७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सामाजिक घृणाको डरले ढिलो उपचार

सन्दर्भ: विश्व कुष्ठ रोग दिवस

विश्व कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरमा आइतबार आयोजित अन्तरक्रियामा सहभागी। तस्बिर: कृष्ण किसि/नागरिक

नियमित रूपमा औषधी खाएमा कुष्ठ रोग पूर्ण रूपमा निको हुन्छ। तर नेपालमा समयमै उपचार नहुँदा कुष्ठरोगी ढिलो मात्र उपचारमा पुग्ने गरेको सरोकारावालाले औंल्याएका छन्। सत्तरीऔं विश्व कुष्ठरोग दिवसका अवसरमा उनीहरूले सामाजिक डर र त्रास नै कुष्ठरोगका लागि चुनौती बनेको इंगित गरेका छन्।

माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेसीमा असर गर्दछ। कतिपय अवस्थामा भने यसले आँखा ,कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ। उपचार नगरेका बिरामीसँग लामो समय सम्पर्कमा रहेका अर्को व्यक्तिमा यो रोग सर्छ। श्वास–प्रश्वासका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिको शरीरमा प्रवेश गरेको र्दुइदेखि पाँच वर्षमा लक्षण देखिन थाल्छ। सुरुमै उपचार गरेमा यो रोग पूर्णरूपमा निको हुन्छ।

आर्थिक वर्ष ०७८/०७९ को अन्त्यसम्ममा नेपालमा पहिचान भएका नयाँ २२ सय ८५ वटा नयाँ कुष्ठरोगीमध्येमा एक सय ७० जना कुष्ठरोग छिप्पिएर दोस्रो तहको अपांगता भएको तथ्यांक छ। उनीहरू समाजको डर र स्वास्थ्य सेवाको पहुँचको कमीले समयमै उपचारमा नपुगेको राष्ट्रिय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन महाशाखाका निर्देशक प्रसन्न नापितले बताए। उनले भने, ‘अछामजस्ता विकट पहाडी जिल्लामा अहिले पनि कुष्ठरोग पहिचानका लागि पर्याप्त स्वास्थ्य सेवा र जनचेतनाको कमी छ।’

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए। उनले भने, ‘सामाजिक डर र त्रासका कारण निको भएका कुष्ठरोगी समाजमा पुनस्र्थापना हुन चुनौती बनेको छ।’ कुष्ठरोग नियन्त्रण अभियानमा लाग्न सरकारसँगै हरेक नागरिकको दायित्व रहेको उनले बताए।

कोभिड १९ को अवधिमा कम संख्यामा कुष्ठरोगी पहिचान भएकोमा पछिल्लो आर्थिक वर्षमा बढी संख्यामा नयाँ कुष्ठरोगी पहिचान भएको केन्द्रले जनाएको छ। हाल १६ वटा जिल्लामा कुष्ठरोग प्रकोपकै रूपमा रहेको छ; जसमा सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, बारा, पर्सा, नवलपरासी, पश्चिम, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, अछाम र कैलाली छन्। एकभन्दा बढी प्रिभिलेन्स दर भएका १६ वटा जिल्लामध्येमा बारामा सबै भन्दा बढी २.०९ जना छन्। ६ वटा जिल्ला मनाङ, रसुवा, सोलखुम्बु, भोजपुर, खोटाङ, ताप्लेजुङ र इलाम छन्।

नेपालले सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरेको हो, तर १२ वर्ष पुगिनसक्दै कुष्ठरोगी वृद्धि हुने क्रम देखिएको छ। त्यतिबेला कुष्ठरोग प्रकोपदर ०.७७ रहेकोमा हाल ०.८१ प्रति १० हजार जना रहेका छन्। कुष्ठरोगीप्रति गरिने भेदभाव, पर्याप्त जनचेतनाको कमी, खुला सीमा र उपचार पहुँचको कमीले कुष्ठरोग निवारण चुनौती बनिरहेको महाशाखाले जनाएको छ।

कुष्ठरोगको चुनौती पार गर्न सरकारले सन् २०२१ देखि ०३० भित्र शून्यमा पुर्‍याउने गरी लक्ष्य तथा रणनीति अघि सारेको छ। यसका लागि कुष्ठरोगलाई जिल्ला र स्थानीय तहबाटै सक्रिय खोजपड्ताल गर्ने नीति तथा कार्यक्रम अघि बढाएको महाशाखाले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App