१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमा गर्भवती र नवजात शिशुको अझै ध्यान पुगेन

फाइल तस्वीर

जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्। सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै आइरन चक्की प्रयोग नगरेको पाइएको छ।

गर्भावस्था र सुत्केरी अवस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीे प्रयोग गर्न सुझाउने गरेका छन्। गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने अधिकांशले नियमित आइरन चक्की प्रयोग गर्ने गरे पनि कतिपयले गर्भवती समय घर्किएपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन्।

जनचेतनाको अभाव, हेलचेक्रयाइँर परम्परागत सोचका कारण पनि सबै गर्भवतीले आइरन चक्कीे प्रयोग नगर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए।

‘यो हेलचेक्रयाइँ हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटकपटक सुझाउँदा समेत गर्भवतीले आइरन चक्कीे प्रयोग गर्दैनन्’,उनले भने।

आइरन चक्की मात्रै होइन नियमित गर्भपरीक्षण गर्ने र  भिटामिन ‘ए’ खानेको संख्या पनि कम छ। अठचालिस प्रतिशत गर्भवतीले भिटामिन ‘ए’ प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्यांक छ। ‘विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि चार पटकसम्म जाँच गराउनेको संख्या नै कम छ’ प्रमुख शर्माले भने,‘गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम पाँच प्रतिशतले मात्र आठ पटकसम्म गर्भ जाँच गराएका छन्।’

गर्भावस्थामा मात्रै होइन प्रसूति अवस्थामा समेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ। सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ। तर, तोकिएबमोजिम सुत्केरी अवस्थामा पनि गर्नुपर्ने जाँच नहुने गरेको तथ्यांक छ। जिल्लाभर सुत्केरी अवस्थामा गर्भ जाँच गराउनेकोे संख्या ३० प्रतिशत मात्रै छ।

‘बच्चा जन्मेको २४ घण्टामा पहिलोपटक, तीन दिन र सात दिनमा एकएक पटक तथा ४५ दिन सम्ममा एकपटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनैपर्छ, तर पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकैपटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्’, धौलागिरि अस्पतालका स्त्रीरोग विषेशज्ञ डा. विजय ओझाले भने, ‘बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तस्राव हुने र पाठेघर नखुम्चिने समस्या आउन सक्छन् तर समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ।’

जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कैयौं राम्रा काम गरिरहेका छन्। स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा संघीय सरकारका कार्यक्रम हुँदाहुँदै पनि नागरिक तहमा रहेको हेलचेक्रयाइँले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने गरेको छ। जिल्लामा शतप्रतिशत स्वास्थ संस्थामै सुत्केरी हुने गरे पनि स्वास्थ्यका मापदण्ड पालनमा थुप्रै चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको विषयमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा हुनुपर्नेमा सम्बद्ध चिकित्सकको सुझाव छ।

प्रकाशित: २८ वैशाख २०८० ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App