६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह

सुरक्षित गर्भपतन सेवा बारे छलफल गर्दै चौरपाटी ७ का आमाहरु।फोटो: नागरिक।

अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।श्रीमानले समेत छोरा अनिवार्य पाउनु पर्ने जिद्दी गरिरहे। उसोत बोगटीलाई छोरा पाउने चाहना नभएको होइन्।

चौथो सन्तान पाउन राजि भईन्। र छोरा जन्माइन्। घरका सबै खुसी भए। श्रीमान छोरा पाएको महिना दिन नबित्दै कामका लागि भारत लागे। घरमा बोगटीले जेनतेन सन्तान हुकाईन्। ६ महिना पुग्दा भात चखाउन अर्थात पास्नीका लागि बोगटीले भारत गएका श्रीमान बोलाईन्।  

त्यो बेलासम्म बोगटी गाउँको यौन तथा प्रजजन स्वास्थ्य सम्बन्धी छलफल समूह अर्थात स्वास्थ्य आमा समूहमा सदस्य बनिसकेकी थिइन्। महिनाको दुई दिन यौन तथा प्रजजन स्वास्थ्य, परिवार नियोजन, पोषणयुक्त खाना, नियमित गर्भ जाँच र सुरक्षित गर्भपतन सेवा बारे अनिवार्य छलफल हुन्थ्यो।  

छोराको पास्नीका लागि बोगटीका श्रीमान पनि घर आए। करिब २ महिना लामो समयसँगै बसे। श्रीमान साथमा बसेपछि बोगटी फेरि बच्चा पाउने भईन्। चार सन्तान पाउँदा अस्वस्थ्य बनेको शरिर त्यसैमा पनि ८ महिना पुरा नभएको सन्तानका बीच पेटमा बच्चा बसेपछि श्रीमान स्वयम तनाबमा भए। बोगटीका श्रीमानलाई साथी भाइहरुले पनि कति बच्चा पाउने हो, भनेर गिज्याउन थाले।  

तर बोगटीलाई कुनै तनाब भएन्, बरु उनले घर परिवार र श्रीमानलाई सम्झाइन्। नजिकैको स्वास्थ्य संस्थामा १० हप्तासम्मको बच्चालाई सुरक्षित गर्भपतन गराउने सुविधा भएको जानकारी गराईन्। छलफल समूहमा सदस्य भएपछि ८ महिनामै अर्को गर्भबस्दा पनि सहज भएको अनुभव बोगटीले सुनाउने गरेकी छन्।

बोगटीले मार्कु स्वास्थ्य चौकीमा गर्भपतन गराएकी हुन्। उनको जस्तै समस्या चौरपाटी गाउँपालिका २ की विर्मला साउँद (नाम परिर्वतन) लाई पनि भयो। पञ्जावमा बस्ने श्रीमान घर फर्किए, उनीसँग तीन सन्तान भइसकेका थिए। सँगै बस्दा श्रीमानले कुनै परिवार नियोजनको साधान प्रयोग गरेनन्, र पेटमा बच्चा बस्यो।

भएकालाई पालन पोषण गर्न गाह्रो भइरहेको अवस्थामा फेरि थपिए झन समस्या हुने भएपछि उनीहरु गर्भपतन गराउने मनस्थितिमा पुगेँ, तर कहाँ गराउने भन्नेमा विर्मलाका श्रीमान तनाबमा भए। मंगलसेन जाने की, बयालगडा अस्पताल जाने दोधारमा थिए। श्रीमतिलाई सोधे के गर्ने होला, खर्च पनि हुने, समय पनि लाग्ने अनि कहाँ गयौं भन्ने होला, घर परिवार र साथीहरुलाई श्रीमातिसँग सोध्न थाले।  

छलफल समूहमा बसेर सुरक्षित गर्भपतन सेवा बारे जानकारी पाएकी विर्मलालाई कुनै तनाब थिएन्। उल्टै हजुरले बच्चा चाहिदैन्, भन्नु हुन्छ, भने चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्रमै सेवा पाईन्छ, भोलि नै जाउँ भन्ने सल्लाह दिएँ, र सुरक्षित गर्भपतन गराएँ, साउँदले भनिन्। यी प्रतिनिधी पात्र मात्रै हुन्। गाउँमा धेरै आमाहरुले आफूलाई आइपर्ने समस्या छलफल समूहकै सिकाइबाट टार्ने गरेका छन्।

असुरक्षित गर्भपतनको जोखिम घटाउन पालिका भन्दा बढीस्वयम यौन तथा प्रजजन स्वास्थ्य सम्बन्धी छलफल समूह सक्रिय देखिए चौरपाटी गाउँपालिका स्वास्थ्य शाखा संयोजक खेम बोगटीको बुझाई छ। पीसविन र आइपासले गाउँमा गठन गरेका छलफल समूहमै भएको छलफलबाट धेरै आमाहरुले सुरक्षित गर्भपतन सेवा लिने गरेको बोगटीको भनाई छ।

चौरपाटी मै वर्षेनी २ सय ५० बढीले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन्। सुरक्षित गर्भपतन सेवाका लागि बाजुरामा २१ र अछाममा २० बढी स्वास्थ्य संस्था सूचीकृत छन्। पालिकाका तर्फबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि स्वास्थ्य कर्मीलाई तालिम समेत दिने गरिएको छ। सुदूरपश्चिम प्रदेशका दुई पहाडी जिल्ला अछाम र बाजुराको तथ्याकं मात्र हेर्दा ३ हजार बढीले वर्षमा सुरक्षित गर्भपतन सेवा लिने गरेको देखिन्छ।

बाजुरा जिल्ला अस्पतालमा महिनामा ३० बढीले सेवा लिने गरेको स्टाफ नर्स निशा रोकायाले जानकारी दिएकी छन्। जिल्ला अस्पतालमा मात्रै ४ सयको संख्यामा सेवा लिएको तथ्याकं रहेको निरा रोकायाको भनाई छ। पहिला लजाउने, स्वास्थ्य संस्था नआउने अवैध रुपमा औषधी किनेर खाने अवस्था थियो, पछिल्लो समय गाउँमा महिलाहरु बीच नै छलफल कुराकानी हुन थालेपछि सेवा लिन आउनेको संख्या उल्लेख्य वृद्धि भएको छ।

तर उही व्यक्ति धेरै पटक दोहोरीएको देखिन्छ, त्यसले स्वयमको स्वास्थ्य असर पर्ने हुनाले गर्भपतन सेवाको सचेतनासँगै परिवार नियोजनमा समेत ध्यान दिने विषयलाई समावेश गर्नु पर्ने सुझाव निशा रोकाया छ। आमा समूहहरुले राम्रो काम गरेका छन्, आमाहरुको स्वास्थ्य सँगै पैसाको पनि बचन भएको छ, तर उही व्यक्तिले पटक पटक सेवा लिँदा आमाको स्वास्थ्यमा हुने जोखिमबारे पनि सचेत पार्न आवश्यक छ, निशाले थपिन्।

गाउँ होस् वा शहर बजार जहाँभएपनि गर्भपतन गराउने चलन नयाँ होइन्। पहिलादेखि नै अवैध र इच्छा विपरित बसेको गर्भ तुहाउने वा पतन गर्ने चयन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा हुने चलन कम हुदै गएको बाजुरा जिल्ला अस्पतालका सूचना अधिकारी नृप गिरीले बताएका छन्।

समाजको गलत सोच, अशिक्षा र अन्धविश्वास प्रमुख कारण बन्यो। जुन समस्याले यहाँका महिलाहरुको स्वास्थ्यमा जोखिम बढ्यो, कयैले ज्यान गुमाउनु पर्ने बाध्यता भयो र आर्थिक रपमा समेत ठूलो नोक्सानी बेहोर्नु पर्यो। अब त्यो अवस्था रहेन्, धेरै जनाले सेवा बारे राम्रो ज्ञान पाउने गरेको चौरपार्टी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल समूहकी सदस्य सेतु बोगटीले बताइन्।

पछिल्लो केही वर्ष यता भने यहाँका महिलाहरुमा सोच नै फेरिएको अवस्था छ। सुरक्षित गर्भपतन सेवाका लागि स्वास्थ्य संस्था जान आफू मात्र तयार छैनन्, अरुलाई समेत सचेत गराउने र सहयोग गर्ने गरेका छन्। गाउँमा रहेका स्वास्थ्य आमा समूहरुले नै सुरक्षित गर्भपतन सेवाबारे जानकारी गराउने गरेको पीसविनकी विकास सहकाय जानकी खत्रीले बताएकी छन्।

हाल टोल टोलमा स्वास्थ्य, पोषण, लैगिंक हिंसा लगायतका विषयमा प्रत्येक महिना छलफल हुने गरेको छ। अछाम र बाजुरामा गरेर मात्रै ३७ बढी आमा समूह छन्। सरकारी निकायका तर्फबाट पनि गाउँ टोलमा स्वास्थ्य आमा समूह गठन गरेर छलफल कक्षा सञ्चालन हुने गरेका छन्। यस्ता गतिविधीले कयै आमाका ज्यान सुरक्षित भएको भन्नु हुन्छ, बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया कुँवर।

गर्भपतन गराउने कुरा यहाँको समाजमा लाजको विषय हो, भन्ने मान्यता थियो। सबैलाई जानकारी गराउनु हुदैन्, गोप्य रुपमा जति पीडा भएपनि थाहै नदिने गरि समाधान गर्नु पर्ने परम्परावादी सोचमा समेत परिर्वतन आएको कुँवरले थपिन्।अवैध सम्बन्ध वा नचाहेरै गर्भ बसेको अवस्थामा यहाँका समाजमा वैद्यकहाँ लिने, पुरानो शैलीमा गर्भपतन गराउने र गर्ने अवस्थाको नै अन्त्य भएको बाजुरा जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन्।  

१० देखि २८ हप्तासम्मको गर्भ पतन गराउने सुविधा राज्यले कानुनी रुपमा दिएको छ। तर अशिक्षा, अज्ञानता र अन्धविश्वासका कारण महिलाहरुले लाजले अवैध बाटो नै प्रयोग गर्ने अवस्था पूर्ण रुपमा सकिएको छैन्। तरपनि धेरै कम भएको देखिन्छ। आर्थिक नोक्सानी, ज्यानको जोखिमको दृष्टीकोणमा सुरक्षित गर्भपतन सेवाको प्रभावकारीता बढेको छ।  

आमा समूहको बैठक मासिक बस्ने गर्छ। बैठकमा किशोरीहरुलाई पनि बोलाइन्छ। त्यहाँ यौन तथा प्रजजन स्वास्थ्य, परिवार योजना, पोषण शिक्षा र लैगिक हिंसा बारे छलफल हुने गरेको छ। आमा समूहकै सचेतना र छलफलबाट सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको भन्छिन चौरपाटी स्वास्थ्य केन्द्रकी अनमी ललिता बोगटी।  

यही विषयमा सचेतना गराउन पीसविन र आइपासले मात्रै बाजुराको बुढीगंगा र गौमुल अछामको मेल्लेख, चौरपाटी र बान्नीगढी गरि पाँच वटा पालिकामा मात्र ४२ जना सामुदायीक अगुवा राखिएका छन्। दुर्गम क्षेत्रका महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य बारे जानकारी दिनु, सुरक्षित गर्भपतन सेवा बारे जानकार गराउनु र परिवार योजना बारे शिक्षा दिने उदेश्यले राखिएको अछामकी हिउँकला तिमिल्सेनाले बताएकी छन्।

लाज हटाउने, अनेपेक्षित गर्भ रोक्न परिवार नियोजनका साधनको प्रयोग गर्ने र असुरक्षित गर्भपतन सेवा पूर्ण रुपमा रोक्ने नीति परियोजनाले लिएको आइपास र पीसविन सुरक्षित गर्भपतन सेवा परियोजना प्रमुख धर्मबहादुर रोकायाले बताएका छन्।संविधानले नै सुरक्षित गर्भपतन सेवालाई संवैधानिक हकका रुपमा राखेको छ।  

आर्थिक नोक्सानी र ज्यानको ढामाढोल नै हुने गरेको थियो गर्भपतन सेवा सञ्चालन पछि निकै सहज भएको अछाम चौरपाटी गाउँपालिकाकी भावना जोशीले बताएकी छन्।समूहमा खुलेर कुरा गर्ने, एक अर्काका समस्या बताउने र सेवाको प्रभावकारीता, सहजता बारे छलफल हुँदा धेरै कुरा जानकारी पाएको बान्नीगढी गाउँपालिकाका विनिता साउँदको भनाई छ। साउँद स्वयमले नै आमा समूहकै परामर्शमा स्वास्थ्य संस्थामा गएर गर्भपतन गराएको बताइन्।

जंगलको जुडीबुटी प्रयोग गर्नु परेन, धनगढी, नेपालगंज र भारतको पलिया गएर पनि आर्थिक नोक्सानी गर्नु परेन्, घर नजिकै सेवा आउँदा खुसी लागेको साउँदले थपिन्।  महिलाले महिलालाई आफ्नो कुरा सुनाउन लाज पनि भएन्, आमा समूहको छलफलबाट धेरैका ज्यान बच्याका छन्, आर्थिक घाटा बेहोर्नु परेको छैन्, रिमा विकल बताईन्।

श्रीमानलाई नसोधेरै पनि समस्या हल गर्ने अवस्था आमा समूहको परामर्शबाट भएको देखिन्छ। सहमतिमा बसेको सम्बन्ध बाहेकका समस्या पनि हल हुने अवस्था सुरक्षित गर्भपतन सेवा कार्यक्रमबाट मिलेकोमा महिलाहरु खुसी छन्। पारिवारीक कलह र विवाद समेत मिलेको अवस्था छ।

गर्भ पतन सेवा लिने अवस्था आउन नदिने गरि परामर्श र सचेत गराउने उदेश्यले आमा समूहमा छलफल हुने गरेको छ। पछिल्लो समय अवैध गर्भपतन गराएर समस्या आएको विरामी पनि कमै आउने गरेको तथ्याकं स्वास्थ्य संस्थासँग छ। स्वास्थ्य शिक्षा, सचेतना र आमा समूहको छलफलले नै समाजमा सकारात्मक प्रभाव परेको देखिन्छ।  

प्रकाशित: १२ जेष्ठ २०८० १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App