४ आश्विन २०७७ आइतबार
स्वास्थ्य

मधुमेहको जोखिम बढ्दो

काठमाडौं- सुस्वादु खानकी र ऐयासी जीवनशैलीका कारण नेपालमा मधुमेहको जोखिम बढ्दै गएको चिकित्सकले -औंल्याएका छन्। विभिन्न स्तरमा भएका अध्ययन र वरिष्ठ चिकित्सकहरुको क्लिनिकल अभ्यास अनुभवका आधारमा नेपालमा मोटोपन मधुमेहको प्रमुख कारण भएको उल्लेख गरेका छन्। विश्वभर मधुमेहको बढ्दो जोखिमका रुपमा रहेको सन्दर्भमा नेपालमा पनि आधुनिक जीवनशैलीले मोटोपन र मधुमेह दुवै बढाउँदै लगेको चिकित्सक बताउँछन्।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले परिवर्तित जीवनशैली नुनिलो, चिल्लो र गुलियोको बढी प्रयोग, खानामा कार्बोहाइड्रेटमा मात्रा बढी हुनुजस्ता कारण मोटोपन बढाउँदै लगेको छ। 'अहिले नेपालमा सबैभन्दा बढी समस्य टाइप टु डाइबेटिजको छ, जसको प्रमुख कारण मोटोपन हो,' उनले भनिन्।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष अप्रिल ७ मा मनाउने विश्व स्वस्थ्य दिवसको नारा 'मधुमेहको रोकथाम गरांै, समयमै उपचार गरी नियन्त्रण गरांै' तय गरेको छ। यो सन्दर्भमा डा. भट्टराईले दक्षिण एसियामै मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र सोही कारण मोटोपनसँग सम्बन्धित मधुमेह बढेको आंैल्याइन्।

विश्व स्वास्थ्य संगठनले तयार पारेको नेपालको राष्ट्रिय रोगसम्बन्धी प्रोफाइलमा नेपालमा रोगको भारको ६० प्रतिशत हिस्सा नसर्ने रोगले ओगट्छ, जसको सबैभन्दा बढी हिस्सा ओगट्ने चार रोगमा मधुमेह पर्छ। एकिन तथ्यांक नभए पनि वयष्क उमेरका प्रत्येक ६ नेपालीमध्ये एक जनामा मधुमेहको समस्या भएको अनुमान छ।

स्वास्थ्य अनुसन्धान परिषदले गत वर्ष गरेको नसर्ने रोगको रिस्क फ्याक्टर सर्वेक्षणले ३.६ प्रतिशत जनसंख्यामा मधुमेह भएको देखाएको छ। 'संख्या यकिन पाउन कठिन भए पनि नेपालमा मधुमेह सबैभन्दा द्रुतगतिमा बढ्दो समस्य हो,' डा. भट्टराईले भनिन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले निस्त्रि्कय दैनिकी, सवारी साधनको बढ्दो प्रयोग, फास्टफुड र जंकफुडको प्रयोग मधुमेह बढ्नुको कारणका रुपमा देखिएको बताए।

शारीरिक व्यायामको कमी, बढ्दो मानसिक तनाव, धुमपान र मद्यपान गर्ने बानीले मधुमेह रोग लाग्नमा उत्प्रेरकको काम गरिरहेको छ। खानामा सागसब्जी, गेडागुडी र फलफूलको मात्रा कमीले मधुमेहका लागि उपयुक्त वातावरण सृजना भएको शर्माको भनाइ छ।

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारभर सन् १९९५ मा १३ करोड ५० लाख मानिसलाई भएको मधुमेह सन् २०२५ मा ३० करोडलाई हुनेछ र त्यसको ठूलो संख्या विकासोन्मुख देशहरुमै हुनेछन्। अन्य क्षेत्रको तुलनामा दक्षिण एसियामा यसको प्रकोप झन् बढी छ भने नेपाल त्यसमध्ये पनि अग्रस्थानमा छ।

संगठनका नेपाल प्रमुख डा.जस भेन्डेलरले मधुमेह रोकथामका लागि व्यक्तिगत तवरमा गरिने सचेतना र सावधानी सबैभन्दा प्रमुख विधि हुने बताए। 'प्रत्येक मान्छेले यसको जोखिम जान्नु र बच्ने उपाय अपनाउनु जस्तो ठूलो सावधानी अरु छैन,' भेन्डेलरले भने।

नेपालको सहरी क्षेत्रको अनुमानित १४ दशमलव ६ प्रतिशत जनसंख्यामा पाइएको मधुमेह रोग भारत, पाकिस्तान र बंगलादेशमा क्रमशः १२ दशमलव १, १० दशमलव ८ र ७ दशमलव ९ प्रतिशतमा मात्र छ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलका अनुसार पछिल्लो मधुमेहको प्रवृत्ति परिवर्तन डरलाग्दो रुपमा देखिएको छ। '३० वर्ष र अझ त्योभन्दा कम उमेरमा समेत देखिन थालेको छ,' उनले भने।

उनले हृदयघात र उच्च रक्तचापबारे केही हदसम्म जनचेतना अभिवृद्धि भए पनि यसको तुलनामा मधुमेह अर्थात चिनीरोग र यसका खतराबारे खासै जनचेतना अभिवृद्धि हुन नसकेको औंल्याए।

चिकित्सकका अनुसार बिहान खाली पेटमा (फास्टिङ) रगत जाँच्दा यदि १२० मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढी हो। १२०–१४० मि.ग्रा. को बीचमा देखियो भने डाइबेटिज रोग लाग्ने सम्भावना बढी हुन्छ। १४० मि. ग्रा. भन्दा बढी फास्टिङ ब्लड सुगर देखियो भने डाइबेटिज अर्थात मधुमेह रोग लागेको प्रमाणित गरिन्छ। 

प्रकाशित: २१ वैशाख २०७३ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App