७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

‘हामी तपाईंको समस्या समाधान गर्छौं। नो प्रोब्लम। हामी सहयोग गर्न सक्छौं।’ बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिङ्टनलाई चिकित्सकले दिएको आश्वासन हो यो। ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, ‘तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ।’

जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोग ‘पोलिसिस्टिक ओभारियन सिन्ड्रोम’ छ। यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन्। प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शूक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो। जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो।

चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन्। ‘मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए। चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन्। चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए,’ जेनिफरले भनिन्।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो। एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो। ‘म क्रमशः संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ,’ सियारन भन्छन्।

कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ। पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ। महिला बाँझोपनको विषयमा जति बहस र छलफल हुन्छ त्यति पुरुष बाँझोपनबारे हुँदैन। सामाजिक तथा सांस्कृतिक लाञ्छना लाग्ने डरले पुरुष बाँझोपनबारे कम छलफल भएको हो। प्रजनन क्षमतासम्बन्धी समस्या भएका धेरैजसो पुरुषले मौन हिसाबले आफ्नो पीडा झेलिरहेका हुन्छन्। अनुसन्धानले यो समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।

प्रजनन संकट

विगत शताब्दीमा विश्वको जनसंख्या नाटकीय हिसाबले बढ्यो। ७० वर्षअघिसम्म विश्वको जनसंख्या साढे २ अर्ब थियो। सन् २०२२ मा यो ८ अर्ब पुगेको छ। तर सामाजिक तथा आर्थिक कारणले पछिला वर्षमा जनसंख्या वृद्धिदर घट्दो छ। विश्वभर जन्मदर रेकर्ड स्तरमा घटेको छ। हाल विश्वको ५० प्रतिशत जनसंख्याको हिस्सा भएका देशका महिलाले दुईभन्दा कम बच्चा जन्माउँछन्।

 बसाइँसराइका कारण जनसंख्या नथपिएको अवस्थामा यी देशको जनसंख्या क्रमश संकुचित हुँदै गएको छ। जन्मदरमा आएको यो ह्रासको सकारात्मक पक्ष पनि छ। महिला वित्तीय रूपमा सशक्त हुँदै गएको र प्रजनन स्वास्थ्यबारे पनि बढी सचेत भएकाले उनीहरू धेरै सन्तान जन्माउन चाहँदैनन्।  तर अर्काेतर्फ कम प्रजनन दर रहेका देशका जोडीले धेरै सन्तान जन्माउन चाहे पनि आर्थिक र सामाजिक कारण तथा पारिवारिक सहयोग अभावमा त्यसो गर्न सक्दैनन्। यसैगरी प्रजनन उर्बरताका लागि पुरुषको शारीरिक क्षमताले पनि उत्तिकै प्रभाव पारेको हुन्छ। विशेषगरी शुक्रकीट संख्यामा ह्रास, टेस्टोस्टेरोन हर्मनको कमजोर स्तर, इरेक्टाइल डिस्फङ्सन र टेस्टिकुलर क्यान्सरलगायत कारणले पुरुष प्रजनन क्षमता प्रभावित हुन्छ।

पौड्न सक्ने कोष

‘शुक्रकीट उत्कृष्ट कोषिकाहरू हुन्। अत्यन्त सानो आकारमा यी शुक्राणुहरू अर्काे शरीरमा पनि बाँच्न सक्छन। अन्य कोषिकाहरूले यसो गर्न सक्दैनन। यी बिशिष्टकृत क्षमताका हुन्छन्,’ स्कटल्यान्डमा रहेको डुन्डे विश्वविद्यालयकी क्लिनिकल रिडर तथा स्त्रीरोग विशेषज्ञ सराह मार्टिन्स भन्छिन्।

यी कोषिकामा सामान्य परिवर्तन आउदा यिनको डिम्बलाई सेचन गर्ने क्षमता प्रभाव हुने गर्दछ। यी कोषिकाहरूको पौडन सक्ने क्षमता, आकार, संख्याले प्रजनन क्षमतालाई निर्धारण गर्ने भएकाले पुरुषको प्रजनन क्षमता परिक्षण गर्दा यी पक्षहरूको जाँच गरिने चिकित्सक बताउछन्। ‘प्रतिमिलिलिटर विर्यमा ४ करोड भन्दा थोरै शुक्राणु भएमा प्रजननजन्य समस्या देखिन थाल्छ,’ जेरुसलमस्थित हेब्रु विश्वविद्यालयक प्राध्यापक हगाई लेभिन भन्छन्। उनी यो सिमाभन्दा कम शुक्राणु भएको अवस्थामा गर्भ रहने संभावना अत्यन्त न्यून हुने बताउछन।

लेभिन र अन्य अनुसन्धानकर्ताले सन् २०२२मा प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनका अनुसार सन् १९७३ देखि सन् २०१८सम्म हरेक बर्ष शुक्रकटीको संख्यामा १.२ प्रतिशतले हस आएको देखाएको थियो। सन् १९७३ मा सालाखाला प्रतिमिलिलिटर विर्यमा १० करोड ४०लाख शुक्राणु रहेकोमा सन् २०१८ सम्म आइपुग्दा यो घटेर ४ करोड ९० लाखमा झरेकोछ। सन् २००० यता, शुक्रकीटको संख्यामा २.६ प्रतिशतले हस आएका अनुसन्धानले देखाएको छ।

जनस्वास्थ्य संकट

हेब्रु विश्वविद्यालयकका प्राध्यापक लेभिन वातावरणीय तथा जीवनशैलीका कारण यो परिवर्तन वंशाणुको तहमा पुग्ने र यसले झन् ठुलो समस्या निम्त्याउने तर्क गर्छिन। ‘यो समस्याले धेरै पिढीलाई सताउने संकेत देखिएको छ,’ प्राध्यापक लेभिन भन्छन्। ‘पुरुष अथवा समग्र मानवजातिको कमजोर स्वास्थ्यका कारण शुक्राणुको संख्यामा हस आएकाले यो जनस्वास्थ्य संकट हो र यसलाई उल्टाउन सकिने अथवा नसिकिने हो भन्ने बिषयमा अझै केही भन्न सकिन्न’, उनी थप्छन्।

पछिल्ला अध्ययनले मानवीय आनीवानी भन्दा पनि वातावरणमा रहेको विषाक्त प्रदुषणले प्रजनन क्षमतामा हस आएको देखाएका छन्।

बिषाक्त विश्व

वेलायतको नोटिङघम विश्वविद्यालयककी अनुसन्धानकर्ता रेबेका व्लानचार्डले पुरुष प्रजननमा घरको वातावरणमा पाइने रसायनले पुरुषको प्रजनन क्षमतालाई कसरी प्रभावित पारेको छ भन्ने विषयमा अनुसन्धान गरीरहेकी छिन्। उनका अनुसार प्लाष्टिक, आगो निभाउन प्रयोग गरिने फायर रिर्टारडेन्ट तथा अन्य घरायशी उपयोगका वस्तुले मानिसका हर्माेन प्रणालीमा असर पार्ने र यसले प्रजनन क्षमतालाई समेत कमजोर पार्ने देखिएको छ।

जलवायु परिवर्तनको प्रभाव

पुरुष प्रजननमा जलवायु परिवर्तनले समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ। विभिन्न जिवजन्तुमा गरिएको अध्ययनले तापक्रमा वृद्धि हुँदा शुक्राणुमा प्रभाव पर्ने देखाएका छन्। तातो हावा र तापक्रममा वृद्धि हुँदा किराहरू र मानवको शुक्राणुमा प्रभाव पार्ने सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ।

यसैगरी कमजोर पोषण, एकाकी जीवनशैली, तनाव, अल्कोहल तथा लागु पदार्थको सेवनले पनि पुरुष प्रजननलाई प्रभाव पार्ने वैज्ञानिक ठान्छन्। विश्वमा हाल उमेर ढल्केपछि सन्तान जन्माउन चाहने प्रवृत्ति बढदो छ। यसले पनि प्रजनन क्षमता कमजोर बनाउने वैज्ञानिक राय छ। यसैगरी नियमित व्यायाम र स्वस्थ्य खानाले पनि सकारात्मक परिणाम दिने चिकित्सक ठान्छन्।

५ बर्षसम्म बाझोपनाको उपचार गराएर आइभिएफ विधी मार्फत दुई सन्तानकी आमा बन्न सफल रहेकी योर्कसायरकी हानिङटन भन्छिन, ‘सबैभन्दा महत्वपुर्ण यो पिडा चुपचाप सहन हुदैन।’

प्रकाशित: १५ चैत्र २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App