७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

शिक्षण अस्पतालमा धमिलो पानी

टिचिङ अस्पताल महाराजगंजमा दुई महिनादेखि धारामा धमिलो लेदो पानी आउने समस्याले उपचारमा पुग्ने र तिनका कुरुवाहरू प्रभावित बनेको बताइउको छ। एक साताअघि मात्र नाकको शल्यक्रियाका लागि टिचिङ अस्पताल भर्ना भएका बागबजारका सुजन शर्मा (नामथर परिवर्तन) ले उपचार अवधिभर अस्पतालको पानी प्रयोग गर्न नसकेको बताए। पिउन लायक पानी थिएन नै, हातमुख समेत धुन लायक पानी नभएपछि मिनरल वाटर किनेर हातमुख धोएको सुनाए।  

आफू पानी किनेर बस्न सक्ने भए पनि विपन्न बिरामीको हकमा अस्पताल बाहिर पानी किन्नुपर्ने बाध्यता सिर्जना भएको शर्माले बताए। अस्पतालकै पानी फोहोर भएपछि यसबाट उत्पन्न हुने रोगको जोखिम बिरामी, नर्स र चिकित्सकहरूले समेत झेलिरहेको उनको भनाइ थियो। ‘नर्स र डाक्टरको पनि एउटै गुनासो थियो, पानी फोहोर छ, कसरी काम गर्ने ?’ उनले भने। धाराको पानी फोहोर भएकाले शौचालय जाँदा या अन्य हातको सफाइ गर्दा कुनै रोगको संक्रमण होला कि भन्ने त्रासमा बस्नुपरेको उनले गुनासो गरे। दैनिक हजारौंको संख्यामा बिरामी पुग्ने अस्पतालमा पानीको समयमै उचित व्यवस्थापन हुनुपर्नेमा बोरिङको धमिलो पानी आपूर्ति गर्नु अस्पताल प्रशासन पक्षको ठुलो कमजोरी रहेको उनले सुनाए। ‘उपचार ठिकठाक छ, पानीले अस्पतालको प्रतिष्ठामै प्रश्न उठ्यो,’ उनले भने।  

यो समस्या दुई महिनादेखि देखिएको भए पनि अस्पताल प्रशासनबाट स्थायी समाधान आउन नसकेको अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले बताए। उनका अनुसार पुरानो पानीको स्रोत अस्पतालको नयाँ भवन निर्माणसँगै बन्द भएपछि नयाँ ठाउँबाट निस्केको पानीमा धमिलो पहेंलो लेदो पानी आइरहेको बताए। यो समस्या आएसँगै अस्पताल प्रशासनले प्रयास गरे पनि अहिलेसम्म समाधान नआएपछि अस्पतालमा दैनिक पुग्ने हजारौ बिरामी र कुरुवा प्रभावित बनेको उनले बताए। दुई महिनादेखि यही धमिलो पानी सफाइमा प्रयोग भइरहेको तर पिउने पानीका लागि भने अस्पतालमा उपचार भएका पानी प्रयोग भइरहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए।  

उनका अनुसार अस्पतालको पानीको स्रोत जमिनमुनिको पानी हो। बोरिङ गरेर पानी निकाल्दै समस्या आएपछि पुरै अस्पताल प्रभावित बनेको उनले बताए। अस्पताल स्थापनाकालमै जापानले निर्माण गरेको बोरिङबाट पनि धमिलो पानी आउने गरेको र सुरेश वाग्ले भवन, बाल विभाग, नाक–कान–घाँटी विभागलाईं लक्षित गरी बनाइएको नयाँ बोरिङबाट पनि धमिलो पानी आउने गरेका कारण पुरै अस्पताल प्रभावित बनेको अधिकारीले बताए। ‘पुरानो बोरिङको मुहानमा पानी कम भएपछि धमिलो पानी आएको देखिन्छ, नयाँ बोरिङमा पनि प्राविधिक समस्या आएको छ,’ उनले भने।  

अस्पतालमा महिनौंदेखि पानीको समस्या आएपछि मर्मतका लागि नयाँ टेन्डर प्रक्रिया अघि बढाइसकेको भए पनि सरकारी टेन्डर लामो प्रक्रियाको कारण ढिला भएको उनले बताए। ‘थप कति समय लाग्छ, अहिले भन्न सकिँदैन, प्रक्रिया अघि बढेको छ,’ उनले भने। अस्पतालका निर्देशकको प्रयासमा उपत्यका खानेपानी कार्यालयसँग दुईचार इन्चको पाइपमार्फत मेलम्चीको पानी आपूर्ति गर्ने सम्झौतासमेत भइसकेकाले अस्पतालका तर्फबाट वैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १७ मंसिर २०७९ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App