४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दुई वर्षयता इलाममा छैनन् कुष्ठ रोगी

इलाममा दुई वर्षयता कुष्ठरोगका कुनै पनि बिरामी पाइएका छैनन्। आर्थिक वर्ष २०७७/०७८ यता इलामका कुनै पनि स्वास्थ्य संस्थामा कुष्ठ रोगी फेला नपरेका हुन्।

चिकित्सकका अनुसार कुष्ठरोग चाँडै पत्ता लाग्ने रोग हो। तर, यस्ता खाले बिरामी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा उपचार गराउन नआएको स्वास्थ्य कार्यालयले जनाएको छ। उपचार गराउन नआएपछि गाउँमा उपचारै नपाएका कुष्ठ रोगी छन् या छैनन् भन्ने थाहा हुन सकेको छैन। स्वास्थ्य प्रमुख आदित्य शाक्यले उपचारै गराउन नआएका रोगीको अवस्था जानकारीमा आउन नसकेको बताए।

‘इलाममा कुष्ठ रोगीको संख्या शून्य भएको २ वर्ष जति भयो,’ उनले भने, ‘कुष्ठरोगको शंका भएपनि जँचाउन नआएका कोही बिरामी छन् कि भनेर कार्यालयले यो वर्ष चाहिँ केही खोजी पनि गर्नेछ।’

इलाममा २०७२ सालमा २, ०७३ सालमा ३ र ०७४ सालमा १ जना कुष्ठ रोगी थिए। ०७५ सालमा शून्य रहेको यो संख्या ०७६ र ०७७ सालमा १–१ जनाले थपिएको थियो। तर, ०७८ र ०७९ को अहिलेसम्म कुनैपनि कुष्ठ रोगी नभेटिएको कार्यालयले जनाएको छ। 

‘तर, निरन्तर ५ वर्षसम्म शून्य रहे मात्रै त्यो जिल्ला कुष्ठरोगमुक्त हुनेछ,’ कार्यालयका युवनाथ बरालले भने, ‘अझै ३ वर्ष इलामलाई शून्यकै अवस्थामा राख्ने प्रयासमा छौं।’ 

आइतबार मनाउन लागिएको ७० औं विश्व कुष्ठरोग दिवस अवसरमा आयोजित कार्यक्रममा कुष्ठरोगको अवस्थाबारे जानकारी गराइएको हो।

नेपालमा सन् २०२१ मा कुष्ठ रोगीको संख्या २ हजार १ सय ९७ छ। तथ्यांकअनुसार सन् १९६० मा १ लाख जनामा कुष्ठरोगको लक्षण देखिएको थियो। सन् १९६६ देखि कुष्ठरोगविरुद्ध कार्यक्रम सुरु भएपछि सन् १९८२ मा आइपुग्दा यो संख्या २१ हजार ५ सय ३७ मा झरेको थियो। २००९ मा २ हजार ४ सय ४५ जनामा कुष्ठरोग देखिएको थियो।

अहिले नेपालमा कुष्ठ रोगीको संख्या प्रति १० हजारमा ०.७५ छ। १ नम्बर प्रदेशमा प्रति १० हजारमा ०.७१, मधेसमा १.०६, वाग्मतीमा ०.३८, गण्डकीमा ०.३८, लुम्बिनीमा १.०३, कर्णालीमा ०.४२ र सुदूरपश्चिममा ०.७५ जनामा कुष्ठरोग रहेको कुष्ठरोग कार्यक्रमको कार्य सञ्चालन निर्देशिकामा उल्लेख छ। नेपालले राज्यका सबै तहमा शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र कार्यान्वयन गर्ने, सक्रिय विधिबाट कुष्ठरोगका बिरामी पहिचान गर्ने कार्य एकीकृत गर्दै कुष्ठरोग रोकथाम विस्तार गर्ने, कुष्ठरोग तथा यसको जटिलता व्यवस्थापन गर्दै अपांग हुनबाट जोगाउने र विभेद, लाञ्छनाविरुद्ध प्रतिकार्य गरी मानवअधिकार सुनिश्चित गर्ने रणनीति लिएको छ।   

कुष्ठरोग कीटाणुका कारण लाग्ने र यो कम सर्ने रोग भएको इलाम अस्पतालका चिकित्सक डा. प्रभु साहले बताए। 

‘यो रोग श्वासप्रश्वासबाट सर्छ तर समयमै उपचार गरी औषधि खान थालेपछि सर्दैन,’ उनले भने, ‘बेलैमा उपचार गरे अंगभंग हुनबाट पनि बच्न सकिन्छ।’ 

उनले यो रोग २ खालको हुने र एक खालको ६ महिना औषधि खाँदा निको हुने भएपनि अर्को खालको चाहिँ १ वर्षमा निको हुने बताए। ‘कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ, यसबारे चेतना जगाउँदै कोही शंकास्पद रोगी भए उपचारमा जान सुझाइहाल्नुपर्छ,’ उनले भने।

प्रकाशित: १४ माघ २०७९ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App