१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

हिमाली जिल्लामा हात्तीपाइले रोगको सर्वेक्षण सुरु

जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको छ। हिमाली क्षेत्रका जिल्लामा हात्तीपाइले रोगको अवस्थाका विषयमा थाहा पाउन सर्वेक्षण सुरु गरिएको हो।

किटजन्य रोग अनुसन्धान तथा तालिका केन्द्र हेटौडाले ४ देखी ८ कक्षामा अध्ययनरत छात्र छात्राहरूमा नमुनाको रुपमा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरेको हो। कक्षा ४ देखी ८ का छात्र छात्राहरु अधिकतम ९ देखी १४ वर्ष उमेर समूहका हुन्छन्। यसले नयाँ संक्रमण भए नभएको मापन गर्न सजिलो हुने भएकाले उनीहरूको सर्वेक्षण गरिने किटजन्य रोग अनुसन्धान तथा तालिका केन्द्र हेटौडाका भेक्टर कन्टोल अधिकृत कुमार प्रसाद पौडेलले बताए।

हाल हिमाली जिल्ला कालिकोट, जुम्ला, मुगु र हुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै छ। जसमा जुम्लाका ३२ वटा विद्यालयमा गरिने योजना अनुसार शुक्रबार गुठीचौर गाउँपालिकाको सत्यावती मावि, हिम शिखर मा.वि, तिलाको जनजागृति मा.वि सिञ्जा, कनकासुन्दरीका ४ विद्यालयमा सर्वेक्षण गरिएको छ।

पहिलो दिन ६० जना बालबालिकाको रक्त जाँच गरेर नमुना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको उनले बताए।

एक विद्यालयका १६ जना बालबालिकालाई जाँच गरी जिल्ला भरका ४ सय ८० जनालाई जाँच गरिने लक्ष्य रहेको छ। जुम्लाका आठ वटै स्थानीय तहकालाई समेटिने गरी सामुदायिक विद्यालयका अध्ययनरत बालबालिकामा जाँच गरिँदै छ।

किटजन्य रोग अनुसन्धान तथा तालिका केन्द्रका निर्देशक केशव राज पण्डितका अनुसार हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ। क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ।

मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरू देखिन्छन्। लक्षण देखिइसकेपछि रोग निको पार्न सकिँदैन। उनले देशका ६४ जिल्लामा हात्ती पाईले रोगको औषधी सुरु गरिएकोमा पछिल्लो समय ४९ जिल्लामा रोकिएको छ। यस रोगको न्यूनीकरण अभियानमा हिमाली जिल्लाको अवस्था के छ भनेर पूर्वको रसुवा लगायतका जिल्लामा यस अघि जाँच गरिएकोमा रसुवामा पोजेटिभ देखिएको उनले बताए।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधी सेवन कार्यक्रममा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरूलाई पनि गर्न लगाउने कार्य अगाडी बढाएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिका केन्द्र हेटौडाले सर्वेक्षण अभियानको विषयमा जुम्लामा सरोकारवाला निकायलाई अभिमुखीकरण समेत गरेको छ।

प्रकाशित: १६ वैशाख २०८० १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App