२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य  सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो। 

२०७७ सालमा स्थापना भएको केन्द्रबाट हालसम्म २ हजार २४० जनाले सेवा लिएका छन्। गत आर्थिक वर्ष २०७९/०८०मा मात्रै  ८ सय ३१ जनाले सेवा लिएका छन्। जसमा पञ्चकर्म (थेरापी) सेवा ४ सय ६०, योग सेवा २ सय ६१ र सामान्य प्याथोलोजि सेवा १ सय १० जनाले लिएको कार्यालय प्रमुख तथा अहेब सहायक मंगल विष्टले जानकारी दिए। 

इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यालयसँगै रहेको केन्द्रमा चितवन, गोरखा, धादिङ र तनहुँका समेत बिरामी आउने विष्ट बताउँछन्। उनका अनुसार सबैभन्दा धेरै चेपाङ समुदायका मानिस उपचार गर्न आउने गरेका छन्।

तनहुँको आबुखैरहनी गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना र  भरतपुर महानगरपालिकाबाट समेत उपचार गर्न आउने गरेको उनले बताए। ‘चुम्लिङटार स्थित पृथ्वी राजमार्ग छेकमै रहेको यस केन्द्र स्थापना भएको धेरै भएको छैन तर, मानिसहरूको आकर्षण बढ्दै गएको छ,’ उनले भने ‘बाटोमा देखेर पनि कतिपय मासिनहरु उपचार गर्न आउनुहुन्छ।’ उनका अनुसार, दैनिक १० देखि १५ जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दछन्। 

यहाँ दिसा, पिसाब, रगत बिएमआई (बडी मार्क्स इन्डेक्स) प्रत्येक महिना निःशुल्क परीक्षण हुन्छ। उपचारका क्रममा २५ प्रतिशतलाई उच्च रक्तचाप, मधुमेह, मोटोपना देखिने गरेको विष्टले बताए। जटिल समस्या देखिएपछि भरतपुर रिफर गर्ने गरिएको छ।

पछाडि परेका चेपाङ समुदायलाई लक्षित गर्दै गाउँपालिकाले घर घरमै पुगेर निःशुल्क सेवा समेत दिँदै आएको छ। घरघरमै पुगेर अहिलेसम्म १ सय १० जनालाई सेवा प्रदान गरिएको छ। हाल केन्द्रमा  एक जना मात्र कर्मचारी छन्। गाउँपालिकाले यो वर्ष कर्मचारी थप्ने तयारी गरेको वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले जानकारी दिए। ‘कर्मचारी अभावका कारण दिन पर्ने सुविधा अझै दिन सकिएको छैन,’ उनले भने ‘यस वर्ष कर्मचारी व्यवस्थापन गरेर सेवालाई प्रभावकारी बनाउन गाउँपालिका लागिपरेको छ।’ केन्द्र स्थापना भएपछि सामान्य उपचारबाट वञ्चित भएका नागरिकलाई फाइदा पुगेको उनले बताए। ‘यस क्षेत्रमा चेपाङ समुदायको बाक्लो बस्ती छ। उनीहरु उपचार गर्न भरतपुरसम्म जान सक्दैन,’ उनले भने ‘यहाँ आयुर्वेद स्थापना भएपछि केही सहज भएको छ।’

नागरिक आरोग्य सेवा केन्द्रलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र गाउँपालिकाबाट औषधी खरिदका लागि बजेट विनियोजन हुने गरेको छ। वार्षिक सात लाखको हाराहारीमा औषधी निःशुल्क वितरण गर्ने गरिएको छ। यहाँ मुख्यमन्त्री जनता कार्यक्रम मार्फत ल्याब स्थापना गरेर असारबाट सेवा सञ्चालनमा ल्याइएको छ। यसले सेवा प्रवाहमा अझै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले गरेको छ। केन्द्रले समय समयमा स्वास्थ्य शिविर समेत राख्ने गरेको छ।  


 


 


 


 


 


 


 


 

प्रकाशित: २६ श्रावण २०८० १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App