२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

फाइल तस्वीर

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

जिल्लास्थित चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा यस्तो व्यवस्थाको सुरुवात भएको हो।

कलेजको बि–ब्लक भवनमा बिहीबार एक समारोहबिच महिला शिक्षक तथा छात्राहरूलाई अत्यावश्यक महिनावारी व्यवस्थापन सामग्री सेनिटरी प्याड भेन्डिङ मेसिन स्थापना गरिएको छ।

भर्नावर्ष २०१७ का कलेजको इलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमका विद्यार्थीहरू राजु श्रेष्ठ, सरोज चौधरी र अनिल तिरुवाले आफ्नो अन्तिम वर्षको प्रोजेक्टको रूपमा दुई वर्षअगाडि नै यस्तो मेसिन कलेजमा स्थापना गर्ने परिकल्पना गरेका थिए। तापनि कोभिड–१९ लगायत विविध कारणले उक्त काम पूरा गर्न सकेका थिएनन्।

सिनियर विद्यार्थीहरूले सुरु गरेको कामलाई कलेजमा सक्रिय विद्यार्थीहरूका क्लबमध्ये दुईवटा क्लबहरू कार्ड र सिटिआरसीले सहकार्य गरी कलेजबाट वित्तीय सहयोगस्वरूप प्राप्त ५० हजार रूपैयाँ प्रयोग गरी उक्त मेसिन बनाउन सफल भएका हुन्। कार्डले व्यवस्थापन पक्ष सम्हालेका थिए भने सिटिआरसीले प्राविधिक पक्षको जिम्मेवारी लिई मेसिन बनाउन सफल भएको थियो।

सिटिआरसीका अध्यक्ष विप्लव पनेरू र कोषाध्यक्ष पदम उप्रेतीले भर्ना वर्ष २०१७ का केही विद्यार्थीहरूले आफ्नै कम्पनी खोली सेनिटरी प्याड भेन्डिङ मेसिनको व्यावसायिक उत्पादनसमेत गरिसकेको जनाए।

कलेजमा सेनिटरी प्याड भेन्डिङ मेसिन स्थापनाको उद्घाटन कलेजका प्राध्यापक सावित्री त्रिपाठी र प्रशासन प्रमुख श्रीमा शर्माले संयुक्त रूपमा गरेका थिए। उद्घाटन कार्यक्रममा प्राध्यापक त्रिपाठीले विद्यार्थीहरूलाई आवश्यक सामग्री विद्यार्थीहरूबाटै निर्माण भएको र यस प्रकारका कामबाट विद्यार्थीमा नवीन सोचको विकास भएकोमा खुसी व्यक्त गरिन्।

विगतमा कोभिड–१९ को महामारीबिच नेपाल इन्जिनियरिङ कलेजको वित्तीय सहयोगमा शिक्षक तथा विद्यार्थीहरूले खाना तथा औषधिहरू बिरामीलाई पुर्‍याउने स्वचालित मेसिन बनाई सरकारी अस्पताललाई निःशुल्क उपलब्ध गराएका थिए।

वार्षिक लगभग १७ करोड रूपैयाँभन्दा बढी रकम छात्रवृत्ति तथा नगद पुरस्कारमा खर्च गर्ने नेपाल इन्जिनियरिङ कलेजले विभिन्न समयमा यसरी नै समाज कल्याणमा देशलाई योगदान दिइरहेको कलेजका प्राचार्य प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठले जानकारी गराए।

प्रकाशित: ८ असार २०८० ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App