२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ख्वप अस्पताल नयाँ भवनमा विस्तार, सेवा सर्वसुलभ हुने विश्वास

२०३८ सालदेखि सानो भवनमा सीमित ख्वप अस्पताल हालै निर्माण सम्पन्न भव्य भवनमा पनि सेवा विस्तारसँगै यहाँका जनताले सेवा सुविधा सर्वसुलभ हुने विश्वास गरेका छन्। भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको भव्य साढे ६ तल्ले आधुनिक भवनमा पनि सेवा प्रारम्भ गरेसँगै सुलभ सेवा पाउने विश्वास भक्तपुर नगर बासीहरूले गरेका हुन्।

चार वर्ष लगाएर नजिकै बनाएको भव्य भवनमा शनिबार एक भव्य समारोहबिच अस्पताल सेवा विस्तार गरेको हो। भक्तपुर नगरपालिकाद्धारा सञ्चालित अस्पतालको नगरपालिकाको ७३ औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) ले नयाँ भवनमा पनि सेवा विस्तार शुभारम्भ गरेका हुन्। 

भक्तपुर नगरपालिकाले नगरबासीहरुलाई स्वास्थ्य सेवा दिन २०३८ सालदेखि जनस्वास्थय केन्द्रको रुपमा च्याम्हासिंहको सानो भवनमा स्वास्थ्य सेवा दिन थालेको थियो। स्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट विधिगत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालन ल्याएको थियो। अहिले अस्पतालले  १०० शैय्याको अनुमति पाएको छ। यसअघि अस्पतालको लागि भनेर नजिकै भव्य अस्पताल भवन निर्माण थालिएको थियो।

नगर प्रमुख सुनिल प्रजापतिले जनताको साथ र सहयोग भए हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव छ भन्ने एउटा उदाहरणको रुपमा भक्तपुर नगरपालिकाको ख्वप अस्पताल भएको बताए। उनले नगरपालिकाले बनाए भन्दा पनि नगरबासीले बनाए भन्नु अझ उपयुक्त हुने बताए। जनताको सेवा गर्न जनताका लागि अस्पताल भव्य बनाएको उनको भनाई थियो। सरकारी अस्पतालहरुमा सुधार नहुँदा र बिरामीहरू स्वास्थ्य उपचारको लागि निजी अस्पतालहरुमा गइरहनुपर्ने बाध्यताको अन्त्य नभएसम्म जनता स्वास्थ्यकै कारण घरखेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परिरहने यथार्थलाई ध्यानमा राखी नगरपालिकाले स्वास्थ्य सेवामा जोड दिएको उनको भनाई थियो। यहाँं ५० रुपैयाँंमा सामान्य र ८० रुपैयाँंको टिकटमा विशेषज्ञ सेवा उपलब्ध छ। 

सुरुमा अहिले भुईतल्ला मात्रै प्रयोगमा ल्याइएको जनाइएको छ। अण्डरग्राउण्ड पार्किङसहित अहिले भुईतल्लामा ब्लक वि र सी गरी एक हजार तीन सय ३९ दशमलव २५ वर्गमिटरको क्षेत्रफलमा इमर्जेन्सी वार्ड, अक्सिजन प्लान्ट, प्याथोलोजी ल्याब, अल्टा साउण्ड, एक्सरे रुम, सीटी स्क्यान, एमआरआईको कोठाहरु व्यवस्था गरिएको जनाइयो। 

ख्व्प अस्पतालका प्रमुख डा रत्नसुन्दर लासिवाले पहिलादेखि सञ्चालन गर्दै आएको च्याम्हासिंहस्थित भबनका सबै सेवाहरु त्यही रहने र ब्रम्हायणीमा रहेको कोभिड युनिट पनि नियमित रुपमै त्यही नै सुचारु हुने जनाए। नयाँ भवनमा आवश्यकता अनुसार नयाँंनयाँं सेवा सुविधाहरु थप्दै जाने उनले जनाए। 

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु। ५ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने संघसंस्थालाई कदर पत्र वितरण गरेका थिए। सोही क्रममा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा संलग्न भई सहयोग गर्ने कर्मचारीहरुलाई कदर पत्र वितरण गरिएको थियो। 

औपचारिक कार्यक्रमपश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिगणहरुले ख्वप अस्पताल भवन, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट र छात्ती पुनःस्थापना केन्द्रको स्थलगत अवलोकन गरेका थिए। 

प्रकाशित: २ पुस २०७९ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App