७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बाजुरा अस्पतालमा विशषेज्ञ सेवा

चिकित्सक सेवा समेत प्रभावकारी नभएको आरोप खेपिरहने बाजुरा जिल्ला अस्पतालमा यतिबेला १० जना डाक्टर कार्यरत छन्। कार्यरत १० जना मध्ये ३ जना विशेषज्ञ डाक्टर छन्। अस्पताल स्थापना पछि यति ठूलो संख्यामा एकसाथ डाक्टर कार्यरत रहेको बाजुरा अस्पतालमा पहिलो पटक हो।

दुर्गम जिल्लाका अस्पतालमा एमबीबीएस डाक्टर आउन नमान्ने, आएपनि सेवाका लागि लामो समय नबस्ने र बसेकाहरुका लागि स्थानीय स्तरबाट वातावरण नहुने आरोप लाग्दै आएको थियो। यो पटक विगतको आरोप चिर्न पनि डाक्टरको उपस्थितिले सफल भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।

केही महिना अघि मात्रै एमडीजीपी डाक्टरलाई सेवा गर्न नदिएको, कार्यालय प्रमुख बन्ने रहरले बाध्य भएर जिल्ला बाहिर पठाएको आरोप व्यवस्थापन समितिलाई लागेको थियो।  दुर्गम जिल्लाको अस्पतालमा तीन जना विशषेज्ञ डाक्टर बस्नु र नियमित सेवा दिनुलाई अस्पतालले व्यवस्थापन समितिले उपलब्धीका रुपमा लिएको छ भने विरामीका लागि ठूलो राहत मिलेको छ।

अस्पतालले हाल हाडजोर्नी, स्त्रीरोग र जनरल विशेषज्ञ तहको उपचार सेवा प्रवाह गरिरहेको छ। हाडजोर्नीकै समस्या देखिएका ३० जना बढीको उपचार बाजुरा अस्पतालमै भइसकेको कार्यालय प्रमुख डाक्टर मिलनकुमार जोशीले बताए। सानो सेवा ठूलो उपचार खर्च बेहोर्नु पर्ने समस्या विशषेज्ञ सेवा सञ्चालन पछि हटेको कार्यालय प्रमुख जोशीको भनाइ छ।

अस्पतालमा डा. रोशन भट्टाराइ अर्थोपेटिक, डा. सुनिल कुमार शाह स्त्रीरोग विशेषज्ञ र डा. नविन कुमार जनरल सेवा तर्फका एमडीजीपी रहेका छन्। पाठेघरसँग सम्बन्धी समस्या भएका दैनिक जसो विरामीको उपचार बाजुरा जिल्ला अस्पतालमै भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए। 

अध्यक्ष कार्कीले भने,'डाक्टर नै नभएको, विशेषज्ञ डाक्टर ल्याउन नसकेको, आएकालाई समेत पठाएको भन्ने आरोप लाग्यो, धेरै मेहनत पछि सेवा प्रवाहका लागि १० जना डाक्टर सेवारत हुने वातावरण बनेको छ, अब यसैको निरन्तरता दिनेमा प्रतिवद्ध भएर लाग्छ।'

अस्पतालमा स्त्रीरोग र नशारोगको उपचार तीन महिनादेखि हुदै आएको छ। दुर्गम जिल्लाका महिलाहरु पछिल्लो समय यौनजन्य रोग र पाठेघरको समस्या बढी भोग्न बाध्य छन्।

अस्पतालमा हाडजोर्नि तथा नसारोग सम्वन्धिका ४/५ जना विरामीहरु दैनिक जसो आउने गरेका छन्। आएका अधिकांशको सफल शल्यक्रिया हुने गरेको विशषेज्ञ डाक्टर रोशन भट्टाराईले। जिल्ला बाहिर गर्दा ठूलो खर्च लाग्ने गर्छ, भाडादेखि बसाइ र उपचार सेवा पनि तिर्नु पर्ने हुन्छ, अस्पतालकै श्रोत साधन प्रयोग गरेर सेवा दिँदा विरामीलाई सहज भएको डा.भट्टाराईको भनाइ छ।

सेवा सुचारु हुनु भन्दा पहिला जिल्ला बाहिर गरिएका जटिल अप्रेशनका रडहरू निकाल्ने काम पनि अहिले बाजुरा अस्पतालमा भइरहेको छ। विशेषज्ञसहित सेवाका लागि अस्पतालमा सेवारत १० जना मध्ये सबै करारका हुन्। ती मध्ये कार्यालय प्रमुख डाक्टर मिलनकुमार जोशी छात्रवृत्ति सेवा करारमा छन्। प्रदेश सरकारले छात्तवृत्ती सेवा करारलाई पनि कार्यालय प्रमुखको जिम्मेवारी दिने निर्णय पछि जोशीले जिम्मेवारी पाएका हुन्। बाजुरामा स्थायी डाक्टर भने डाक्टर रुपचन्द्र विश्वकर्मा गइसकेपछि पाएको छैन्। जिल्लामा २ जना एमबीबीएस डाक्टरको दरबन्दी छ।

प्रकाशित: २१ जेष्ठ २०८० १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App