४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने  मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने एकप्रकारको ज्यादै कम सर्ने रोग हो। धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रूपमा छालामा फिक्का दाग आउनु वा औंलाहरू सुनिने गर्दछ। चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ। समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हातखुट्टा र अनुहारको मांसपेशीको पक्षाघात गराउन सक्छ।

विश्वका सयभन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ। सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रूपमा कुष्ठरोग निवारण भने भइसकेको छैन। आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी छन्।

सरकारी तथ्यांक अनुसार मधेस प्रदेशमा नौ सय १०, लुम्बिनी प्रदेशमा पाँच सय ८१, प्रदेश नं १ मा तीन सय ४५, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच र कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भेटिएको छ।

गण्डकी र वाग्मती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको संख्या कम छ। १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको छ। जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्। मधेस प्रदेशको  सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ।

नेपालमा रहेका कुल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन्। मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन  थालेका छन्।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ। एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रम अन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ।

एनआरएल कुष्ठरोग नियन्त्रण कार्यक्रमका संयोजक डा.रविन्द कुशवाह अहिलेसम्म महोत्तरीका पाँच र धनुषाका चार स्थानीय तहका पाँच हजार सात सय ९५ सम्पर्क व्यक्तिलाई औषधि वितरण गरिसकेको बताउँछन्।

‘महोत्तरी र धनुषामा रहेका कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी उनीहरूलाई कुष्ठरोग लाग्न नदिन औषधि खाने सल्लाह दिंदै औषधीसमेत वितरण गर्दै आएका छौं’, उनी भन्छन्।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन्।

कार्यकारी निर्देशक सिंह धनुषा र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन्।

‘एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि दिंदै आइरहेको छ’, उनी भन्छन्।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ। मिसनका कार्यक्रम निर्देशक यामनाथ योगी तीनै सरकारको सहकार्यमा मिसनले कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउँछन्। यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित आनन्दवन अस्पताल समेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै छ।

मधेस प्रदेशमा कुष्ठरोगका बिरामी बढी देखिएपछि यसको उपचार तथा रोकथाममा मधेस प्रदेशले पनि चासो देखाएको छ। मधेस प्रदेशमा कुष्ठरोगका बिरामी उपचार गर्न लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र रहेको छ। उक्त अस्पताल नेपाल लेप्रोसी ट्रस्ट अन्तर्गत समाज कल्याण परिषद्मा दर्ता भएर सञ्चालनमा रहेको हो।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.मुक्तिनारायण शाह कुष्ठरोगका बिरामी पत्ता लगाउन तथा उपचार गर्न लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रको सहयोगमा हरेक जिल्लामा महिनाको एकदिन कुष्ठरोगको शिविर सञ्चालन गर्न लागिएको बताउँन्छन्।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चारसय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ।

अस्पतालका उपनिर्देशक कृष्णबहादुर तामाङ ९२ शैयामार्फत लालगढ अस्पतालले छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आइरहेको बताउँछन्। ‘लालगढ अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय रहेका छन्’,उनी भन्छन्।

लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द शाह खुला सिमानाका कारण भारतबाट धेरै बिरामी लालगढ अस्पतालमा उपचारका लागि आउने गरेको बताउँछन्। कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने उनको भनाइ छ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादव तीनै तहको सरकार र विभिन्न गैरसरकारी संस्था मिलेर काम गर्नसके कुष्ठरोगलाई मधेसबाट चाँडो निवारण गर्न सकिने बताउँछन्। कुष्ठरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ। कुष्ठरोग निवारणका लागि मधेस प्रदेशले वार्षिक बजेट विनियोजन गरेर काम गरिरहेको उनी बताउँछन्। रासस

प्रकाशित: १५ माघ २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App