१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

मदन भण्डारी आँखा अस्पतालमा ९२ मोतियाबिन्दु रोगीको आँखा अप्रेसन

अप्रेसन गरिएकाहरुको आँखाको पट्टी खोल्दै उपसभामुख सिर्जना दनुवार ।

दक्षिण एसियाकै आँखाका ज्योति करार भईसकेका डा. सन्दुक रुईत बहराईन सरकारबाट १० लाख अमेरिकन डलरको ‘इसा अवार्ड फर सर्भिस ट ह्यम्यानिटी’ पुरस्कार पाईरहँदा  सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी आँखा अस्पताल’ले झण्डै सयजना मोतिबिन्दु बिरामीको सफल उपचार गरेको छ। गएको २ दिनमा अस्पतालले ९२ जना आँखा रोगीको निःशूल्क शल्यक्रिया (अप्रेसन) गरेको हो।  

नेपाल नेत्र ज्योति संघले विभिन्न स्थानीय तहमा विभिन्न मितिमा आयोजना गरेको आँखा शिविरहरुमा पहिचान भएका मोतिबिन्दु बिरामीको अप्रेसन गरेको जनाएको छ। संघले शिविरमा फेला परेका १ सय ४४ विरामीमध्ये ९२ जनाको अप्रेसन गरेको अस्पतालले जनाएको छ। सबैको अप्रेसन गर्ने योजना भए पनि कतिपयलाई मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि तत्कालका लागि उनीहरुको अप्रेसन रोकिएको हो।  

नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउतका अनुसार बाँकी बिरामीलाई उचित समयमा स्वास्थ्य अनुकुल हुने गरी अप्रेसन गर्न बोलाउने तय भएको छ। आँखा उपचार पाउनेमध्ये धेरै जसो बिरामी जेष्ठ नागरिक रहेका छन्। बृद्धबृद्धा भएकाले अप्रेसन गर्न खोज्दा स्वास्थ्यले साथ नदिएपछि स्वास्थ्यानुकुल समयमा अप्रेसन गर्ने गरी घर पठाइएको राउतले बताए।  

बिरामीहरुलाई आर्थिक व्ययवहार नहोस् भने संघले बिभिन्न निकायहरुको सहयोगमा उपचार गराइएको छ। जेष्ठ नागरिक तथा कतिपय बिरामी गरिव र बिपन्नसमेत भएकाले अप्रेसन गर्न बिभिन्न निकायसँगको समन्वयमा खर्च जुटाएर निःशूल्क उपचार गरिएको उनले बताए। बिरामीको उपचार निःशूल्क गराउनका लागि उदयपुर स्थायी घर भई हाल कतारमा कार्यरत रहेका ‘दोहा कतार दाजुभाइ समूह’, गाईघाट घर भई हङकङमा रहेका डिकनारायण राई, रियाज राउत, आयुश दाहाल लगायतले सहयोग गरेको सभापति राउतले बताए।  

उनका अनुसार दोहा कतार दाजुभाइ समूहले ५० जनाको अप्रेसन खर्च वापत लाग्ने रकम सहयोग गरेको छ भने हङ्कङबाट डिकनारायणले ५ जनाको खर्च खेपिदिएका छन्। त्यस्तै, रियाजले जन्मदिन मनाउन लाग्ने खर्च कटाएर २ जनाको आँखामा ज्योति भरिदिदा दाहालले स्वर्गीय बुवाको स्मृतिमा १ जनाको उपचारमा लाग्ने खर्च बेहोरिदिएका छन्। अन्यको उपचार खर्चका लागि बिभिन्न निकायहरुले सहयोग गरेको राउतले बताए।  

भरतपुर आँखा अस्पतालकी डा. पुष्पा गिरी नेतृत्वको स्वास्थ्यकर्मी समूहले २ दिन लगाएर गरेको मोतियाबिन्दु अप्रेसनका बिरामीको आँखाको पट्टी नवनियुक्त प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले आईतबार खोलिदिईन्। उनीसँगै दाजुभाई समूहका प्रतिनिधि गोबिन्द भट्टराई, डिकनारायणकी प्रतिनिधि सावित्रा राई र रियाजले अन्य विरामीको पट्टी खोलिदिएका थिए।  

पट्टी खोल्दै उपसभामुख दनुवारले दुरदराजका यस्ता आँखाका बिरामीलाई बिभिन्न माध्यमबाट निरन्तर सेवा पुर्याउन अस्पताल परिवारलाई आग्रह गरिन्। नाफामुखी हुनुभन्दा सेवाभावले जनताको उपचार गर्दा प्रभावकारी हुने बताउँदै उनले यसो गर्न सके उपचार सेवालाई सामान्य नागरिकको पहुँचसम्म पुर्याउन सकिने दनुवारले बताईन्। उपसभामुख दनुवारले नेपालको संबिधान २०७२ ले निःशूल्क स्वास्थ्य सेवाको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि जर्नाईन्।  

संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा नआउँदा भुईतहका जनता आधारभूत स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिरै रहनुपरेको बिडम्पना सुनाईन्। नेत्र ज्योति संघले दुरदराजसम्म पुगेर आँखा शिविर सञ्चालन गर्दा गरिव तथा बिपन्न परिवारले पनि सेवा पाउन थालेको भन्दै उनले आँखा गुमाएकाहरुलाई ज्योति दिन सके ‘देशमा सरकार छ’ भन्ने जनताले महसुस गर्न सक्ने बताईन्।  

संघले स्थानीयतह चुनावअघि पनि मोतियाबिन्दु बिरामीको अप्रेसन गरेको थियो। चुनाव प्रचारको सिलसिलामा उदयपुृर आएका तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत ११ गते अप्रशेन गरेका विरामीका आँखाको पट्टी खोलेका थिए। त्यसबेलादेखि सुरु भएको अस्पतालमा हालसम्म ४ पटक गरी २ सय ३१ जनाको मोतियाबिन्दु रोगीको अप्रेसन गरिसकेको छ। दैनिक सञ्चालन अप्रेसन गर्ने उदेश्यले भवन र अन्य संरचनाहरु निर्माण भए पनि बिरामीको संख्या कम हुने भएकाले महिनामा १ पटक मात्र अप्रेसन गर्ने गरिएको सभापति राउतले बताए। अस्पतालमा आँखा रोगीहरुका लागि नियमित परीक्षण कार्य भने सुचारु रहेको छ।  

प्रकाशित: ८ माघ २०७९ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App