२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शिशु स्वास्थ्य प्रति सचेत बन्दै ग्रामीण महिला

जुम्लाका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको स्वास्थ्य प्रति सचेत हुँदै गएका छन्। चन्दननाथ नगरपालिका ४ की मिना बुढा अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेकी छिन्। सामान्यतया खाना खुवाएपछि घरको चुलो चौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बनेकी हुन्।

जिल्लामा सञ्चालित विभिन्न गैरसरकारी कार्यालय तथा स्थानीय तह अन्तर्गतको बहु क्षेत्रीय पोषण कार्यक्रमले सचेतना दिएपछि आफूहरू सधैँ स्वास्थ्यप्रति सचेत हुन थालेको उनको भनाइ छ। 

अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ। हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गर्थ्यौँ, उनले भनिन, अहिले थाहा पाएपछि शिशुको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु। 

बहु क्षेत्रीय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सञ्चालन भएपछि बालबालिकालाई अत्यावश्यक रुपमा पोसिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको चन्दननाथ नगरपालिका ५ का अजमाया विकले बताइन। हामी निकै सचेत हुँदै गएका छौं, बहु क्षेत्रीय पोषण कार्यक्रमको सहयोगले अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोसिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेको छौँ। उनले भनिन।

आमा र बच्चाको पोषण स्थिति सुधार्न सञ्चालित कार्यक्रम अन्तर्गत हरेक वार चार खाना को अवधारणा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा निरीक्षक क्षेत्र बहादुर महतले बताए। बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको छ।

चन्दननाथ नगरपालिका – ४ की सावित्री थापा भन्छिन्, 'बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्त्व मिश्रित खाना खुवाउने गरेकी छु।'

बच्चा दुई वर्षको नहुन्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत शारीरिक, मानसिक र बौद्धिक विकास हुने थाहा पाएपछि आमाहरू सचेत बन्न थालेका हुन्।  

'आमाहरू आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्ने सम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ'  नगरपालिका स्वास्थ्य शाखा निरीक्षक महतले भने, 'व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ। अहिले बच्चालाई स्तनपान र पोसिलो खाने कुरा खुवाउनुपर्छ भन्ने सचेतना आएको छ।'

प्रकाशित: २८ मंसिर २०७९ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App