८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’

रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले  रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।  

रगतको  माग र आपूर्तिको सन्तुलन मिलाउन रोटरी क्लब बुटवलले  पहिलोपल्ट बुटवलमा ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याएको हो । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापनमा चुनौतीपूर्ण बन्दै गएकाले यो एम्बुलेन्स ल्याइएको क्लबका अध्यक्ष बोनिन पियाले बताए। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ। रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रवार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको हो । यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ।

रोटरी क्लब अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष  पियाले जानकारी दिए।एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्ने उनले बताए । त्यस्तै रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै रहेको छ । रगत अभाव भएको बेला गाउँ गाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ।

रगत संकलन एम्बुलेन्सको माध्यमबाट प्रतिकुल मौसममा समेत रगत संकलन गर्न सहज हुने विश्वास लिइएको छ । रक्त संकलन एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सह्रानीय रहेको बताए। उनले बुटवलवासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरूले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताए।

 रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोबाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा  रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनमा जोड दिए । रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । सञ्चालनमा लागि कार्यविधी निर्माण गरिने र सोही अनुसार कार्यान्वयनमा लगिने उनले बताए। 

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए । क्लबका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन रक्त संकलन मोबाइल एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा गौरव लागेको बताए । रक्त संकलन एम्बुलेन्सलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्ने बताउँदै क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक र  रचनात्मक गर्दै जाने बताए । अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै १० करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताए।

क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो। तर कोरोना महामारीका कारण क्लबको परियोजना पछाडि धकेलिएको क्लबका पूर्व अध्यक्ष डिल्लीनारायण श्रेष्ठले बताए। 

 क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले रोटरीयनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान, क्लबका सचिव लालहरि पाण्डे लगायतले बोल्दै  रक्त संकलन एम्बुलेन्सको सही ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिए।

प्रकाशित: १५ असार २०८० १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App