४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

बुस्टर डोज नलगाउने ५५ हजारभन्दा कम

कोरोनाविरुद्धको खोप बुस्टर डोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुस्टर डोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ। स्वास्थ्य कार्यालयका कोल्डचेन सुपरभाइजर दिनेश रायले बुस्टरडोज लगाउनेको मात्रा ज्यादै कम भएकाले खोपको पहिलो र दोस्रो मात्रा लगाइसकेकालाई बुस्टरडोज लगाउन प्रेरित गर्नुपर्ने अवस्था आएको बताए।

‘कोरोनाबाट सुरक्षित हुने र जोखिम कम हुने एक मात्र उपाय खोप हो, खोपको बुस्टरडोजले मात्र जोखिम कम बनाउँछ,’ रायले भने। उनले खोपको पहिलो र दोस्रो डोज लगाउनेको संख्या अपेक्षा अनुसार रहे पनि बुस्टरडोज लगाउन छुटेकाको संख्या धेरै रहेको जानकारी दिए।

उनले बुस्टरडोज लगाउन प्रेरित गर्ने सबैभन्दा गतिलो माध्यम स्थानीय जनप्रतिनिधि भएकाले स्थानीय तहले विशेष योजना बनाएरै बुस्टरडोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष सुनाए। रायका अनुसार फुङलिङ नगरपालिका क्षेत्रभित्र मात्रै करिब २१ हजार जनाले बुस्टरडोज लगाउन बाँकी देखिएको छ। जिल्लाभरीमा करिब ५५ हजारको हाराहारीमा बुस्टरडोज लगाउन बाँकी रहेको देखिएको उनले जानकारी दिए।

ताप्लेजुङभरीमा सबै किसिमका खोपको पहिलो मात्रा लगाउनेको संख्या ९९ हजार १ सय ७८ रहेको छ। १ लाख ५ हजार ८ सय ५६ जनाले खोपको दोस्रो मात्रा लगाएका छन्। बुस्टरडोज लगाउनेको संख्या १९ हजार ४ सय ८७ जना मात्र देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

पहिलो मात्रा अन्यत्र लगाएर यहाँ आएकाहरूले दोस्रो मात्रा ताप्लेजुङमै लगाएका कारण पहिलो र दोस्रो मात्राको तथ्याङ्क यस्तो देखिएको रायले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार १९ हजार ९ सय ७९ जनाले अनुसार कोभिसिल्डको पहिलो र ११ हजार १ सय ८२ जनाले दोस्रो मात्रा लगाएका छन्।

कोभिसिल्डको बुस्टरडोज लगाउनेको संख्या ७ हजार १ सय ९४ रहेको छ। यस्तै ४० हजार ६ सय ६२ जनाले भेरोसिलको पहिलो तथा ४० हजार ६ सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन्। १० हजार ९ सय ९८ जनाले जोनसन एन्ड जोनसनको पहिलो मात्रा तथा ४ सय ३३ जनाले बुस्टरडोज लगाएका छन्।

एक्सट्राजेनेकाको पहिलो मात्रा ८ सय ६ सय ७७ जनाले लगाउँदा दोस्रो मात्रा सोभन्दा दोब्बर बढी अर्थात् १७ हजार ६ सय १६ जनाले लगाएका छन्। ८ हजार ५ सय ७० जनाले एक्सट्राजेनेकाको बुस्टरडोज लगाएका छन्। १२ वर्षभन्दा माथिको उमेर समूहले लगाउने फाइजर खोपको पहिलो मात्रा २१ हजार ९ सय १४ जनाले लगाएका छन् भने दोस्रो मात्रा २० हजार ३ सय ७१ जनाले लगाउँदा १ हजार १ सय २० जनाले मात्र फाइजरको बुस्टरडोज लगाएका छन्। 

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App