्के। अनुसन्धानका लागि लिन आएको भनी उनलाई सिधै हिरासतमा पुर्याइयो। हिरासतमा पुग्दा उनीसहित एक चिकित्सक र बाँकी २४ जना अन्य अपराधका आरोपित थिए। एउटा सानो कोठामा त्यति धेरैलाई राखिएको थियो। सुत्न पुग्ने ठाउँ थिएन। आजसम्म कुनै अपराधमा नपरेका डा. यादव त्यो भिडमा निसास्सिए। रोग सर्ने हो कि भन्ने चिन्ताले पनि उनलाई कम्ती सताएन। त्योभन्दा ठुलो चिन्ता कसैले कुटपिट गर्लान् कि भन्ने भयो। ‘त्यो कोठमा कोही मान्छे मारेर आएका थिए। कोही दुव्र्यसनी थिए,’ उनले भने, ‘एकातिर मान्छे मारेर आएकाले मलाई पनि मार्लान् भन्ने मनोवैज्ञानिक त्रास, अर्कातिर दुव्र्यसनीहरूबाट क्षयरोग, कुष्ठरोगलगायत सर्ला कि भन्ने डर। ठुलै सास्ती भोगियो।’

नक्कली चिकित्सकका नाममा आफ्नो तस्बिरसहितको समाचार गाउँघरमा पुगेको पिर त झनै गहिरो रहेको डा. यादवले सुनाए। आमाबुवाले ‘छोरालाई डाक्टर बनाउने’ठुलो सपना देखेर यादवलाई निजी मेडिकल कलेजमा ४० लाख खर्च गरेर एमबिबिएस गराएका थिए। गाउँघरमा आफ्नो समाचार पुगेपछि, नक्कली डाक्टरको भनी ‘झुटो दाग’ लागेपछि चिन्ताले अहिले पनि पिर परेको उनले बताए।  

आफू र परिवारलाई मात्र निरपराध भएको थाहा भए पनि गाउँघरकाले के ठाने होलान् र पछि पनि के भन्लान् भन्ने चिन्ता मात्र लागिरहेको उनले सुनाए।

नकारात्मक समाचार चाँडै फैलिने र सकारात्मक समाचारप्रति चासो नराखिने आशय व्यक्त गर्दै उनले भने, ‘प्रमाणपत्र नक्कली भएको भनेर आएको समाचार त गाउँमा धेरैले हेरे तर सक्कली नै प्रमाणित भएर हिरासतमुक्त भएको समाचार त्यहाँसम्म पुग्ला त?’ छोरा हिरासतमा परेको सुनेर बुवाआमा पनि बेसरी झस्केको उनले बताए। ‘छोरा समातिएको कुरा सुनेर आमा त अवाक् नै हुनुभएछ। पछि सबै कुरा थाहा पाएपछि ठिक हुनुभयो,’ उनले भने।

उक्त घटनाप्रति नेपाल चिकित्सक संघले पनि आपत्ति जनाएको छ। ‘प्रमाणपत्र चेकै नगरी पक्राउ गर्न मात्र हतारिने सिआइबीको अवस्था देखेर देशमा हुने विभिन्न अनुसन्धानप्रति कसरी विश्वसनीय हुने?’ संघका काउन्सिल सदस्य डा. बस्नेतले भने। उनका अनुसार नेपाल मेडिकल काउन्सिलले डा. यादवको फाइलमा सबै कागजात मुख्य आरोपितको राखेको थियो, एउटा चिकित्सक अनुमतिपत्र मात्र उनको थियो। ‘यसमा काउन्सिलको पनि कमजोरी देखिन्छ,’ उनले भने। कागजातको सही जाँचबिना नै प्रहरीले नोबेल कलेज पढेका डा. यादवलाई पक्राउ गरेको घटना दुखद भएको उनले बताए। ‘सिआइबीमा कतिसम्म क्षमतावान् जनशक्ति राखिएको छ भन्नेतिर सोच्नुपर्ने देखियो,’ उनले भने।  

बंगलादेशको नर्थ बंगाल युनिभर्सिटीबाट नक्कली प्रमाणपत्र लिएका उही नाम गरेका अर्का चिकित्सकका ठाउँमा डा. यादव पक्राउ परेका थिए। नाम मिले पनि उमेर, विश्वविद्यालय जाँच नगरी प्रमाणपत्र पठाउने नेपाल मेडिकल काउन्सिल र सिआइबी दुवैको ठुलो लापरबाहीका कारण आफूले हिरासतमा शारीरिक र मानसिक तनाव झेल्नुपरेको र उक्त घटनालाई सामान्य रूपमा लिन नहुने डा. यादवको भनाइ छ। ‘वास्तवमा मेरो नाममा सधैंभरिलाई दाग लाग्यो। अब प्रहरीले दाग पुछिदिन सक्छ त?’ उनले प्रश्न गरे। यकिन नाम र ठेगाना नहेरी आफ्नो कागजात पठाउने काउन्सिलमा पनि उत्तिकै लापरबाह रहेको डा. यादवले बताए। ‘मेरा हकमा सिआइबी र काउन्सिल दुवैले गल्तीकमजोरी गरेका छन्, अरू कसैलाई यस्तो नहोस्,’ उनले भने।

प्रकाशित: ३० श्रावण २०८० ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App