coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बिकट पहाडका महिलामा बच्चादानीको समस्या धेरै

बच्चादानी जँजाउन भेला भएका महिलाहरु । तस्विरः महेश्वर चामलिङ राई

दुरदराजका धेरै महिलामा हुने बच्चादानी (पाठेघर) समस्याको उपचार गराउन उदयपुरमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। जिल्लाकै सबभन्दा अग्लो र बिकट भूभागमा पर्ने रौतामाई गाउँपालिका १ को माझखर्कमा गएको शनिबार ‘निःशूल्क स्वास्थ्य शिविर’ आयोजना गरिएको हो।  

रौतामाई गाउँपालिका, वडा नंं १ कार्यालय, जिल्ला अस्पताल, मदन भण्डारी आँखा अस्पताल गाईघाट र मानव अधिकार तथा वातावरण केन्द्र (हुरेन्डेक)को साझेदार संस्था वल्र्ड नेवर्सको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो। शिविरमा स्वास्थ्य परीक्षण गर्ने ४ सय २ जनामध्ये ८० प्रतिशत महिला र जेष्ठ नागरिकमा बच्चादानी खस्ने समस्या बढ्दो पाइएको शिविरमा खटेका चिकित्सक उदयपुर अस्पतालका डा. राहुल रौनियारले बताए।  

फिजिसियन विशेषज्ञ डा. रौनियारका अनुसार शिविरमा जँचाएका १ सय १० जना महिलाको बच्चादानीमा समस्या पाइएको छ। त्यसमध्ये ३ महिलामा जटिल प्रकृतिको समस्या देखिएकाले तत्काल शल्यक्रिया (अप्रशेन) गर्न उनले सुझाएका छन्। अन्य महिलाको पनि बढीजसो बच्चादानीमा रिङप्रेशरी राख्नुपर्ने, बच्चादानीको मुखमा पलाएको मासु तत्काल निकाल्नुपर्ने तथा सफा गर्नुपर्ने अवस्थामा रहेको शिविरमा खट्ने उदयपुर अस्पतालकै अर्का चिकित्सक स्त्रीरोग विशेषज्ञ डा. रितेशराज कर्णले बताए । उनका अनुसार महिलाको बच्चादानीमा रिङप्रेसरी लगाउनुपर्ने अवस्थामा पुगेकाहरु पनि थुप्रै छन्।  

बच्चादानी र आँखा रोगी बिरामीलाई विशेष लक्षित गरी सञ्चालन गरिएको भए पनि शिविरमा अन्य रोगका बिरामीको पनि स्वास्थ्य परीक्षण गराइएको छ।जसमा जेष्ठ नागरिकलाई हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने तथा अन्य उमेर समूह र बालबालिकामा लुतो, घाउ खटिरा लगायत समस्या देखिएको छ। डा. रौनियारका अनुसार शिविरमा फिजिसियनतर्फ १ सय २९ जनाले सेवा लिएका छन् । बच्चादानी र आँखा रोगबाहेक शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, लगायतको सेवा प्रवाह गरिएको छ।  

् बच्चादानी खसेका महिलाको निःशूल्क अप्रेसनका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामिण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइने हुरेन्डेकी कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार महिलाहरुको मुख्य समस्या रहेको बच्चादानीको समयमै उपचार गर्न नसके क्यान्सर जस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम हुने भएकाले शिविर सञ्चालन गरिएको हो ।  

शिविरमा आँखा रोगतर्फ ९९ महिला र ५० पुरुष गरी १ सय ४९ लाभान्वित भएका छन्। जसमध्ये ३७ जनामा मोतियाबिन्दु देखापरेको छ भने ६० जनाको आँखा कमजोर रहेकाले चस्मा लगाउन चिकित्सकले सुझाएको मदन भण्डारी आँखा अस्पतालका कोषाध्यक्ष कुमार घिमिरेले बताए। उनका अनुसार मोतियाबिन्दुको अप्रेशन मदन भण्डारी आँखा अस्पताल गाईघाटकै समन्वयमा हुने व्यवस्था मिलाइएको छ। आँखा कमजोर भएकाहरुलाई वडाध्यक्ष रुद्र कार्कीले व्यक्तिगत निःशूल्क चश्मा उपलब्ध गराइएका छन्।  

गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले शिविर उद्घाटन गर्दै ग्रामिण भेगका जनतालाई सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविर सञ्चालन गरिएको बताए। दुरदराजका जनताको स्वास्थ्यमा पहुँच नहुने भएकाले आगामी दिनमा यस्ता शिविर चलाउने कार्यक्रम निरन्तर चलाउँदै लाने प्रतिबद्धता जनाए। रोग पहिचान र उपचार सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले विशेष योजना बनाएरै अघि बढ्ने प्रण पनि अध्यक्ष मगरले गरेका छन्।  

उपाध्यक्ष भुपेन्द्र थापाले गाउँघरका जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य चौकीमै मेडिकल अधिकृत (एमविविएस) सम्मका डा. गाउँपालिकाले पठाउने सरकारको नीतिलाई कार्यान्वय गर्न पहल गर्ने बताए । त्सो गरे मात्र गाउँबस्ती सम्मका जनताले सहज उपचार सेवा पाउने उनको बुझाई छ।  

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीका अनुसार  परम्परागत चुल्होमा खाना पकाउदा दाउरा बालेको धुँवाले आँखामा खरावी जमेर कमजोर हुँदै मोतियाबिन्दु रोग लाग्ने गरेको छ । त्यस्तै गुप्त ठाउँ (योनी)सँग सम्बन्धित रोग भएकाले नियमित जाँज र रोगबारे जानकारी गराउँन लगाउने कारण अधिकांस महिला बच्चादानीको रोगको शिकार बन्ने गरेकाले यस्ता शिविरको आवगश्यक्ता रहेको चौधरीले बताए।  

प्रकाशित: ६ चैत्र २०७९ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App