२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

समाजमा खुल्दैनन् एचआइभी संक्रमित

कालिकोटका एचआइभी संक्रमितहरू परिवार र समाजको भेदभावका कारण खुल्न डराउँछन्। स्थानीय सरकारहरू एचआईभी एड्सका विषयमा उदासीन देखिएको संक्रमितहरूको गुनासो छ। विभिन्न कार्यक्रममार्फत संक्रमितलाई सम्बोधन गर्नुपर्नेमा पालिकाहरू पूर्वाधारमा केन्द्रित भएको उनीहरूको भनाइ छ।

स्थानीय तहहरूले प्रतिबद्धता जनाए पनि सहयोग नभएको एचआइभी संक्रमित कालीबहादुर शाहीको गुनासो छ। एचआइभी संक्रमितहरू पालिकाहरूको प्राथमिकतामा परेको देखिँदैन। सरकारले मिर्गौला, क्यान्सर, हृदयघातलगायतका दीर्घ रोगीलाई मासिक पाँच हजार दिने घोषणा गरेको छ। यस्ता प्रकारका राहत कार्यक्रममा सरकारले एचआइभी संक्रमितलाई छुट्ट्याएको उनको गुनासो छ। ‘एचआइभी संक्रमितहरू दीर्घरोगी नै हौं। एकचोटी संक्रमित भइसकेपछि निको हुने अवस्था हुँदैन’, शाहीले भने, ‘एचआइभी संक्रमितमा हेपटाइटिस, टीबी जस्ता थप रोग देखिन्छन्। तीनचार थरी औषधि खाएर बाँचिरहेका छौं।’ त्यस्ता व्यक्तिलाई केन्द्र सरकारले विभेद त गरेकै छ, स्थानीय सरकारसमेत उदासीन देखिए। कालिकोट जिल्लामा हालसम्म ६३ जनामा एचआइभी संक्रमण पुष्टि भएको कर्णाली प्लसको तथ्यांकमा उल्लेख छ। एचआइभी संक्रमण पुष्टि भएकामध्ये ४४ जनाले औषधि सेवन गरिरहेका छन्। कुल संक्रमितमध्ये केहीले स्थानसमेत सरुवा गरेका छन्।

‘२०६२ सालमा आफू खुलेको बताउने कालीबहादुर शाहीले भने, ‘एकातर्फ रोग लाग्दा मरिन्छ कि भन्ने डर थियो भने अर्कातर्फ घरपरिवार र समाजको अपहेलना। के पाप गरे छु भन्ने हुन्थ्यो। मर्न मन लाग्थ्यो।’ घरपरिवारको अपहेलनापछि केही गर्छु भन्ने उद्देश्यसहित आफू सदरमुकाम झरेको उनले बताए। उनले भने, ‘होटेलमा बसेर कर्णाली प्लसको अध्यक्ष भएँ।

‘एचआइभी लागेको थाहा पाएपछि कोठासम्म कसैले दिएनन्। सबैले एड्स लागेको केटा आयो भन्दै घृणा भावले हेर्ने गर्थे।’ घरपरिवारको डर, सामाजिक अपहेलनाको त्रास, अस्मितमाथि प्रहार हुने भयलगायतका कारण अहिले पनि संक्रमित खुल्न चाहँदैनन्। अझै पनि मानसिक रूपमा एचआइभी संक्रमणलाई अन्य रोगसरहकै रोग हो भन्ने स्वीकार गर्ने कमै छन्।

संक्रमितलाई आत्मबल बढाउने, परामर्श दिने, औषधोपचारमा सहयोग गर्ने तथा रोजगारमा जोड्ने काम गरिनुपर्नेमा उल्टै स्थानीय सरकारले बेवास्ता गरेको छ।

सुरुसुरुमा धेरै कष्टकर जीवन बिताए पनि अहिले सबै कुरा सहज हुँदै गएको उनीहरूको भनाइ छ। आफूले भोगेको दुःख अन्यले भोग्न नपरोस् भनेर संस्थामार्फत काम गरिरहेको उनले बताए।

परीक्षणको दायरामा नपुग्दा एचआईभी एड्स नियन्त्रणमा चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ। एआरटी औषधी सेवन गरिरहेका बिरामी ‘भाइरल लोड’ परीक्षण गर्न नआउँदा बिरामीको अवस्थाबारे थाहा हुन नसकेको बताइएको छ।

प्रकाशित: १० पुस २०७९ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App