१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएपछि चिकित्सक फरार

जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।

पाठेघरमा समस्या भएपछि सोनियालाई परिवारजनले शल्यक्रिया गराउन गत बुधबार अस्पताल भर्ना गराएका थिए। तर उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएपछि उपचारमा संलग्न डाक्टर विरुद्ध अस्पताल अगाडि प्रदर्शन गरेका थिए।

उनको परिवारले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए। परिवारले शव नबुझेर अस्पताल विरुद्ध प्रदर्शन गर्दै छानबिन गर्न माग गरेका छन्।

अस्पतालमा तालाबन्दी गरी मुचुल्का उठाइ छानबिन गर्नुपर्ने उनीहरुको माग छ। मृतकका परिवारले अस्पतालमा ताल्चा लगाएपछि त्यहा डाक्टर लगायतक कर्मचारीहरु फरार छन्। अस्पतालबाट चिकित्सकहरु फरार भएपछि पोस्टमार्टमको लागि राती आठ बजे प्रादेशिक अस्पताल ल्याएको थियो।

बुधबार साहको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए। शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन्। केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर पठाउने प्रयास गरेका मृतकका जेठाजू रमेश साहले बताए।

'हामीलाई जानकारी नगराई डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो। हामीले मान्छे बोलाएर रोकायौं। हेरेपछि बुहारीको मृत्यु भइसकेको थियो,' जेठाजू रमेशले भने, 'लगतै डाक्टरले पुलिस बोलाएर सबैजना भागे। बुहारीको अप्रेशनमा चिकित्सकको लापरबाहीले गर्दा नै मृत्यु भएको हो।'

अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। परिवारजनले घटनाको छानबिन गरि लापरबाही गर्ने चिकित्सकलाई कारबाही माग गरेको छ।

लापरबाही गर्ने चिकित्सकलाई कारबाही नभए शवलाई जिल्ला प्रहरी कार्यालयको अगाडि राखेर प्रदर्शन गरिने स्थानीय संजय साहले बताए।

अस्पताल र पीडित पक्षलाई छलफलको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएको धनुषाका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। जनकपुरको रामानन्द चोकमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सरोज ठाकुरले जनकपुर सुरक्षा अस्पताल संचालन गर्दै आएका छन्।

प्रकाशित: ६ श्रावण २०८० १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App