१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा दादुरा प्रकोप: न्यूनीकरणमा संघीय सरकार उदासीन

दादुराको प्रकोप क्षेत्र नेपालगन्जका बालबालिकालाई खोप लगाइँदै । तस्बिर: नागरिक

नेपालगन्जमा दादुराको प्रकोप अझ बढ्दै गएको छ। प्रभावकारीरुपमा खोप व्यवस्थापन र संघीय सरकारले रोकथाममा गम्भीरता नदेखाउँदा नेपालगन्जमा दादुराको प्रकोप बढ्दै गएको हो।

दुई सातादेखि दादुराको प्रकोप फैलिएको नेपालगन्जमा अझैसम्म पनि न्यूनीकरण हुन सकेको छैन। नेपालगन्जमा दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या एक सय आठ पुगेको छ। त्यस्तै खजुरा गाउँपालिकामा पनि दादुरा प्रकोप देखिएको छ। 

खजुरामा दुई जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको छ। योसँगै जिल्लामा दादुरा संक्रमितको संख्या एक सय १० पुगेको छ। नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी १० वटा वडाका एक सय आठ जनामा संक्रमित भेटिएका हुन्।

यही पुस १२ गतेदेखि फैलिएको दादुरा रोकिने संकेत देखिएको छैन। उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमितमध्ये दुई बालबालिकाको भेरी अस्पतालमा उपचार भइरहेको छ। नेपालगन्जमा दादुरा संक्रमणबाट एक जनाको मृत्युसमेत भइसकेको छ।

नेपालगन्ज उपमहानगरपालिकाले संक्रमण देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुराविरुद्धको खोप दिइरहेको छ। खोप अभियान सुरु गरेको पाँच दिनसम्म नेपालगन्जका करिब चार हजार बालबालिकालाई खोप लाइएको बताइएको छ । संक्रमित हुनेमा अधिकांश पाँच देखि १० वर्ष उमेर समूहका बालबालिका छन्। तीमध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ।

नेपालगन्जमा दादुराको प्रकोप अझ बढ्दै जाँदा पनि संघ सरकार यसबारेमा गम्भीर नबनेको पाइएको छ। दादुराको महामारी रोक्न अहिले नेपालगन्ज उपमहानगरपालिका एक्लै संघर्ष गरिरहेको छ। जसमा प्राविधिक सहयोग प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय बाँकेले गरिरहेको छ। तर सबैभन्दा बढी स्रोत साधन भएको संघ सरकार मुकदर्श भएको यहाँका बासिन्दाको आरोप छ। 

सोमबार स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा.सर्वेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ नेपालगन्जमा आएर सल्लाह सुझाव दिएर गएका छन्। तर अहिले नेपालगन्जलाई संघ सरकारबाट ‘¥यापिड रेस्पोन्स टिम’कै जरुरत रहेको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल बताउँछन्। तर संघ सरकारबाट केही प्रतिनिधिहरू आएर सल्लाह दिँदैमा अहिलेको समस्या समाधान नहुने उनको धारण छ। ‘प्रकोपकै रुपमा स्विकारिसकेपछि संघ सरकारबाट केही न केही रेस्पोन्स हुनुपथ्र्याे। हुन त खोप संघ सरकारकै हो। तर अहिलेको अवस्था त्यतिले मात्रै समाधान हुने देखिँदैन। संघ सरकारबाट यस विषयका विशेषज्ञहरुको टिम नै केही दिन नेपालगन्जमै बसिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने। अहिले विश्व स्वास्थ्य संगठन र युनिसेफले सहजीकरणामा सघाइरहेको उनले बताए।

प्रकाशित: २८ पुस २०७९ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App