२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

पिउने पानी परीक्षणको रिपोर्टसहित मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपा धरानको टोली। तस्बिर: रोहित राई/नागरिक

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

धरानमा फोहोर पानीको कारण डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको जनगुनासो बढेपछि गरिएको परीक्षणबाट फिकल कोलिफर्म मिसिएको पुष्टि भएको हो।

धरानमा वितरण भइरहेको विभिन्न ७ ठाउँको पिउने पानीको नमुना संकलन गरेर परीक्षण गर्दा बोरिङ गरिएको पानीमा मात्र कोलिफर्म छैन। अन्य ६ ठाउँको खोला (सतह) को स्रोतको पानीमा भने फिकल कोलिफर्म भेटिएको राष्ट्रिय स्वतन्त्र पार्टी धरानका सचिव सुमन श्रेष्ठले जानकारी दिए।

पिउने पानीमा कोलिफर्म मिसिएको पुष्टि भएपछि रास्वपाले बिहीबार मेयर हर्क साम्पाङलाई रिपोर्ट सहित ध्यानाकर्षण पत्र बुझाएको छ। साथै, रास्वपाले नगरबासीहरुलाई स्वास्थ्य र शुद्ध पानी वितरण गर्ने व्यवस्थापन गर्न पनि मेयर साम्पाङलाई आग्रह गरेको छ। विभिन्न ७ ठाउँबाट संकलन गरिएको पिउने पानीको नमुना नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा इकोलाई परीक्षण गरिएको श्रेष्ठले बताए।

परीक्षण गर्दा फिकल कोलिफर्म भएको रिपोर्ट आएकोले धरानवासीले पिउने गरेको पानीमा दिसा मिसिएको छ भन्ने पुष्टि भएको धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट धिरेन लिम्बुले बताए।

‘यो मान्छेको आन्द्रमा हुन्छ। यसले खानेपानीको स्रोतमा दिशाजन्य ब्याक्टेरिया छ भन्ने देखाएको हो,’उनले भने,‘विश्व स्वास्थ्य संगठन र नेपालको मापदण्डले पानीमा कोलिफर्म शून्य नै हुनुपर्छ। तब मात्र पिउन योग्य पानी मानिन्छ।’

रास्वपा सचिव श्रेष्ठका अनुसार शून्य कोलिफर्म हुनुपर्नेमा फुस्रेस्थित रिजर्भ वेयर ट्यांकको पानी परीक्षण गर्दा ३० आएको थियो भने धरान १४ विजयपुरस्थित रिजर्भ ट्यांकको पानी गौधाराबाट संकलन गरेर परीक्षण गर्दा कोलिफर्म ३५ भएको रिपोर्ट आएको छ।

यस्तै, खर्दुको पानी परीक्षण गर्दा कोलिफर्म १५, सर्दुको पानी परीक्षण गर्दा कोलिफर्म १० आएको छ भने निशाने ट्यांकीको पानी परीक्षण गर्दा पनि कोलिफर्म २० रहेको रिपोर्ट आएको छ। यस्तै, विष्णुचोकस्थित ट्यांकीमा मिसाइएको कोकाहाको पानी संकलन गरेर परीक्षण गर्दा ५ कोलिफर्म भेटिएको छ। सोही ट्यांकीमा मिसाइएको कुम्भी आहालबाट बोरिङ गरिएको भूमिगत स्रोतको पानी परीक्षण गर्दा भने कोलिफर्मको मात्रा शून्य (कोलिफर्म नभएको) रिपोर्ट आएको छ।

केन्द्रीय प्रविधि क्याम्पसका पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट लिम्बु पानीमा कोलिफर्म मिसिने बित्तिकै स्वास्थ्यलाई गम्भीर असर पर्ने खालको अन्य ब्याक्टेरियाहरु पनि मिसिएको हुनसक्ने बताउँछन्। यस्तो पानी तत्काल पिउदा असर नदेखिए पनि भविष्यमा देखिने उनले बताए।

‘जसको रोगसँग लड्ने क्षमता कमजोर छ, दीर्घरोगीहरुलाई गम्भीर असर पुग्छ, ’उनले भने, ‘हैजा लाग्ने ब्याक्टेरिया, टाइफाइट हुने ब्याक्टेरिया पनि दिसामा हुनसक्छ, र त्यसले प्रकोप ल्याउनसक्छ है भन्ने संकेत यो रिपोर्टले दिएको हो।’

विगतमा क्याम्पसकै विद्यार्थीहरुलाई थेसिस् गराउँदा पनि धरानको पिउने पानीमा कोलिफर्म भएको देखिएको उनले बताए। साथै, एन्टिबायोटिक रेसिस्ट गर्ने ब्याक्टेरियाहरु पनि धरानको पानीमा देखिएको उनको भनाई छ।

‘ट्रिटमेन्टको प्रोसेस नमिलको हो कि भन्ने लाग्छ। खानेपानीको मुहान, स्रोतको सरसफाईमा प्राथमिकता दिनुपर्छ। गाईभैसी चराउन र मानव गतिविधिहरु निषेध गर्नुपर्छ, ’उनले भने, ‘खानेपानीलाई वितरण गर्नुपहिला ट्रिटमेन्ट गर्नुपर्छ। नियमित नभए पनि महिनामा एक पटक खानेपानीको विषयमा जाँच गरेर वितरण गर्नुपर्छ।’

माइक्रोबायोलोजिष्ट लिम्बुले क्याम्पसमा ल्याब भएकोले धरान उपमहानगरले महिना महिनामा पानी परीक्षण गर्ने व्यवस्था गर्न सक्ने बताए। यसको लागि इन्टर्नसिप विद्यार्थीहरुलाई परिचालन गर्न सक्ने गरि सम्झौता गरेर सहकार्य गर्दा पनि हुने उनले बताए। रास्वपाका धरानका सभापति राजेशमान श्रेष्ठले पानी शुद्ध गरेर वितरण गरिनुपर्ने र उपमहानगरले आवश्यकता महशुस गरेमा सहकार्य गर्न तयार रहेको बताए। 

मेयर साम्पाङले खानेपानीको चर्को अभावको कारण सतहको पानी संकलन गरेर वितरण गर्नुपर्ने बाध्यता भएको बताए। साथै उनले नगरबासीलाई शुद्ध एवं स्वास्थ्यकर पिउने पानी वितरणमा पनि ध्यान दिइने बताए।

प्रकाशित: १८ श्रावण २०८० १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App