नेपालमा यस वर्ष डेङ्गु सङ्क्रमण प्रकोपकै रुपमा फैलियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्षको मङ्सिरसम्म ५४ हजार २ सय ३२ जना डेङ्गु सङ्क्रमण भए भने डेङ्गुबाट ६७ जनाको मृत्यु भएको छ।
विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, दाङ,धादिङ्ग र रुपन्देही जिल्लाहरुमा डेङ्गु सङ्क्रमण बढी सङ्ख्यामा देखिएको थियो। डेङ्गु सङ्क्रमणबाट साउन महिनामा पहिलो मृत्यु भएको थियो।
यसरी डेङ्गु सङ्क्रमण फैलनुको कारण सेरोटाइप ३ रहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक अध्ययन अनुसार डेङ्गु सङ्क्रमण फैलनुको प्रमुख कारण 'सेरोटाइप ३' हो ।
सामान्यतया डेङ्गु भाइरसको चारवटा सेरोटाइप हुन्छन्,सेरोटाइप १,२,३ र ४।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,त्रिभुवन विश्वविधालय र धरान मेडिकलबाट गरेको ३२४ वटा नमुना परीक्षणमा गर्दा २५ प्रतिशत माथिमा सेरोटाइप ३ देखिएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार केहि नमुनामा सेरोटाइप १ र २ पनि देखिएको थियो।
महाशाखाले देशैभरका अस्पतालहरू सुर्खेत प्रदेश अस्पताल,सेति अस्पताल,राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान,लुम्बिनी अस्पताल,कोशि अस्पताल,जनकपुर अस्पताल,शुक्रराज ट्रपिकल अस्पताल,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षणका लागि नमुनाहरू लिएको थियो।
नेपालमा यसअघि सेरोटाइप ३ नदेखिएको र यो पहिलोपटक देखिएको दाहालले बताए। नेपालमा २०१९ मा डेङ्गु सङ्क्रमण उच्च रुपमा फैलिएको थियो। सो समयमा सेरोटाइप १ र २ मात्र देखिएको दाहालको भनाइ छ।
दाहाल भन्छन्,‘विज्ञानले के भन्छ भने चारवटा सेरोटाइप मध्ये एउटा सेरोटाइपबाट आज एउटा व्यक्ति सङ्क्रमित भयो भने धेरै समयसम्म त्यो सेरोटाइपले भेट्न सक्दैन्। उक्त सेराटाइपसँग लड्न सक्ने क्षमता मेरो शरीरमा भइसकेको हुन्छ। तर अर्को सेरोटाइप संक्रमण भयो भने त्योबाट देखिने जटिलता धेरै देखिन्छ।’
यो वर्ष डेङ्गु सङ्क्रमितहरूमा धेरै जटिलता देखिनुका कारण पनि सेरोटाइप १ र २ सङ्क्रमित भइसकेका व्यक्तिहरूलाई सेरोटाइप ३ देखिनु रहेको दाहालले बताए। यो अध्ययनले आगामी वर्षहरुमा डेङ्गु नियन्त्रणका लागि योजना बनाउन थप मद्धत पुगेको उनको भनाइ छ।
‘नेपालमा डेङ्गु वार्षिक रुपमै देखिने रोग भइसक्यो। यो अध्ययनले हामीलाई आगामी वर्षको योजना बनाउन सहयोग गरेको छ। अब डेङ्गु नियन्त्रणका लागि मासिक रुपमा नै योजना बनाएर अगाडि बढ्छौं’,उनले भने।
त्यस्तै डेङ्गु सङ्क्रमणबाट धेरै व्यक्तिहरूको मृत्यु हुनुको कारण डेङ्गु सङ्क्रमितहरू ढिलो अस्पताल पुग्नु देखिएको छ। सङ्क्रमितहरू ज्वरो आएपछि डेङ्गु हो भनी वास्ता नगरी घरमै बस्ने र अलि धेरै जटिलता देखिएपछि अस्पताल पुग्ने गरेको हुँदा मृत्यु हुनेको सङ्ख्या धेरै भएको दाहालले बताए।
डेङ्गु सङ्क्रमितले जथाभावी प्रयोग गर्ने औषधिको प्रभावले पनि मृत्यु भएको देखिएको छ।
‘डेङ्गु सङ्क्रमण भएको बेला बिरामीहरूले दुखाइ कम गर्न जथाभावी औषधिहरू खाने गर्नुहुन्छ। पारासिटामोल बाहेक अन्य औषधिहरू नखादा राम्रो। जथाभावी औषधिहरू खादा रगत जम्ने प्रक्रियामा अझ बढी समस्या देखिन्छ। यो वर्ष डेङ्गुबाट मृत्यु हुनेहरूले त्यसरी जथाभावी औषधी खाएको पनि देखिएको छ।’ दाहालले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन सेरोटाइप बदलीएर पुन सोहि व्यक्तिमा डेङ्गु सङ्क्रमण भएमा डेङ्गुको थप जटिलता देखिएको बताउँछन्।
‘सेरोटाइप ३ मा जटिलता देखिने भन्ने होइन्। डेङ्गु सङ्क्रमणको चार प्रकारका सेरोटाइप हुन्छन्। चार प्रकारका सेरोटाइपमध्ये पहिले जुन प्रकारले सङ्क्रमण गर्यो पुनः त्यही सेरोटाइपले सङ्क्रमण गर्यो भने जटिलता हुने सम्भावना न्यून हुन्छ। तर, फरक सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो धेरै कडा हुनसक्छ’ उनले भने।
सन २०१९ मा धेरै मात्रामा सेरोटाइप २ देखिएको र यो वर्ष सेरोटाइप ३ देखिदा सङ्क्रमितहरूमा थप जटिलता देखिएको उनले बताए ।अघिल्ला वर्षभन्दा यसवर्ष धेरै बिरामीमा जटिलता देखिएको उनको भनाइ छ।
नेपालमा यसवर्ष डेङ्गु इतिहासमै ठूलो महामारीको रूपमा देखिएको छ। नेपालमा डेङ्गु सङ्क्रमण सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भएको थियो। त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेङ्गु सङ्क्रमित भेटिएका थिए। त्यसपछि सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेङ्गु देखिएको थियो।
सन् २०१९ मा डेङ्गु सङ्क्रमण महामारीकै रुपमा देखिएको थियो। धरानबाट फैलिएको डेङ्गुबाट १८ हजार मानिस सङ्क्रमित भएका थिए। ४३ जिल्लामा फैलिएको डेङ्गुका कारण १२ जनाको मृत्यु भएको थियो।
पछिल्लो समय डेङ्गु सङ्क्रमण तराइईमा मात्र नभएर हिमाल र पहाडमा पनि देखिन थालेको छ। यो वर्ष डेङ्गु सङ्क्रमित ७७ वटै जिल्लामा भेटिएका थिए।
प्रकाशित: १५ पुस २०७९ १४:०२ शुक्रबार