२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चीनसँगको व्यापार प्रवर्द्धनले पूर्वी नेपालको समृद्धि सम्भव: डाक्टर रुईत

‘दृष्टिका देवता’ भनेर परिचित वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतले चीनसँगको असल सम्बन्ध र व्यापार प्रवर्द्धनले पूर्वी नेपालको समृद्धि सम्भव हुने बताएका छन्।

उनले देश विकासलाई प्राथमिकतामा राख्न शीर्ष राजनीतिक नेतृत्वलाई आग्रह समेत गरेका छन्।

आफ्नो जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आयोजित शल्यक्रिया सहितको आँखा शिविर सञ्चालनका क्रममा यहाँ आइपुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै चीन नेपालको असल मित्र भएकोले दुई देशका बीचमा सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने बताए।

विकासको प्रमुख मेरुदण्ड सडक भएकाले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल चाँडो पूरा गरी नेपाल, चीन र भारतसँगको व्यापारिक सम्बन्धमा नयाँ आयाम ल्याउनुपर्ने उनको भनाई थियो। उत्तर–दक्षिण जोड्ने मूल घाट–दोभान–ओलाङचुङगोला सडकको निर्माण कार्य चाँडो पूरा गरी त्रिदेशीय व्यापारिक सञ्जाललाई चाँडो उपयोगमा ल्याउनुपर्ने डाक्टर रुईतले बताए।

यसका लागि चीनसँग उच्च स्तरको कूटनीतिक सम्बन्ध स्थापित गर्दै उत्तर–दक्षिण सडक सञ्जालमार्फत ल्हासा र सिगात्सेसंग त्रिदेशीय व्यावसायिक सम्बन्ध स्थापित गर्दा व्यापार प्रवर्द्धन हुने उनको भनाइ छ। रुईतले तिब्बत दुरीका हिसाबले चीनका प्रमुख व्यापारिक केन्द्रबाट टाढा हुँदा नेपालको ओलाङचुङगोला हुँदै तिब्बतमा आवश्यकीय सामान आउने–जाने विगतको स्मरण समेत गरे।

मूल घाट–दोभान–ओलाङचुङगोला सडक लेलेपबाट सुके पानी छेउ र ओलाङचुङगोलाबाट बगर भन्ने स्थान सम्म आइपुगेको छ। अब सडक ओलाङचुङगोलातर्फ छिचोलिन करिब डेढ किलोमिटर बाँकी रहेको सडक निर्माण कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए। मूल घाटबाट नेपाल–तिब्बत सीमा क्षेत्र टिपताला सम्मको दुरी २ सय १७ किलोमिटर रहेको छ।

टिपतालाबाट चीनको स्वसासित क्षेत्र तिब्बतको रिउ बजारको दुरी ३० किलोमिटर रहेको सडक योजनाले बताएको छ। ओलाङचुङगोलाबाट टिपताला सम्मको २५ किलोमिटर दुरीमा यसअघि नै सडकको ट्याक ओपन भइसकेको छ भने रिउस्थित डिङजी काउन्टी सरकारले टिपातालाबाट रिउ सम्मको सडक बाह्रैमास सवारी गुड्ने तहको बनाएको छ। अब सुके पानी क्षेत्रको चट्टान फोरेर बाँकी दुरी ट्याक ओपन भए नेपाल–भारत–चीनबीच छोटो दुरीमै त्रिदेशीय सडक सञ्जाल स्थापित हुने छ।

नेपालमा स्वास्थ्य सेवाको पहुँच प्रभावहीन भएको बताउँदै उनले आँखा स्वास्थ्यलाई समेत प्राथमिक स्वास्थ्यसँग जोडेर स्वास्थ्य क्षेत्रको साझा संयन्त्र बनाउनुपर्ने रुईतले बताए। एक अर्को प्रसङ्गमा उनले नेपालमा देश विकासको भिजन भएको नेता असाध्यै कम भएको भन्दै विकासको एजेण्डालाई छाडेर सत्ता स्वार्थको गोटी चाल्ने प्रवृत्तिले मुलुकको विकासको गति रोकिएको ठम्याएका छन्।

प्रकाशित: २२ फाल्गुन २०७९ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App