६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

‘अधिकांश महिला लुकाउँछन् पाठेघरको समस्या’

म्याग्दीको धवलागिरी गाउँपालिका– ६ राम्चे मराङकी ७० वर्षीया तुलुमा विकले पहिलोपटक पाठेघरको चेकजाँच गरिन्। उमेरले डाँडो काटेको यो अवस्थामा आइपुगेपछि विकजस्तै ६५ वर्षीया चैमती विक र ६८ वर्षीया पार्वती विकले समेत पहिलोपटक पाठेघरका बारेमा जानकारी पाइन्। महिनावारी सुकेको धेरै वर्ष भए पनि पाठेघरको सुरक्षा आवश्यकता रहेको जानकारी पाएपछि म्याग्दीबाट प्रबासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिले पालिकास्तरमा आयोजना गरेको शिविरमा पुगेर चेक जाँच गरेका वृद्धाले आफ्नै शरीरका अंगका बारेमा चिन्न नसकेको बताएका थिए। ‘पाठेघरको महत्व धेरै हुने रहेछ, ‘बुढेसकालमा आएर थाहा पाइयो’, दिलमाया विकले भनिन्।

करिब ३ घन्टाको पैदलयात्रा गरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा आयोजित शिविरमा पुगेकी दिलमायाले पाठेघरका बारेमा चिकित्सकबाट थाहा पाएपछि आनन्द महसुस भएको बताइन्। ‘सन्तानको स्थायी घर पो रहेछ, यो थाहा पाउन मैले ५० वर्ष पूरा हुनुपर्ने कस्तो ठाउँमा जन्मिएछु’, विकले भनिन्। जिल्लाका ग्रामीण क्षेत्रमा धेरै महिला स्वास्थ्यको पहुँचबाट बाहिर छन्। स्वास्थ्य चौकीभन्दा टाढा रहेका बस्तीका महिलाले आफ्नो समस्या लुकाउने गरेका छन्।

पाठेघर र स्तन क्यान्सरसम्बन्धी चेकजाँच गर्ने शिविरमा आएकी मालिका–२ खवाङकी फोनमाया बुढाथोकीले पाठेघरको सुरक्षाका बारेमा ग्रामीण क्षेत्रका विपन्न र अशिक्षित महिलालाई जानकारी नै नभएको बताइन्। ‘पाठेघरको महत्व धेरै छ। यसका बारेमा मात्रै जानकारी भए जोगाउन उनीहरू सचेत हुन्छन्’, बुढाथोकीले भनिन्। प्रबासी म्याग्देलीले बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा आयोजना गरिएको शिविरमा चेकजाँचका लागि आएकाले जनचेतनाको अभावका कारण रोग पहिचान गर्न नसकेको भन्दै गुनासो गरेका थिए। हरेक स्थानीय तहमा दुईदिने स्तन तथा पाठेघरसम्बन्धी शिविरमा भिआइए विधिबाट १७ सय ३३ महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेकामा १ सय ८७ जनाको रिजल्ट पोजेटिभ देखिएको मोना अन्तर्राष्ट्रियका सचिव सुबोध बरुवालले बताए। उनका अनुसार १७ महिलाको स्तनमा गिर्खा भेटिएको थियो। शिविरमा आएका महिलाको चेकजाँचका क्रममा पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गनाउने पानी बग्ने, पाठेघरको संक्रमणजस्ता समस्या पहिचान काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा डा. किशोरकुमार प्रधानांगले बताए।

उनका अनुसार जनचेतना, अशिक्षा र विभिन्न कारणले सहरबजारदेखि ग्रामीण क्षेत्रका महिला पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग जुधिरहेका छन्। ‘ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या विकराल छ। महिलाका समस्याका बारेमा पुरुषले समेत बेवास्ता गर्दा दुर्गम भेगका महिला निकै प्रताडित छन्’, डा. प्रधानांगले भने। उनका अनुसार धेरै सन्तान जन्माउँदा, कम अवधिमै अर्को बच्चा पाउँदा, असुरक्षित तवरले सुत्केरी हुँदा र सुत्केरी अवस्थामा आराम नपाउँदा पनि पाठेघर खस्ने समस्या देखिन्छ। पाठेघरका बारेमा महिलाले समेत पति तथा समाजबाट अपहेलित हुनुपर्ने त्रासले लुकाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। मोना अन्तर्राष्ट्रियका अध्यक्ष अम्मर छन्त्यालले मोनामार्फत जिल्लामा आयोजित शिविरबाट महिलाको रोग पहिचान भएको बताए। उनले आगामी दिनमा समेत जिल्लास्तरमा स्वास्थ्य शिविरमार्फत रोग लुकाउन बाध्य भएकाको पहिचान गरी उपचार गर्ने बताए।

‘पाठेघर जोगाउन पुरुषको पनि त्यति नै भूमिका हुन्छ’

मालिका गाउँपालिका– ६ दिच्यामकी रीताकुमारी निउरेले महिलाले पाठेघरको सुरक्षामा आफ्नोभन्दा ठूलो भूमिका पतिको समेत हुने बताइन्। महिलाले पाठेघरको सुरक्षा तथा नियमित उपचारका लागि पुरुषबाट हुनुपर्ने सहयोग र साथ भएमा अधिकांश महिला यो समस्याबाट मुक्त हुने उनको भनाइ छ। ‘पुरुषको साथ पाएर नियमित चेकजाँचसहित सचेतनामूलक कार्यक्रम गर्न सकेमा पाठेघर जोगाउन सकिन्छ। पाठेघरका बारेमा पुरुषले समेत चासो नदेखाउँदा अहिले रोगको घर बनेको छ’, निउरेले भनिन्। सृष्टिको उद्गम विन्दु अथवा महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तन सुरक्षामा हेल्चेक््रयाइँमा पुरुषको समेत दोष रहेको उनले बताइन्। महिनावारी सुक्ने उमेर भए पनि अनभिज्ञता र सुकिसकेको समेत जानकारी नहुनु र त्यसपछिका बारेमा चिन्ता चिकित्सक टोलीसँग गरेकाले यसमा अशिक्षित महिलाभन्दा पनि पुरुषको कमजोरी र बेवास्तासमेत प्रमुख कारण रहेको देखिन्छ।

पाठेघरको परीक्षण अनिवार्य गर्नुपर्छ भन्ने ग्रामीण क्षेत्रका करिब धेरै महिलालाई जानकारी नै छैन भने पुरुषले यो विषय आफ्नी पत्नीको सुरक्षाको विषय नै नबनाउने गरेको महिलाको गुनासो छ। पाठेघरको समस्या पहिचान भएका महिलाले घरपरिवारका सदस्यलाई समेत खुलेर जानकारी गराउँदैनन् भने पाठेघर खस्नुलाई अझै लाजको विषय बनाउनुपरेको महिलाको भनाइ छ। ‘पाठेघर खस्नु सामान्य हो। उपचार गरे सजिलै निको हुन्छ’ भन्ने जानकारी थिएन। घरमै सुत्केरी हुने महिलामा यो समस्या धेरै छ’, मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले भनिन्। पाठेघरको मुखको क्यान्सर र स्तनमा देखिने समस्या रोकथाम गर्न सकिने भएकाले स्क्रिनिङ परीक्षणका लागि पालिकाले अब योजना बनाउनुपर्ने उनले बताइन्। स्क्रिनिङ टेस्टका कारण पाठेघरको मुखको क्यान्सरले हुने मृत्युमा ५० प्रतिशत कमी आएको छ।

प्रकाशित: १९ वैशाख २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App