१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चितवनका पशुमा लम्पी स्किन खोप लगाउन रकम अभाव

चार करोड १४ लाख रुपैयाँ आवश्यक

फाइल तस्बिर

चितवनका गाई भैँसीलाई लम्पी स्किन रोगको खोप लगाउन रकम अभाव भएको छ। जिल्लामा महामारीकै रुपमा फैलिएको यस रोग नियन्त्रणका लागि बजेट नभएपछि खोप खरिद नसकिएको हो।  

‘जिल्लामा तीन हजार तीन सय ३८ वटा गाई भैसीमा लम्पी स्किन रोग लागेको छ। ८० वटा मरिसकेका छन्,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका सूचना अधिकारी डा.रामचन्द्र आचार्यले भने, ‘रोगलाई नियन्त्रण गर्न अहिले खोप खरिद गर्ने अवस्थामा हामी छैनौ।’ चितवनका गाईभैसीलाई खोप लगाउन चार करोड १४ लाख ८५ हजार रुपैयाँ आवश्यक पर्ने उनले बताए। तर, असार मसान्त अघि खोप खरिद गर्न नसकिने उनले स्पष्ट पारे।  

‘लम्पी स्किनको लागि बजेट विनियोजन गरिएको छैन। अन्य शिर्षकबाट तान्नुपर्ने छ। त्यसमा पनि यसअघि ३० प्रतिशत बजेट कटौती भएको थियो,’ उनले भने  ‘असार मसान्त अघि टेण्डर निकालेर खोप लगाउन सक्ने अवस्थामा छैनौँ।’ कानुनी प्रकृया अनुसार १० लाखभन्दा बढीको खोप खरिद गर्न टेण्डर निकाल्नु पर्ने हुन्छ। त्यसका लागि समय छोटो छ। असार २० गते भित्र भुक्तानी दिनुपर्ने हुन्छ।  

पशु विज्ञ केन्द्रले टेण्डर नै नखुलाई १० लाख रुपैयाँको भन्दा कम खोप खरिद गरेको छ। कार्यालयका अनुसार जिल्लामा गाई र भैसी गरेर एक लाख ६५ हजार नौ सय ८० वटा छन्। त्यसमध्ये ७० प्रतिशतलाई खोप लगाउँदा पनि साढे दुई करोड लाग्ने आचार्यले जानकारी दिए।  

एउटा खोप खरिद गर्न दुई सय ५० रुपैयाँ लाग्छ । भरतपुर महानगरपालिका भित्रका गाई र भैसीलाई खोप लगाउन एक करोड ३३ लाख ३६ हजार ७५० रुपैयाँ लाग्ने विज्ञ केन्द्रका प्रमुख डा.सुरेन्द्र केसीले जानकारी दिए। त्यस्तै खोप लगाउनका लागि राप्ती नगरपालिकामा ५६ लाख १४ हजार, कालिका नगरपालिकामा २१ लाख ४१ हजार, खैरहनी नगरपालिकामा ६६ लाख ५४ हजार,  रत्ननगर नगरपालिकामा ७१ लख १४ हजार, माडी नगरपालिकामा २६ लाख ३५ हजार र इच्छाकामना गाउँपालिकामा ३९ लाख ९५ हजार रुपैयाँ आवश्यक पर्दछ।

लम्पी स्किन रोग नियन्त्रणका लागि गुणस्तरिय आहाराको समेत आवश्यक पर्छ। त्यससंगै जैविक सुरक्षा, खोप तथा उपचारका कामहरु अगाडि बढाएको कार्यालय प्रमुख केसीले जानकारी दिए। दुई हजार छ सय पशुमा खोप लगाइएको केसीले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार दुई सय ६०, रत्ननगरका तीन सय ४० र राप्तीका ५० वटा पशुमा खोप लगाईएको छ।  

जिल्लामा हालसम्म ८० वटा गाई भैसी मरेका छन्। त्यसमध्ये इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी ४९ वटा पशु परेका छन्। भरतपुरमा १३, राप्तीमा १०, कालिकामा ४, रत्ननगरमा ४ वटा गाई मरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।  

तीन हजार तीन सय ३८ पशुमा संक्रमण भएको छ । संक्रमित मध्ये गाई तीन हजार ८६ र भैसी दुई सय ५२ वटा रहेका छन्। लम्पी स्किनबाट प्रभावित सबैभन्दा बढी पशु राप्ती नगरपालिकामा छन्। त्यहाँ एक हजार तीन सय ९५ पशु संक्रमित छन्।  

यो गाईभैसीहरुमा पक्स समुहको भाइरसबाट देखिने रोग हो। यस्ता भाइरस लामखुट्टे, झिँगा, किर्नाको टोकाईबाट समेत सर्ने गर्दछ। संक्रमित गाईभैसीको ओसारपसार, चरण क्षेत्र, दाना एवम् पानी खाने ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट समेत सर्ने केसीले बताए।  

पहिला दक्षिण अफ्रिकामा सिमित यो रोग सन् २०१२ पछि मध्येपूर्वी युरोप, रसिया र काजाकस्तान हुँदै बंगलादेश र भारतमा देखा परेको थियो। नेपालमा भने पहिलोपटक सन् २०७७ मा मोरङ जिल्लामा देखा परेको डा. केसीले जानकारी दिए। यस रोग लाग्दा पशुमा १०४ फरेन्हाईट माथि ज्वरो आउने, कचेरा निकाल्ने, सिगान बग्ने, फिज निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाटी, पछाडि भाग, पेट र थुन वरीपरी गिर्खाहरु देखा पर्दछन्। यसको मृत्युदर १ देखि ५ प्रतिशत रहने बताईएको छ।  

प्रकाशित: २६ जेष्ठ २०८० १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App