२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी

कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको बताए।

कोसी प्रदेशका जिल्लामध्ये तराईका झापा, मोरङ र सुनसरीमा डेंगी संक्रमितको संख्या धेरै रहेको छ। त्यसमा पनि सुनसरीको धरानमा धेरै संक्रमित देखिएका छन्। जेठ महिनासम्म धरानमा महामारीकै रूपमा डेंगीको संक्रमण देखिएकोमा हाल नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार हाल धरानको वडा नं १७ मा धेरै संक्रमित रहेको स्वास्थ्य निर्देशनलायमा रिपोटिङ भइरहेको छ। धरान उपमहानगरपालिकामा डेंगी संक्रमितको संख्या धेरै भएका कारण बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक २० देखि ३० जना उपचारका लागि भर्ना हुने गरेको पाइएको निर्देशक बस्नेतले जानकारी दिए। उनका अनुसार कोसी प्रदेशमा दैनिक ३० देखि ५० जना डेंगीका संक्रमित फेला परिरहेको यहाँका अस्पतालहरूले निर्देशनालयलाई रिपोटिङ गर्दै आएका छन्। सुनसरीका अन्य स्थानीय तह, झापा र मोरङमा फाटफुट संक्रमित फेला परिरहेको बस्नेतले बताए।

उनका अनुसार कोसी प्रदेशका पहाडी जिल्लामा पछिल्लो समय डेंगीका संक्रमित फेला परेका छैनन्। बस्नेतले धरानमा धेरै संक्रमित भए पनि हाल कोसी प्रदेशमा डेंगीको महामारीको अवस्था भने छैन। उनले भने, ‘डेंगीका फाटफुट संक्रमित भेटिइरहेको भए पनि कोसी प्रदेशमा कतै पनि डेंगीको महामारीको स्थिति देखिएको छैन।’पानी जम्मा पारेर राख्ने, पानी जम्ने खाल्डा खुल्डी भएको स्थान, पानी जम्ने प्लाष्टिकका सामग्री, टायर भएको ठाउँमा डेंगी फैलाउने लामखुट्टे पाइने गरेको छ। कोसी प्रदेशमा डेंगीबाट असारमा एकजनाको मृत्यु भएको निर्देशक बस्नेतले बताए। उनका अनुसार १५ दिनपहिले एकजनाको डेंगीका कारण मृत्यु भए पनि त्यस पछि कसैको पनि मृत्यु भएको छैन। डेंगीको संक्रमण नियन्त्रणका लागि डेंगी संक्रमित फेला परेका स्थानीय तहसँगको सहकार्यमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिँदै आएको बस्नेतले बताए।

यता विराटनगरमा पनि फाटफुट डेंगीका संक्रमितहरू देखापरिरहेको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिले जानकारी दिए। अलिका अनुसार पछिल्लो पटक विराटनगरको वडा नम्बर ४ र वडा नम्बर ७ मा डेंगीका संक्रमित फेला परेका छन्। विराटनगर महानगरपालिकाले डेंगी को संक्रमण देखिएको स्थानमा खोज र नष्ट गर अभियान तत्कालै चलाउने गरेको छ। यसका लागि तालिमप्राप्त संयन्त्रसमेत तयारी अवस्थामा राखेको छ। डेंगीको संक्रमण रोक्न महानगरपालिकाले स्वस्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र आमासमूहहरूलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ। माहानगरपालिकाले गत मंसिरमा डेंगी संक्रमण बढेपछि महानगरपालिकाका १९ वटै वडामा एकैपटक ५ हजार बढी मानिस परिचालन गरेर डेंगी खोज र नष्ट गर अभियान चलाएको अलीले बताए। उनका अनुसार डेंगी नियन्त्रणका लागि स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा हरेक वडाका विभिन्न टोलहरूमा १ सय ४८ वटा आमा समूहलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ। यस्ता आमा समूहमा प्रत्येकमा कम्तीमा २५ जना महिलाहरूलाई सदस्य बनाइएको छ। डेंगी संक्रमण नियन्त्रणका लागि खोज र नष्ट गर अभियान नै प्रभावकारी देखिएको अली बताउँछन्।  

यसका साथै महानगरपालिकाले पनि संक्रमित फेला परेका आसपासका क्षेत्रमा फगि पाउडरसमेत स्प्रे गर्ने गरेको छ। ‘संक्रमित फेला परेको अवस्थामा सो क्षेत्रमा हप्तामा ३ देखि ४ पटक सम्म खोज्ने र नष्ट गर्ने काम गरिन्छ’उनले भने‘फगि पाउडर पनि हप्ताको ३ देखि ४ पटक नै स्प्रे गरिन्छ।’डेंगी संक्रमण नियन्त्रणका लागि खोज र नष्ट गर अभियान नै प्रभावकारी देखिएको अलीले बताए। अलिका अनुसार डेंगीको संक्रमण यही महिनामा धेरै बढ्छ भन्ने अवस्था नरहेपनि मौसमी बर्षा सुरु हुनु भन्दा पहिले र मौसमी वर्षा सकिएपछि धेरै देखिने गरेको छ। 

प्रकाशित: २६ असार २०८० ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App