२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

हात्तीपाइलेविरुद्धको अभियान ‘असफल’

विगत १३ वर्षदेखि निरन्तर चल्दै आएको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन। राष्ट्रिय अभियानअन्तर्गत सरकारले २०६७ सालदेखि जिल्लामा सुरु गरेको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सर्वसाधारणले औषधि सेवन नगर्दा सफल हुन नसकेको हो।  

पहिलोपटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए। त्यसबेला नेपालगन्जमा औषधि सेवन गरेका केही व्यक्तिको मृत्यु र केही बिरामी भएपछि उक्त औषधिप्रति सर्वसाधारणमा गलत बुझाइ हुँदा दोस्रो वर्षदेखि औषधि खानेको संख्या ह्वात्तै घटेको थियो। स्वास्थ्य कार्यालयले औषधि सेवनकै कारण कसैको पनि मृत्यु नभएको दाबी गर्दै तत्काल प्रष्टीकरण दिएको थियो।  

हात्तीपाइले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्नेमा कार्यक्रम प्रभावकारी नभएपछि १३औं चरणसम्म आइपुगेको स्वास्थ्यकर्मी बताउँछन्। सर्वसाधारणले औषधि नै नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३औं चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन्। ‘हात्तीपाइले रोगविरुद्धको औषधिप्रति कतिपय सर्वसाधारणको गलत बुझाइ छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन्। हात्तीपाइले रोग निवारणअन्तर्गत यसअघि २ प्रकारका औषधि खुवाउने गरेकोमा गत वर्षबाट ३ प्रकारका औषधि खुवाइएको जानकारी उनले दिइन्।  

स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल फोकल पर्सन दुर्गा गौतमका अनुसार सरकारी मापदण्ड पूरा गर्न करिब ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ। तर यसअघि ११औं चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको उनले बताइन्। ‘पहिलोपटक २०६७ सालमा मात्रै ९१ प्रतिशत कभरेज भएको थियो, त्यसपछि कभरेज घट्दै आयो,’ गौतमले भनिन्, ‘गत वर्ष बाँकेमा ६८ प्रतिशत मात्रै औषधिको कभरेज भयो।’

गत वर्षको तथ्यांकअनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधिको ‘कभरेज’भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ र १६ का अधिकांशले औषधि खान मानेका छैनन्। उक्त वडामा मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता छ।  

 

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App