१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै

इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन निःशुल्क बीमा गरिने उपमहानगरपालिकाले जनाएको छ।  

इटहरीका मेयर हेमकर्ण पौडेलका अनुसार सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरर्गत बीमा कार्यक्रम प्रभावकारी बनाउन लागिएको हो।  

साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको पौडेलले बताए । निःशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ। उपमहानगरपालिकको निर्णय अनुसार धेरैजसो विपन्न परिवारको निःशुल्क बीमा भइरहेको छ। ‘धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा पाएका छैनन। जसले गर्दा औषधी उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्,’ उनले भने ।  

आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिव तथा विपन्नहरुको निःशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । अभियान अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा घरबाटै बीमामा आवद्ध हुने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ । बीमाकर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि तीन हजार पाँच सय रुपैयाँ तिरेर बीमा गर्ने गरिएको छ।  

इटहरी अस्पतालमा बीमा रेफर लिन आउने सेवाग्राहीले धेरै सास्ती पाउने गरेकोमा पछिल्लो समय सहज  हुँदै गएको छ। इटहरी अस्पतालबाट मात्र बीमाको रेफर दिँदै आएकोमा पछिल्लो समय स्वास्थ्य चौकीबाट पनि दिन थालिएको छ।  

इटहरीमा खास विधाका विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन् । सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिन प्रतिदिन बढ्दै छ।  

यहाँ भएका केही निजी स्वास्थ्य संस्थाबाट पनि प्रभावकारी सेवा सुविधा छैन् । २०२२ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५४ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण गरिएसँगै सेवा सुविधामा सुधार भने हुन थालेको छ।  

प्रकाशित: १६ फाल्गुन २०७९ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App