१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तपाईंलाई दिनहुँ खोकी लागिरहन्छ ? क्षयरोग हुन सक्छ है !

फाइल तस्बिर

‘तपाईंलाई दिनहुँ खोकी लागिरहन्छ ? कतै क्षयरोग लाग्यो कि ? नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गरिहाल्नुहोस्। ढिला गरे क्षयरोग छिप्पिएर निको नहुन सक्छ।’ नेपालमा क्षयरोगीहरू समयमै उपचार पहुँचमा नपुगेका कारण धेरैले अकालमै ज्यान गुमाउनुपरेको सरोकारवालाले औंल्याएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविनप्रकाश शाहले खोकी मात्र हो भन्दै नजिकको फार्मेसीबाट आफैं औषधी किनेर खाने प्रवृत्तिले क्षयरोगी ढिला गरी थाहा हुने गरेको छ; जतिबेला त्यो बिरामीबाट धेरैलाई क्षयरोग सरिसकेको हुन्छ।

पटकपटक औषधी खाँदा पनि निको नभएमा मात्र उपचारमा पुग्दा क्षयरोग लागेको थाहा हुन्छ। ढिलो थाहा हुँदा उपचार गरे पनि सजिलै निको नहुने डा. शाहले बताए।

ढिलो उपचारमा पुग्दा सजिलै निको हुँदैन नै; क्षयरोगको औषधी पनि पूर्ण मात्रामा ठीक समयमा सेवन नगर्नाले बर्सेनि धेरैको संख्यामा मृत्यु हुने गरेको डा. शाहको भनाइ छ। ‘उपचारमा पुगेकामध्ये धेरैको औषधी प्रतिरोधी समस्याले मृत्यु भइरहेको छ’, उनले भने।  

नेपालम ३२ हजार जनालाई उपचारको दायरामा ल्याउन सकिएको छैन भने प्रतिवर्ष २१ सय जना औषधी प्रतिरोधी क्षयरोगी छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि औषधी प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० वटा देशका सूचीमा नेपाललाई पनि समावेश गरेको छ।

नेपालमा हरेक वर्ष क्षयरोगका कारण मृत्यु भएका १७ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। मृत्यु भएका मध्येमा धेरैजसो ढिला उपचारमा पुग्नु र औषधी प्रतिरोधी क्षयरोगको समस्या कारणले भएको निर्देशक शाहले बताए। औषधी प्रतिरोगी क्षयरोगीको रोग पत्ता लगाई उपचारमा आउन नसक्दा चुनौती बनेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

नेपालमा जनचेतनाको कमीका कारण ढिलो मात्र उपचारमा पुग्ने र औषधी प्रतिरोधी क्षयरोग घट्न नसकेको डा. शाहको भनाइ छ। क्षयरोग नियन्त्रणका लागि सरकारले बर्सेनि अभियान चलाए पनि जनचेतनाको कमी अहिले पनि चुनौती बनेको डा. शाह बताउँछन्। स्थानीय तथा दुर्गम तहका जनताबीच क्षयरोगका बारेमा जनचेतना जगाई प्रभावकारी उपचार सेवा प्रदान गर्न अब स्थानीय सरकारको भूमिका प्रभावकारी हुने उनको सुझाव छ।

तथ्याकंअनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् भने तीमध्येमा ६९ हजार नयाँ बिरामी थपिने गरेका छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०२२ मा विश्वभरि करिब १ करोड ६ लाख मानिस क्षयरोगबाट पीडित बनेका थिए भने सन् २०२१ मा क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको छ।

क्षयरोग नेपालसहित विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा रहे पनि दुई साताभन्दा बढी समय खोकी लागेमा र साँझपख ज्वरो आएमा समयमै स्वास्थ्य संस्थामा पुगेर निःशुल्क उपचार गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले अपिल गरेको छ। ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौ’ भन्ने नारासहित यो वर्ष विश्वभर साताव्यापी विश्व क्षयरोग दिवस मनाइँदै छ।

सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको रणनीतिलाई निर्देशक मान्दै पञ्चवर्षीय रणनीतिक योजना ०७८/०७९ ल्याएको छ। सो नीतिअनुसार सरोकारवाला सबै निकायसँगको सहकार्यमा सर्वव्यापी पहुँचको कार्यक्रम अघि सारेको छ।

प्रयोगशालाको सुदृढीकरण, जिनएक्सपर्ट तथा माइक्रोस्कोपिक केन्द्रको विस्तार, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र, डट्स सेवाको विस्तार गर्ने नीति अघि बढाएको छ। सोअनुसार प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने नीति अगाडि सारेको छ।

प्रकाशित: ९ चैत्र २०७९ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App