२२ जेष्ठ २०८० सोमबार
स्वास्थ्य

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्। स्थानियस्तरमा चेतनाको कमी र गरिबीले जिल्लाका अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढदै गएको छ। गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मी बताउँछन्।

जिल्लामा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन्। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ९ सय ३४ जना बालबालिका कुपोषित भेटिएका हुन्। यीमध्ये ३ सय १२ जना कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटेपना बढी देखिएको हो।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यव्रmम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। गत वर्ष भन्दा यो वर्ष कुपोषित बालबालिकाको संख्या बढी भेटिएको छ। गत वर्ष १ हजार २ सय ९९ कुपोषित बालबालिका भेटिएको तथ्यांक छ। पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको हो।

घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। ‘घरमा पाक्ने दाल, भात, तरकारी मात्रै खुवाउछन्’ स्वास्थ्य कार्यालय प्रमुख भट्टले भने, ‘बच्चालाई त्यतिले पुग्दैन, पोषणयुक्त खानेकुरा समयमा नखुवाएकै कारण यस्तो समस्या बढन थालेको छ।’

विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी नै मुख्य कारण देखिएको छ। बिहानबेलुकाको दुई छाक टार्नसमेत समस्या भएपछि पोषिलो खानेकुरा खुवाउन समस्या भएरै नै यस्तो समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। ‘बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जानुपर्छ,’ सिगास गाउँपालिका–६ का पदमबहादुर रोकायाले भने, ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यता छ। पोषिलो खाना खान चाडपर्व फर्कनु पर्छ।’

शारीरिक शक्ति, वृद्धि विकास र सुरक्षाका लागि आवश्यक पोषक तत्वको कमी वा बढी हुनुलाई कुपोषण भनिन्छ। बच्चाको वृद्धि विकास नहुनु, सजिलै रोगको संक्रमण हुनु, रोग निको हुन लामो समय लाग्नु, छाला तथा कपाल सुक्खा देखिनु कुपोषणका प्रमुख चिह्न र लक्षण हुन्।  

जिल्लामा पोषण क्षेत्रमा कार्यरत संघसंस्थाले पोषणबारे चेतना जगाए पनि स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन। पोषण सुधार गर्न बैतडीमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ। स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका छन्। पोषणको बारेमा जानकारी पाएकाहरुले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन।

 

गर्भावस्थामा प्रशस्त पोषिलो खाना, ६ महिनासम्म आमाको मात्रै दुध र त्यसपछि घरमा उपलब्ध खानेकुरालाई मिसाएर सर्वोतम जाउलो (लिटो) बनाउन सकिने अवस्था भए पनि धेरैले यस्तो नगरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले बताए। ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन् बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।

 

 

 

 

प्रकाशित: १० जेष्ठ २०८० १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App