चितवनमा १२ जना कुष्ठरोगका बिरामी थपिएका छन्। कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचानका क्रममा उनीहरु फेला परेका हुन्। थपिएका मध्ये एक जना छाला शिविरबाट पत्ता लागेका हुन्।
स्वास्थ्य कार्यालय चितवनका अनुसार, भरतपुर महानगरपालिकामा ८, रत्ननगर, राप्ती, खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान एक एक जना कुष्ठरोगका बिरामी देखिएका छन्। यससंगै चितवनमा कुष्ठरोगका बिरामीका संख्या ५७ पुगेको छ।
अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा जिल्लामा ४५ जना बिरामी थिए। नयाँ थपिएका बिरामी मध्ये सर्ने खालका कुष्ठरोगका बिरामीका ४९ र नसर्ने कुष्ठ रोगका बिरामी ८ जना रहेका छन्।
सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिकामा १ जना मात्रै कुष्ठरोगका बिरामी छन्। त्यस्तै भरतपुरमा ३७, राप्तीमा ७, रत्ननगरमा ४, खैरहनीमा ३, कालिकामा ३ र माडी नगरपालिकामा २ जना कुष्ठरोगका बिरामी रहेको क्षय कुष्ठरोग अधिकृत जयराम दवाडीले जानकारी दिए। चितवनमा देखिएका मध्ये एक जना बच्चा रहेका छन्।
कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत कार्यालयले कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ। २०५१ सालदेखि हालसम्मका बिरामीको खोजी गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई २०७७ सालदेखि सिङ्गल डोज रिफाम्पिसिन (एसडिआर) औषधी दिने गरिन्छ। यो अवधिमा जिल्लामा १ हजार ९ सय कुष्ठरोगका बिरामी निको भएका छन्। त्यसमध्ये ६ सय जना बिरामी सम्पर्कमा आएका थिए। सम्पर्कमा आएका एक बिरामी बराबर उनीहरूको सम्पर्कमा आएका २० जना एक डोज औषधी दिइएको दवाडीले जानकारी दिए।
‘कुष्ठरोग सर्ने र नसर्ने हुन्छ। दश बर्षपछि पनि यसको लक्षण देखिन्छ,’ दवाडीले भने, ‘त्यसलाई मध्यनजर गर्दै बिरामीका परिवारलाई पनि औषधी दिन थालेका छौँ। अहिलेसम्म हामीले जिल्लामा ३० हजारको हाराहारीमा हामीले एसडिआर औषधी दिएका छौँ।’
विश्व स्वास्थ्य संगठनका अनुसार, कुष्ठरोग निवारणका लागि जनसङ्ख्याको १ प्रतिशतभन्दा कम बिरामी हुनुपर्ने हुन्छ। त्यसलाई आधार बनाएर नेपाल सरकारले चितवनलाई कुष्ठरोग निवारण जिल्ला घोषणा गरिसकेको छ। समग्र जिल्लामा कुल जनसङ्ख्याको ० दशमलव ८२ प्रतिशतमा कुष्ठरोग छ। तर, भरतपुर महानगरपालिकाको मात्रै तथ्याङ्क हेर्ने हो भने महानगरपालिकामा १ दशमलव १२ प्रतिशतमा कुष्ठरोगका बिरामी छन्।
चितवनको पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा कुष्ठरोगका बिरामी बढी रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिए। उनका अनुसार, ६० प्रतिशत मंगोलियन जातिमा कुष्ठरोग देखिएको छ।
‘सर-सफाईमा ध्यान नदिँदा यो रोग लाग्ने सम्भावना बढी हुन्छ,’ उनले भने ‘कुष्ठरोगका बिरामी मध्ये भोटे, दराई, लगायतका मंगोलियन जाति ६० प्रतिशत छन्।’
चितवनमा प्रति १० हजारमा ० दशमलव ५५ जनामा कुष्ठरोग देखिने गरेको छ। यो वाग्मती जिल्लाकै उच्च हो। वाग्मतीका १३ जिल्लामा प्रति दश हजार ० दशमलव १७ प्रतिशत कुष्ठरोगका बिरामी छन्।
नेपालमा २ हजार ३७३ जनाले हाल नियमित औषधी लिइरहेका छन्। नयाँ बिरामी २ हजार २८५ जना थपिएको हुन्। यसलाई निवारणका लागि नियमित औषधिसँगै सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य प्रमुख चापागाईँले जानकारी दिए।
यो रोगले खास गरेर छाला र स्नायूमा असर गर्छ। शरीरमा नचिलाउन रातो तथा फुस्रो दागहरू देखा पर्ने, हात खुट्टा झमझममाउमा वा स्पर्श शक्ति हराउने, आँखाको मांसपेशीहरू कमजोर हुँदै जाने जस्ता लक्षण देखा पर्दछन्।
कुष्ठरोग सर्ने र नसर्ने हुन्छ। सर्ने रोग भएका व्यक्तिले १२ र नसर्ने रोग भएका व्यक्तिले ६ महिना नियमित औषधी सेवन गरेमा यो रोग पूर्ण निको हुने जनस्वास्थ्य प्रमुख चापागाईँले जानकारी दिए।
प्रकाशित: १५ माघ २०७९ १२:४६ आइतबार