१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु

धरानका विद्यालयहरूमा पुगेर डेंगुको लार्भा नष्ट गर्न आग्रह गर्दे मेयर हर्क साम्पाङ। तस्बिर: रोहित राई/नागरिक<br>

करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र ३,९८१ जनाको परीक्षण गर्दा २,३५३ जनामा पोजेटिभ देखिएको छ भने संक्रमण दर ५९ प्रतिशत रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

उपमहानगरपालिकासँग निजी स्वास्थ्य संस्थाहरुमा जाँच गरेको बिरामीको तथ्यांक छैन। धरानको सबै २० वटै वडामा डेंगु प्रकोप छ भने प्रत्येक घरमा डेंगुको बिरामी भएको अनुमान गरिएको छ।

डेंगु संक्रमित ८ जनाको मृत्यु भएको र घरैपिच्छे डेंगुका बिरामी हुँदा पनि स्थानीय सरकारले नियन्त्रण गर्न ठोस कार्य योजना र प्रभावकारी कदम नचालेको भन्दै आलोचना पनि भइरहेको छ।

मेयर हर्क साम्पाङले वडा र टोल विकास संस्थाहरुलाई सर्च एण्ड डिष्ट्रोय अभियान चलाउन आग्रह गरेका थिए भने आफै पनि प्रत्येक दिन दिउँसो विभिन्न टोलमा सर्च एण्ड डिष्ट्रोय अभियानमा जान्छन्। तर, डेंगु नियन्त्रणमा स्थानीय सरकारको भूमिका यतिले नपुग्ने वडा नं १३ का घनश्याम तिम्सिना बताउँछन्।

वीपी प्रतिष्ठानस्थित डेंगु क्लिनिकमा परीक्षण गर्न आएका बिरामीहरू।

‘दिनमा एक दुई ठाउँ मात्र अभियान चलाएर हुँदैन। एकै दिन धरानको २० वटै वडामा एकै समयमा वृहत् अभियान हुनुपर्छ, र मात्र हुन्छ,’उनले भने, ‘यसको लागि स्थानीय सरकारले सबैलाई समन्वय गरेर आह्वान गर्नुपर्छ।’

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ पनि धरानमा डेंगुको स्रोत (लामखुट्टेको लार्भा) पुर्णरुष्मा नष्ट गर्न व्यापक जनपरिचालन हुन नसके गाह्रो हुने बताउँछन्।

जिल्ला स्वास्थ्यको टोलीसहित धरानको वडा ११, १५, १८ र १७ मा अभियान चलाउँदा प्रत्येक घरमा नै लार्भा देखिएको प्रसाईँले बताए।

‘प्रत्येक घरमा नै लार्भा छ, त्यसैले व्यापक जनपरिचालनसँगै हरेक घरका मानिसले आफ्नो घरमा ५,६ दिनमा ट्यांकी, गमला, पानी जम्ने ठाउँ, बोतल हेरेर नष्ट गर्नुपर्ने देखिन्छ, ’उनले भने, ‘स्थानीय सरकारले नगरेको होइन, तर इफोर्ट अझै पुगिरहेको छैन।’

प्रसाईँका अनुसार मृत्यु भएका ८ जना मध्ये एक जना महिला मात्र डेंगुको कारणले मात्र मृत्यु भएको पुष्टि भएको छ। अन्य ७ जना भने अन्य रोगका पनि बिरामी भएकोले के कारणले मृत्यु भएको हो भनेर थप अनुसन्धान भइरहेको पनि प्रसाईँले बताए।

उनले भने, ‘एक जना डेंगुकै कारण मृत्यु भएको कन्फर्म हो। अरूलाई अन्य रोग पनि थियो। त्यसबारेमा इपिडियोमोलोजीले र वीपी प्रतिष्ठान आफैले पनि अनुसन्धान गर्दैछ।’

वडा र टिएलओहरु परिचालित भएन

मेयर साम्पाङले वडाका टिएलओहरुलाई सर्च एण्ड डिष्ट्रोय अभियान थाल्न भेला राखेर आग्रह गरेको एक साता बितिसकेको छ, तर वडाका जनप्रतिनिधिहरू र टिएलओहरु सक्रिय भएको छैन। केही वडामा सर्च एण्ड डिस्ट्रोय अभियान चले पनि अधिकांश वडाहरू निष्क्रिय छन्। अधिकांश फगिङ मात्र गरेर बसेका छन्।

मेयर साम्पाङले स्थानीय सरकारले आफ्नो तहबाट सक्दो पहल गरेको बताउँछन्।

‘विद्यालयका प्रअहरुलाई बोलाएर विद्यार्थीहरुलाई आफ्नो घरमा लार्भा हेर्ने र नष्ट गर्ने विधि सिकाउन भन्यौँ। टिएलओहरुलाई आग्रह गरेका छौं। सबै  नै लागिपर्नुपर्छ, नगरले मात्र गरेर सम्भव छैन, ’उनले भने, ‘टेष्ट किट सरकारसँग मागेका छौं, निःशुल्क परीक्षणको व्यवस्था गछौं। अहिले वीपीमा पनि निःशुल्क परीक्षणको प्रबन्ध छ।’

स्वास्थ्य महाशाखा प्रमुख मेहता पनि जे जति छलफल, बैठक राखे पनि डेंगु नियन्त्रणमा सर्च एण्ड डिष्ट्रोय अभियान नै प्रभावकारी भएको बताउँछन्। नगरको तहबाट भइरहे पनि वडा र टिएलओहरु परिचालन एक्टिभ नभएको उनले गुनासो गरे। 

‘वडा र टिएलओहरु जति एक्टिभ हुनुपर्ने हो भएन। फगिङ गरेर मात्र हुँदैन,’ उनले भने।

प्रकाशित: १५ श्रावण २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App