२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘फाजिल कर्मचारी’ शब्द विरुद्ध कर्मचारी संगठन एकबद्ध

फाजिल भनिएका स्वास्थ्यकर्मीहरू न्यायका लागि छलफल गर्दै कर्मचारीका संघसंगठनहरु। तस्बिर: पुष्पराज जोशी/नागरिक

कहिल्यै दरबन्दी बढी त कहिले फाजिल कर्मचारी भन्दै कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई गरेको अपहेलनाविरुद्ध यहाँका कर्मचारी संघसंगठन एकबद्ध भएका छन्।

कर्मचारी समायोजन ऐन २०७५ को दफा ७, समायोजन/संशोधन र समायोजन मिलान अनुसार आएका स्वास्थ्यकर्मीहरूलाई गोदावरी नगरपालिकाले ‘फाजिल कर्मचारी’ र धनगढी उपमहानगरपालिकाले दरबन्दी बढी भएका कर्मचारी भनेर साउन १ गतेदेखि काममा नआउन पत्र पठाएपछि कर्मचारीहरूका संघसंगठन न्यायको खोजी गर्दै एकबद्ध भएका हुन्।

मंगलबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी संघसंगठनका नेताहरु एकबद्ध भएका हुन्। उनीहरुले नियमसंगत रुपमा आएका कर्मचारीहरूलाई अहिले आएर धनगढी र गोदावरीले साउन १ गतेदेखि काममा नआउन भनेपछि आफूहरू न्यायका लागि छलफलमा लागिरहेको निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले बताए। उनले भने,‘स्थानीय तहले पटक पटक बलमिच्याइपूर्ण शैलीमा कर्मचारीलाई गरिएको व्यवहार न्यायोचित भएन, त्यसका विरुद्धमा हामी एकबद्ध भएका छौँ।’

समायोजन ऐन, समायोजन मिलान कार्यविधि अनुसार नै कर्मचारीहरू समायोजन भई आए पनि अहिले आएर मन्त्रालयलाई नै कर्मचारी फिर्ता लैजान भन्ने आशयको पत्र पठाइनु गलत रहेको नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम अध्यक्ष धर्मबहादुर देउवाले बताए। उनले भने,‘चाँडो भन्दा चाँडो सरकारले यो त्रुटि सच्याउनु पर्छ।’ लोकसेवा आयोग पास गरेर आएका कर्मचारीलाई यस्तो व्यवहार गरिनु कदापि राम्रो नभएको उनको जिकिर थियो। ‘स्वास्थ्य क्षेत्रमा विज्ञ र दक्खल रहेका स्वास्थ्यकर्मीलाई संरक्षण गर्नुको साटो उनीहरूको मनोबल गिराउने कार्य गरिनु गलत हो,’ उनले भने,‘यसको समाधान स्वास्थ्य मन्त्रालयबाटै गरिनुपर्छ।

धनगढी र गोदावरीले साउन १ गतेदेखि  तलब भत्ता खुवाउन नसक्ने भन्दै मन्त्रालयमा कर्मचारीहरूलाई फिर्ता लैजान भनिएको छ। आफूहरू साउन १ गतेदेखि कहाँ जाने र हाजिर कहाँ लगाउने भन्नेमा अन्यौलमा रहेको भन्दै गोदावरी नगरपालिकाका ४२ जना र धनगढी उपमहानगरपालिकाका ५४ जना स्वास्थ्यकर्मीहरू अन्यौलतामा छन्।

गोदावरी नगरपालिकाले काम गरेबापतको ६ महिनादेखिको तलब भत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए। उनले भने,‘हामी नेपाल सरकारको कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ अनुसार समायोजन भई आएका हौँ, न कि आफ्नै राजी खुसीले   कसैको तोक अनुसार आएका हौँ।

आफूहरुलाई कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएको स्मरण गर्दै स्वास्थ्यकर्मीहरुले संस्थालाई समस्या पर्दा रात दिन नभनेरै कोरोनाको महामारीमा खटिए पनि त्यसैको फलस्वरूप आज आफूहरुलाई नै तलबविहीन गराएर ‘फाजिल’ कर्मचारी बनाइएको दुखेसो पोखे।

कर्मचारी समायोजन ऐन अनुसार समायोजन भई आएका स्थायी स्वास्थ्यकर्मीलाई परेको मार्काविरुद्ध आफूहरूले आवाज उठाउने नेपाल निजामती कर्मचारी युनियनका कैलाली अध्यक्ष खेमराज जोशीले भने,‘साउन १ गतेदेखि स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसक्ने भनिएपछि उनीहरु न्यायको खोजीमा रहेका छन्। हामी उनीहरूको न्यायका लागि लड्छौँ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली अध्यक्ष विमलप्रकाश जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्मबहादुर देउवा, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष खेमराज जोशी, नेपाल निजामती कर्मचारी संगठन प्रदेश अध्यक्ष कृष्णबहादुर शाही, नेपाल निजामती कर्मचारी संगठन कैलाली अध्यक्ष लक्ष्मणराज जोशी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) प्रदेश अध्यक्ष चन्द्रप्रकाश जोशी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कैलाली अध्यक्ष गंगाराम भारती, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल कैलाली अध्यक्ष जनकराज जोशी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलाली अध्यक्ष जयकला रावल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कैलाली अध्यक्ष वीरेन्द्र सापकोटाले संयुक्त रुपमा हस्ताक्षर गर्दै पीडित स्वास्थ्यकर्मीको पक्षमा एकजुट भएर उभिएको बताए। 

प्रकाशित: २६ असार २०८० १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App