८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालमा एमआरआईको पालो दुई सातापछि !

फाइल तस्बिर

सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कुर्नुपरेको पाइएको छ। चौबिसै घन्टा सेवा दिइरहेकोमा क्षमताभन्दा बढीको एमआरआई गर्नुपर्ने र एउटा मात्र एमआरआई मेसिन सञ्चालन भएकाले दुई साता पालो कुर्नुपर्ने बाध्यता रहेको वीर अस्पतालका उपसचिव सागर मिश्रले बताए।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर र वीरमा उपचारमा पुगेका बिरामीमध्येबाट एमआरआइ गर्नुपर्ने बिरामीका लागि यही एउटा मेसिनका भरमा एमआरआई गर्नुपर्ने बाध्यताले दुई साता पालो कुर्नुपरेको उपसचिव मिश्रको भनाइ छ। वीर अस्पताल रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माका अनुसार वीरमा रहेको एमआरआई सातै दिन सेवा दिइरहेको भए पनि बिरामीको चापअनुसार एमआरआई मेसिनको संख्या कम भएकाले बिरामीले कठिनाइ झेल्नुपरेको हो। वीरमा बिहान ८ बजेदेखि रातको १० बजे र शनिबारसमेत एमआरआई सेवा दिइरहेको छ। यो हिसाबले दैैनिक २५ देखि ३० जनालाई सेवा दिइरहेको छ। एमआरआईमा रोगको गम्भीरताअनुसार एक बिरामीको आधादेखि दुई घन्टासम्म लाग्ने हुनाले आएका जति सबै बिरामीको एमआरआई एकै दिन सम्भव हुँदैन।

रेडियोलोजी विभागका प्रमुख डा. शर्माका अनुसार नसा, हाडजोर्नीको चोटपटक, टाउकोको चेटपटक र नशाको समस्या, क्यान्सर पत्ता लगाउन एमआरआई गरिन्छ। एमआरआई गर्दा लामो समय पर्खनुपरेमा समयमै रिपोर्ट अभावमा उपचार पनि ढिलाइ हुने डा. शर्मा बताउँछन्। ‘ढिलाइका कारण बिरामीले दुःख पाएका हुन्छन् र उपचारै ढिलो हुन्छ’, उनले भने। तर अस्पतालका उपसचिव मिश्र भने आकस्मिक बिरामीका हकमा छिटो पालोको व्यवस्थापन गरेको दाबी गरे।

ट्रमा सेन्टरका लागि भनेर खरिद गरिएको एमआरआई मेसिनको विषयमा अख्तियारमा उजुरी परेपछि छानबिन प्रक्रियामै रहेर ६ महिनाभन्दा बढी समय बितिसकेको मिश्रले बताए। टेन्डर प्रक्रियामा नपरेका कम्पनीबाटै उजुरी पर्दा नयाँ मेसिन आयो कि उजुरी झेल्नुपर्ने बाध्यता पुरानै रहेको उनले बताए। ट्रमा सेन्टरको एमआरआई सञ्चालनमा आउने हो भने अहिलेको चाप कम गर्न सकिने मिश्र बताउँछन्। तर रेडियोलोजी विभागका प्रमुख डा. झा भने सर्वसुलभ छिटो सेवाका लागि ट्रमामा एउटा र वीर अस्पतालमा दुईवटा एमआरआई मेसिन सञ्चालन हुनुपर्ने बताउँछन्। 

प्रकाशित: २० जेष्ठ २०८० ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App